काठमाडाैं - इस्लामिक सांस्कृतिक केन्द्रको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गरेका छन् ।
बिहीबार बल्खुस्थित पाँच तल्ले नवनिर्मित इस्लामिक सांस्कृतिक भवन उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गरेका हुन् ।
नेपालमा चार दशक देखि मुस्लिम समुदायको शिक्षा स्वास्थ्य राहत रोजगार क्षेत्रमा कार्यरत रहेको इस्लामी संघ नेपालले पाँच तल्ले भवन निर्माण गरेको छ ।
भवनको निर्माणले धार्मिक समुदाय बीज थप घनिष्ठता , भवनमा व्यवस्था रहेको पुस्तकालयबाट विद्यार्थीहरुले लाभान्वित हुने उपराष्ट्रपति पुनले बताएका छन् । नेपालको राजनैतिक परिवर्तनमा मुस्लिम समुदायको योगदानलाई उच्च मूल्याङ्कन गर्दै सम्मानित समुदाय रहेको ठहर गर्दै आफ्नो इतिहासप्रति गर्व गर्न उनले आग्रह गरेका छन् ।
मुस्लिम समुदाय उत्पीड़ित समुदाय भएकोले राजनैतिक परिवर्तन सँगै आर्थिक समृद्धिको लागि पनि संघर्ष गर्न मुस्लिम समुदायलाई उपराष्ट्रपतिले अपील गरेका छन् ।
मुस्लिम समुदायमा रहेको कुरीति अंधविश्वासहरुलाई अन्त्य गर्दै समाजिक आर्थिक शैक्षिक परिवर्तनको लक्ष्यलाई पूरा गर्न नवनिर्मित भवनबाट सहज हुने इस्लामी संघ नेपालका अध्यक्ष खुर्शीद आलम इस्लाहीले बताएका छन्।
भवनको निर्माण गरेर सकारात्मक विचारको उत्थान र चरित्रवान समाजको निर्माणमा गरेर अगाडि बढ़ने अध्यक्ष इस्लाहीले बताए।अंतरराष्ट्रीय दातृ संस्थाको रुपमा रहेको ह्यूमेनिटेरियन रिलीफ फाउन्डेशन(आई एच एच) को आर्थिक सहयोगमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको अध्यक्ष इस्लाहीले जानकारी दिएका छन् ।
भवन उद्घाटन समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनका साथै मुस्लिम आयोगका अध्यक्ष शमीम मिया अंसारी, पूर्व मन्त्री मातृका यादव ,पूर्व राज्यमन्त्री रिजवान अंसारी लगायत मुस्लिम अगुवाहरुको उपस्थिति रहेकाे थियो ।