बागलुङ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरेका छन् ।
ताराखोला गाउँपालिकाद्वारा सोमबार आयोजित शैक्षिक अन्तक्र्रियामा शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताए । उनले भने, ‘शिक्षकहरू विभेदको शिकार भएका छन्, हामी अब शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधा प्रदान गर्ने पक्षमा छौँ ।’ उनले ताराखोलामा आधुनिक सुविधायुक्त पुस्तकालय निर्माणका लागि मन्त्रालयमार्फत पहल लिने बताए ।
मन्त्री पौडेलले ताराखोलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको प्राविधिक शिक्षालय स्थापना गर्ने जनाएका छन् ।
उनले यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको जनाउँदै आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउने बताए । मन्त्री पौडेलले यस विषयमा अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको जनाउँदै शिक्षकको सेवासुविधामा कुनै कञ्जुस्याँइ नगरिने बताए ।
उनले कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने बताए । उनले भने, ‘कर्मचारी र शिक्षकको कार्यविभाजन फरक छ, तर राष्ट्रको लागी दुवै अपरिहार्य भएकोले सेवासुविधामा पनि समान अधिकार हुनुपर्छ ।
शिक्षक सेवा आयोगको ११औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायत कामले गति लिएको बताए ।
उनले शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको बताए । उनले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर प्रक्रिया अगाडि बढाइएको बताए । उनले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालयले ५५ बुँदे योजना बनाएर काम थालेको उल्लेख गरे ।
उनले शिक्षक महासंघका ३३ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदै आएको बताए । विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै अति न्यून विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उनको भनाइ छ ।
उनले संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐन निर्माणमा मन्त्रालयले गर्नुपर्ने काम सकिएको बताउँदै अन्य मन्त्रालयसँग छलफल गरी मन्त्रिपरिषद्मा लैजाने तयारी भएको बताए ।