कास्की- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् ।
चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै पर्यटनमन्त्रीआलेले साे बताएका हुन् ।
उनले भने, “नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, यो विमानस्थलले पोखरालाई विश्वमाझ पुर्याउने छ ।”
मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन थप टेवा पुग्ने बताएका छन् ।
उनले भने, “पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो, आफ्नो व्यस्ताबाहेक मलाई लाग्छ नेपाल आएको पर्यटक पोखरा नपुगी फर्किन मान्दैन, त्यसैले अब यो विमानस्थलले पोखरा आउन चाहने पर्यटकका लागि सहजता प्रदान गर्नेछ ।”
उनले पोखरेली र पोखराका पर्यटन व्यवसायीलाई बधाई दिँदै पोखरामा अब ठूला होटल निर्माण गर्न र पर्यटन प्रवर्द्धनका प्याकेज कार्यक्रम ल्याउन पनि आग्रह गरेका छन् ।
मन्त्री आलेले पोखरामा अब विश्वका पर्यटक आउने भएकाले पाँचतारे मात्र नभएर साततारेसम्मका होटल खोल्न पनि आग्रह गरे । ठूला होटल तथा क्यासिनो खोल्नका लागि पर्यटन मन्त्रालयले आवश्यक सहयोग गर्नेसमेत मन्त्री आलेले जानए ।
मन्त्री आलेले अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्दा टनकपुर हुँदै दिल्ली जाने र फर्किँदा उक्त रुट हाम्रा जहाजले नपाउने भएकाले आफूले भारतको हैदरावादमा गएर त्यहाँका आफ्ना समकक्षी आदित्यनारायण सिन्धियासँग लिमा सिक्स टु सिक्स एकतर्फी नभइ दुइतर्फी बनाउन आग्रह गरेको र सकारात्मक रहेको जानकारी पनि दिए ।
पोखारा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोग गर्ने पोखरावासीलाई मन्त्री आलेले धन्यवाद दिए ।भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अबका केही दिनमै सञ्चालनमा आउने काम महत्वपूर्ण र ऐतिहासिक भएको भन्दै नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा यी दुई विमानस्थलनले ठूलो टेवा पुर्याउने बताए ।
उनले भने, “कोरोना महामारीका कारण विश्वकै पर्यटन बजार गएको कम्तीमा तीन वर्षदेखि ठूलो मारमा परेको छ र हामी पनि महामारीको चपेटामा परेका छौँ, तर अब महामारी सकिएसँगै हिजोको घाटा पूर्ति गर्ने गरी काम गर्नुपर्छ, मुलुकको पर्यटन क्षेत्रलाई जुरुक्क उठाउनुपर्छ, त्यसका लागि म पनि लाग्छु, यहाँहरू पनि लाग्नुहोस् ।”
सोही कार्यक्रममा मन्त्री आलेले पोखरा विमानस्थल निर्माणको जग बसाल्न लागिपरेको भन्दै तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पनि स्मरण गरे। सो विमानस्थल निर्माण सम्पन्न हुनुमा पूर्वमन्त्री अधिकारीको ठूलो योगदान रहेको बताए ।