

काठमाडौं– नेपालको अर्थतन्त्र खतराको सूचीमा परेको परेको छ । देशमा उच्च आयातसँगै मुद्रा विदेशीने क्रम बढेपछि अर्थतन्त्र खतराको सूचीमा पर्न गएको नेपाल राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्र्षको अर्धवार्षिक तथ्यांकअनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको उल्लेख छ । जुन हालसम्मकै उच्च विन्दुमा पुगेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको थियो ।
सो समीक्षा अवधिमा चालु खाता रु. ३ खर्ब ५४ अर्ब ७ करोडले घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता रु. ५१ अर्ब ६८ करोडले मात्र घाटामा रहेको बैंकले जनाएको छ । यसैगरी सो अवधिमा विदेशी विनिमय सञ्चितीमा पनि १६ दशमलव ७ प्रतिशतले कमी आएको छ । ०७८ असार मसान्तमा रु. १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव ७ प्रतिशतले कमी आई ०७८ पुस मसान्तमा रु. ११ खर्ब ६५ अर्ब ८० करोड कायम भएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकमा रहेको सञ्चिति ०७८ असार मसान्तमा रु. १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा ०७८ पुस मसान्तमा १८ दशमलव ४ प्रतिशतले कमी आई रु. १० खर्ब १५ अर्ब ५९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०७८ असार मसान्तमा रु. १५४ अर्ब ३९ करोड रहेकोमा ०७८ पुस मसान्तमा २ दशमलव ७ प्रतिशतले कमी आई रु. १५० अर्ब २१ करोड कायम भएको जनाएको छ । ०७८ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव ५ प्रतिशत रहेको बैंकको प्रतिवेदनमा उल्लेख छ ।
हालको आयात र विदेशी मुद्रा सञ्चितीलाई आधार मान्दा आर्थिक वर्ष ०७८÷७९ बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव २ महिनाको वस्तु आयात र ६ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बैंकले जनाएको छ । तर, सो अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ दशमलव १ प्रतिशतले वृद्धि भई रु. ११ अर्ब ३४ करोड पुगेको जनाएको छ । गत वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ७ अर्ब ६६ करोड मात्र रहेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा ५ दशमलव ६५ प्रतिशतले मूल्यवृद्धि भएको पनि बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार ५ दशमलव ६५ प्रतिशत पुगेको जनाएको हो । गत वर्षको सोही समयमा ३ दशमलव ५६ प्रतिशत मात्रै मूल्यवृद्धि भएकोमा अहिले सो वृद्धि भई ५ दशमलव ६५ प्रतिशत भएको जनाएको छ ।
सबैभन्दा धेरै खाने तेल र घ्यूमा मूल्यवृद्धि भएको जनाएको छ । यी वस्तुको मूल्यवृद्धि २१ दशमलव २२ प्रतिशत रहेको छ । पेय पदार्थ तथा खाद्य वस्तुमा मूल्यवृद्धि ४ दशमलव ९२ प्रतिशत रहेको छ । सेवामूलक क्षेत्रमा भने ६ दशमलव २३ प्रतिशतले मूल्यवृद्धि भएको छ । पछिल्लो समय प्रायः सबै क्षेत्रमा मूल्यवृद्धि भएको छ ।
यसैगरी, चालू आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह रेमिट्यान्स) नेपाली रूपैयाँमा ५ दशमलव ५ प्रतिशत र अमेरिकी डलरमा ६ दशमलव २ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा सो उल्लेख गरेको हो ।
उक्त तथ्यांकअनुसार चालू आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाह ५ दशमलव ५ प्रतिशतले कमी आई रु. ४ सय ६८ अर्ब ४५ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव १ प्रतिशतले बढेको जनाएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव २ प्रतिशतले कमी आई रु. ३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई १ लाख ६७ हजार ५१३ पुगेको छ । गते वर्षको सोही अवधिमा यस्तो संख्या ८९ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८ दशमलव १ प्रतिशतले वृद्धि भई १ लाख ३० हजार २१२ जना पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ७५ दशमलव ५ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ४ दशमलव ९ प्रतिशतले कमी आई रु. ५२३ अर्ब १ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८ दशमलव ९ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७८÷७९ को ६ महिनामा कुल वस्तु निर्यात ९५ दशमलव ५ प्रतिशतले वृद्धि भई ११८ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निर्यात ६ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १२१ दशमलव ८ प्रतिशत र ३० दशमलव २ प्रतिशतले वृद्धि भएको छ । भने चीनतर्फको निर्यात १० दशमलव २ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, जुस, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, जस्तापाता, तारलगायतका वस्तुको निर्यात घटेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८÷७९ को ६ महिनामा कुल वस्तु आयात ५१ दशमलव १ प्रतिशतले वृद्धि भई रु. ९९९ अर्ब ३४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आयात ४ दशमलव ८ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३७ दशमलव ५ प्रतिशत, ५१ दशमलव ५ प्रतिशत र ९८ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेललगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक औषधिलगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष ०७८÷७९ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भई रु. ८८० अर्ब ४९ करोड रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा ५ दशमलव ८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव ९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलव २ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. ११० अर्ब ९१ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. ८३ अर्ब १ करोड बराबरको भएको थियो ।