काठमाडौं - चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको नेपाल आएका छन् ।
चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको यही चैत ११ देखि १३ गतेसम्म हुने औपचारिक भ्रमणमा नेपाल आएका हुन् ।
दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षाका साथ समस्यारहित नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राको भरपर्दो साझेदार बनाउन अपेक्षा पनि गरिएको छ ।
तीन वर्षको अन्तरालमा चिनियाँ विशिष्ट पाहुनाबाट हुन लागेको यो भ्रमणले नेपाल र चीनबीचको परम्परागत मैत्री, पारस्परिक हित र चासोका विषयमा सहकार्य एवं साझेदारीलाई थप सुदृढ तुल्याउन फलदायी हुने अपेक्षा गरिएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा मर्यादाक्रममा उपप्रधानमन्त्रीभन्दा माथिको ओहोदामा रहेका विदेशमन्त्री वाङ पेशेवर कूटनीतिज्ञ हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि चीनबाट नेपालको भ्रमण गर्ने विशिष्ट व्यक्ति विदेशमन्त्री वाङको नेपाल बसाइलाई नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्न तथा सहयोगको दायरलाई अझ विस्तृत बनाउने प्रयास हुने बताइएकाे छ ।
नेपालको राष्ट्रिय हित र विकासका आवश्यकता र प्राथमिकतालाई विश्वको उदीयमान प्रमुख शक्ति राष्ट्र चीनसँग साझेदारी र सहयोग अभिवृद्धिलाई नै छलफलको कार्यसूची बनाएको सरकारले जानकारी दिएकाे छ ।
नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी सन् २०३० सम्ममा मध्यम आययुक्त मुलुक बनाउने तथा दिगो विकासका लक्ष्य प्राप्त गर्ने नेपालको विकासका ‘एजेण्डा’लाई टेवा दिने हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल संरचनाभित्र बन्दरगाह, सडक, रेलमार्ग, हवाई यातायात तथा सञ्चारजस्ता महत्त्वपूर्ण संरचना विस्तार गर्न चीनले अघि सारेको बहु–अर्ब डलरको विशाल पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयन विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले गहन छलफल गर्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
बिआरआई कार्य ढाँचा सम्झौतामा नेपालले हस्ताक्षर गरेको पाँच वर्ष भइसकेको सन्दर्भमा त्यसलाई कार्यान्वयन गर्ने चिनियाँ प्रतिबद्धताको सन्देश प्रवाह गर्न विदेशमन्त्रीको भ्रमण हुन लागेको उनले बताए । चीनले बीआरआईको परियोजना कार्यान्वयन योजनालाई अन्तिम स्वीकृतिका लागि नेपालसँग प्रस्ताव गरिसकेको छ भने त्यसलाई यही भ्रमणका क्रममा टुङ्गो लगाउने नेपाल सरकारको तयारी छ ।
अनुदान सहयोग प्राप्ति तथा प्राविधिक तथा आर्थिक सहयोगअन्तर्गत नेपाललाई प्राप्त हुने वार्षिक सहयोगबारे परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीबीच छलफल पनि निष्कर्षमा पुगिनसकेको अर्थ मन्त्रालयका एक अधिकृतले राससलाई बताए । यसै वर्षदेखि चीनले वार्षिक सहयोग बढाउने आश्वासन दिएको पनि ती अधिकृतले बताए ।
परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा हुन लागेको चिनियाँ विदेशमन्त्रीको यो भ्रमण पोहोर मङ्सिरमा त्यहाँको राज्य परिषद् सदस्य एवं रक्षा मन्त्री वेइ फेङहेको नेपाल भ्रमणपछि दुई देशबीच प्रत्यक्ष रूपमा उच्चस्तरीय भ्रमण र छलफल हुन सकेको थिएन ।
समय–समयमा हुने यस्ता भ्रमणले एक अर्कालाई बुझ्न तथा पीरमर्का सम्बोधनका साथै सम्बन्धको नवीकरणमा मद्दत पुग्ने सरकारकाे भनाइ छ । अरनिको र भृकुटीले जोडेको युगौँ पुरानो नेपाल–चीन सम्बन्ध सन् १९५५ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध कायम भएपछि निरन्तर मौलाउँदै गएको छ भने मैत्रीपूर्ण सहयोगको परम्परा र उच्चस्तरीय भ्रमण आदान–प्रदानले पारस्परिक आत्मीयता अझ बढाएको छ ।