काठमाडौं– ललितपुरको पाटन दरबार संग्रहालयमा चार दिने पाँचौ प्रांगारिक कृषि मेलाको आयोजना गरिने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै अर्गानिक कृषि मेला अर्गानिक एसोसियसन अफ नेपाल र कञ्चनजंगा टि–इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०७९ साल बैशाख १ गतेदेखि ४ गतेसम्म हुने जानकारी दिइएको हो ।
जल, जंगल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वास्थ्य राख्नको लागि उत्पादनदेखि नै ध्यान दिन आवश्यक भएकोले सबै प्रकारका कृषि उत्पादनहरू जैविक र वैदिक हुनुपर्ने जनाईएको छ । जसको उपभोगबाट मानिस निरोगी हुन सकोस् भन्ने मेलाको उद्देश्य रहेको छ ।
चार दिनसम्म चल्ने मेलामा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग रहने संस्थाले जनाएको छ । त्यस्तै, स्टल विक्रिबाट उठ्ने रकमबाट मेला सञ्चालन गरिने पनि बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कञ्चनजंघा टि–इस्टेट एण्ड रिर्सच सेन्टर तथा अर्गानिक नेपाल एशोेसिएशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनको लागि मेलाको आयोजना गर्न लागिएको बताए ।
‘अहिले बल्ल सरकारी निकायहरूले पनि अर्गानिकको लागि चेतना फैलाउन सुरु गरेका छन् ।’
उनले भने, ‘सरकारले अहिले १२÷१३ अर्ब खर्च गरेर फोर्टिलाइजर ल्याउँदैछ, त्यो रकम कृषिमा खर्च गरेमा नेपालले कृषिमा सस्टेन गर्नसक्छ । २÷३ वर्ष पनि लाग्दैन् । कृषिलाई आत्मनिर्भर बनाउन सक्छौं । यो मल हामीले केमिकल्स विषादी ल्याउन पर्दैन ।’
उनले संसार अहिले अर्गानिकको ट्रेनमा गइराखेको उल्लेख गर्दै उनले फर्टिलाइज र केमिकल्स प्रयोग गरेर खेती गर्ने प्रणालीलाई त्याग्दै गरिरहेको जिकिर गरे । संसारले अब उत्पादन गर्ने मेसिनहरू फाल्दै गएको पनि बताए ।
त्यस्तै, अर्गानिक एसोसियसनका महासिव तथा मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले पहिला–पहिला नबुझेर मानिसहरू लागेपनि अहिले अर्गानिक कृषितर्फ बुझेर नै लागेको बताइन् ।
आङ्खनो स्वास्थ्यमा सचेत भएका मानिसहरू अर्गानिक कृषितर्फ उन्मुख भएको उनले जिकिर गरिन् ।सुरुवाती समयमा भन्दा दशौं गुणा मानिसहरू अर्गानिक कृषि फर्ममा भिजिट गर्न आउने पनि जानकारी दिईन् ।
गत वर्षहरूको मेलामा १ लाख भिजिटर आएको उल्लेख गर्दै अब हुने मेलामा विगतको भन्दा धेरै भिजिटर आउने विश्वास व्यक्त गरिन् । कोइरालाले मेलामा ५० भन्दा बढी स्टल राख्ने र ३० लाख खर्च अनुमान रहेको बताउँदै १ करोडको कारोबार हुने अपेक्षा संस्थाले राखेको सुनाइन् ।
मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्रांगरिक मल, च्याउ, डेरी उत्पादन, हर्बल उत्पादनहरू, मसलाहरू, चामल, गहुँ, मकै, दाल, फापरलगायतका अन्य उत्पादनहरू फलफुल, बिउ, विजन, मह, तेल, राडी, पाखीलगायतका अन्य कृषि उपजहरू तथा कृषि तथा वाणिज्य व्यापारसम्बन्धी प्रोजेक्टहरू राखिने भएको छ ।