काठमाडाै - प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
एक सय बाहैं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै उनले महिलाविरुद्ध हुने सबैखाले भेद्भाव र हिंसाविरुद्ध अभियानकै रुपमा जुट्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री देउवाले महिला सशक्तीकरण हामी सबैको साझा सरोकारको विषय भएकाले तीनवटै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहल गर्न आवश्यक रहेको बताए। उनले देशको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा पनि जोड दिएका हुन्।
प्रधानमन्त्री देउवाले संविधानले महिलाको हकलाई मौलिकहकको रुपमा स्थापित गरेको तथा राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिता सुनिश्चित भएकोे बताएका छन् । उनले भने ,“नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेद्भावको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।”
उनले संविधानले महिलाको हकलाई मौलिकहकका रूपमा स्थापित गरी उनीहरलाई लैङ्गिक भेद्भाव बिना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हकको प्रत्याभूति गरेको बताए । उनले भने, “महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ ।”
प्रधानमन्त्री देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरमा बिना कुनै भेद्भाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न दिवसले उत्प्रेरित गर्दै आएको उल्लेख गरेका छन् । उनले लैङ्गिक समानता र महिला विकासका लागि राज्यका तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको बताएका छन् ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाको प्रतिनिधित्व राजनीतिक, आर्थिक एवं सामाजिक क्षेत्रमा क्रमशः वृद्धि भएको तथा मातृ मृत्युदरमा उल्लदेखनीय सुधार, महिलाको कूल साक्षरतादरमा वृद्धि एवं आर्थिक सशक्तीकरणका सूचकमा सकारात्मक परिवर्तन भइरहेको भए पनि समाजमा विद्यमान पितृसतात्मक सोच र व्यवहारलाई निवारण गर्न नसक्नु चुनौतीको विषय भएको उल्लेख गरेका छन्।
उहाँले घरेलु हिंसा, बोक्सीको नाममा हुने ज्यादती, बलात्कार, यौनहिंसा, अमर्यादित महिनावारी, दाइजो प्रथा, बालविवाह, बहुविवाह, मानव बेचबिखन जस्ता स्वरुपमा विद्यमान विकृतिले महिलालाई सम्मान गर्ने हाम्रा मौलिक सभ्यताको उपहास भइरहेको टिप्पणी गर्नुभयो । मन्त्री रेग्मीले घरभित्रै जरो गाडेको महिला हिंसा र असमानतालाई निर्मूल नपारेसम्म देश र समाजको आर्थिक सामाजिक विकास नहुने धारणा राखेका छन्।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिलालाई संविधान र राज्यले अवसर दिएको भन्दै सोही आधारमा महिलाले दक्षता र क्षमताका आधारमा आफ्नो अधिकारको कार्यान्वयनका लागि पहल गरिनुपर्नेमा जोड दिए । महिला अधिकारका सवालमा अझैपनि राज्यको नीति र व्यवहारमा चुनौती रहेको भन्दै प्राप्त अधिकारको कार्यान्वयनका साथै प्राप्त भइनसकेका अधिकारका लागि रचनात्मक सङ्घर्ष जरुरी भएको बताएका छन् ।
‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ २०७८ को महिला दिवस मनाइएको हो । नारी मुक्ति आन्दोलनका अभियन्ताको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।