

काठमाडौं– वैकल्पिक ऊर्जाको रूपमा हाइड्रोजन ग्याँस प्रयोग गरेर बस सञ्चालन गर्न सम्झौता भएको छ । रोटरी क्लब अफ धुलिखेल र काठमाडौं विश्वविद्यालय (केयु), धुलिखेल नगरपालिकाबीच धुलिखेल–काठमाडौं रुटमा २ वटा हाइड्रोजन ग्याँसबाट प्रयोगमा आउने गरी बस सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, धुलिखेल नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ र रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष जयबहादुर राईले हस्ताक्षर गरेका छन् । रोटरीका अध्यक्ष जयबहादुर राईले वातावरण संरक्षण रोटरीको प्राथमिकतामा पर्ने भन्दै अभियानमा जोडिन पाउँदा खुसी लागेको बताएका छन् । उपकुलपति थापाले वातावरण संरक्षणसँगै देशका देशको आर्थिक समृद्धिमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । नगरप्रमुख व्याञ्जुले शून्य कार्बन उत्सर्जन गर्ने पालिका बन्नको लागि धुलिखेलले विभिन्न विकासका काम गरिरहेको जानकारी दिए ।
दुई वर्षभित्र नमुनाको रूपमा पेट्रोल वा डिजेल इन्जिनलाई विस्थापन गरेर इन्धनको रूपमा हाइड्रोजन ग्याँस प्रयोग हुने बताइएको छ । ‘इन्धनको लागि पेट्रोलियम पदार्थको प्रयोगले लागत बढ्नुका साथै वातावरणमा पनि त्यसको असर पर्दै आएको छ, वैकल्पिक ऊर्जाको रूपमा हाइड्रोजनको प्रयोग गर्न सानो प्रयास थालेका हौँ,’ केयुस्थित ग्रिन हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापाले भने । उनका अनुसार हाललाई नमुनाको रूपमा पहिलो चरणमा दुई वटा बसबाट सञ्चालनको तयारी गरिएको हो । वैकल्पिक इन्धनका रूपमा भान्सामा पनि हाइड्रोजन ग्याँस प्रयोग गर्नेबारे अध्ययन जारी रहेको काठमाडौं विश्वविद्यालयले जनाएको छ । ल्याव प्रमुख थापाले चाँडै नै भान्सामा पनि हाइड्रोजन ग्यासको प्रयोगको संभाव्यता अध्ययनका क्रममा नमुना परीक्षण गरिने जानकारी दिएका छन् ।
समझदारीअनुसार प्रविधिको क्षेत्रमा विश्वविद्यालयले, नीति र श्रोतको लागि नगरपालिका र स्रोत जुटाउन रोटरी क्लबले काम गर्ने बताइएको छ । केयुको प्राज्ञिक–औद्यागिक संयोजक राम लामाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल आयल निगमलगायत निकाय समेतको सहयोगमा केयुमा डेढ वर्षदेखि हाइड्रोजन ग्याँसका बारेमा अध्ययन अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । हाइड्रोजन ग्याससम्बन्धी नीति बनाउन सरकारले गठन गरेको कार्यदलका सदस्यसमेत रहेका थापाका अनुसार पानीमा ८० देखि ९० प्रतिशत हाइड्रोजन हुन्छ । विद्युतको माध्यमबाट त्यसलाई छुट्याइन्छ । एक किलोग्राम हाइड्रोजनमा ३० युनिट बराबर बिजुली हुन्छ । हाइड्रोजनलाई वैकल्पिक ऊर्जाको रूपमा प्रयोग गर्न सकिए त्यसले शून्य कार्बन उत्सर्जनमा सहयोग गर्ने उनले बताए ।