काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले मागअनुसारको विद्युत् उपलब्ध गराउन नसकेपछि भारतबाट महँगोमा खरिद गर्ने भएको छ । प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि हालतमा लोडसेडिङ नहुने बताउँदै भारतसँग भने महँगोमा खरिद गर्न लागेको बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गरेर निर्देशक घिसिङले उक्त कुरा बताएका हुन् । युक्रेनमाथि रूसले गरिरहेको आक्रमणका कारण भारतमा विद्युत् उत्पादनमा असर परेपछि भारतले यसअघि दिँदै आएको विद्युत् बन्द गरेको छ ।
भारतबाट विद्युत् आपूर्ति बन्द भएपछि प्राधिकरणले केही ठूलो उद्योगमा विद्युत् कटौती गरेको थियो । सो कटौतीका बारेमा अर्थमन्त्री जनार्दन शर्मालाई भेटी वीरगञ्जका व्यापारीले दुखेसो गरेपछि मन्त्री शर्माले फोन गरेर कटौती हटाउन निर्देशन दिएका थिए ।
प्राधिकरणले ठूला उद्योगलाई कटौती गरेको विद्युत्को आपूर्ति विहिबार दिउँसो १२ बजेदेखि शुरू गरिसकिएको घिसिङले बताएका छन् । कार्यकारी निर्देशक घिसिङले भने, ‘अन्तर्राष्ट्रिय समस्याका कारण तत्कालका लागि विद्युत् आपूर्तिमा कठिनाइ भएको हो, यो समस्या हल गर्न भारतस“ग महँगोमा विद्युत् खरिद गर्न लागेका छौ ।’
साना उद्योग तथा घरायसी उपभोगका लागि विद्युत् आपूर्ति कटौती नभएको उनले बताएका छन् । उनले भने, ‘अहिले हामीले ३० प्रतिशत मात्रै आपूर्ति गरिरहेका छौं, त्यो चार महिना मात्रै हो, आठ महिना हामी हाम्रै उत्पादनले धानिरहेका छौं, जेठपछि हामीलाई कुनै समस्या हुँदैन, बरु असारपछि ४०० मेगावाट विद्युत् बढी हुन्छ, बेच्नुपर्छ ।’
प्राधिकरणले शुक्रबारदेखि भारतसँग विद्युत् खरिद गर्दा दैनिक २२ करोड रूपैयाँको अतिरिक्त व्ययभार थपिने समेत घिसिङले बताए । यही मूल्यमा बिजुली किनेर लामो समय प्राधिकरणले धान्न नसक्ने उनले स्पष्ट पाए । प्राधिकरणले एक हप्ताका लागि महंगो मूल्यमा बिजुलीको जोहो गरेको बातए । घिसिङले भने, ‘एक हप्ताका लागि उच्च मूल्यमा भए पनि जोहो गरेका छौं, लामो समय यसलाई जारी राख्न सकिँदैन ।’
भारतसँग नेपालले प्रतियुनिट ३८ रूपैयाँमा बिजुली खरिद गर्ने बताइएको छ । भारतमा बिजुली महंगो भएको भन्दै प्राधिकरणले नकिन्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा बिजुली अभाव भएकाले महँगोमा विद्युत् खरिद गर्न लागको बताइएको छ । बुधबार नै नेपालले भारतीय बजारबाट मह“गोमै भए पनि बिजुली किन्ने गरी सम्झौता गरेको थियो ।
‘आजदेखि कार्यकारी निर्देशकको निर्देशनपछि २० रूपैयाँ प्रतियुनिट, त्यो भनेको नेपालमा ३८ रूपैयाँ प्रतियुनिट पर्छ, भरे १२ बजेर १५ मिनेटमा हाम्रो सबै सिस्टम नर्मल भएपछि त्यसबाट सात हजार मेगावाट आवर बिजुली किन्छौं,’ उनले भने । नेपालले केही दिनअघिसम्म ८ रूपैयाँ भारुमा बिजुली किनेको थियो । तर भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा बिजुली नै नपाएको हुनाले केही दिन नेपालमा बिजुली अभाव भएको बताए ।