

काठमाडौं – पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।
केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्यांकानुसार चालु आर्थिक वर्षको गत मंसिर महिनामा मात्रै रु ४८ खर्ब ४५ अर्बभन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ । जसमा आरटिजिएमार्फत मात्रै ३४ खर्ब ७७ अर्बभन्दा बढीको कारोबार भएको छ । बैंकको विवरणानुसार गत आवको मंसिर महिनामा विद्युतीय कारोबार रु २३ खर्ब ७७ अर्ब भन्दा बढीको थियो । कारोबार तथा भुक्तनीमा एटिएम, वालेट, मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, क्युआर कोडमा आधारीत भुक्तानी प्रणालीलगायत माध्यमको प्रयोग उल्लेख्य रूपमा बढेको छ ।
आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग उल्लेख्य रूपमा वृद्धि हुँदै गर्दा विभिन्न नाममा ठगी पनि बढ्दै गएको छ । चिठ्ठा परेको भन्ने प्रलोभन, मोबाइल एप्लिकेसनको दुरूपयोग, अपरिचित व्यक्तिबाट आङ्खनो पासर्वड तथा ओटिपी विभिन्न वहानामा माग गरिनु जस्ता क्रियाकलाप बढेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई त्यसबारे सजग र सुरक्षित रहन सुझाव दिएको छ ।
केन्द्रीय बैंकले शुक्रबार विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणका लागि सूचना जारी गर्दै विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा आपराधिक व्यक्ति तथा समूहले विभिन्न प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो बढ्न थालेकाले विद्युतीय भुक्तानीमा विशेष ध्यान दिन प्रयोगकर्तालाई अनुरोध गरेको छ ।
अहिलेको समयमा सामाजिक सञ्जालमार्फत चिनेजानेका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजरनेम तथा पासर्वड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई रकम हस्तान्तरण गर्ने बहानामा उल्टै रकम माग गर्ने, गैरकानुनी उपकरणमा लगानी गर्न उत्प्रेरणा गर्नेजस्ता क्रियाकलाप बढ्दै गएको भन्दै यस प्रकारका ठगी बाट बच्न र सुरक्षित कारोबार गर्न सर्वसाधारणलाई राष्ट्र बैंकले सूचनामार्फत ध्यानाकर्षण गरेको छ ।
केन्द्रीय बैंकले अपरिचित व्यक्तिलाई आङ्खनो पासर्वड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन, आङ्खनो पासवर्ड समयसमयमा परिवर्तन गर्न तथा यस्ता पासवर्ड गोप्य राख्न भनेको छ । त्यस्तै सर्वसाधारणलाई अपरिचित व्यक्तिले सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको व्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र त्यस्तो रकम पठाउन आग्रह गरेको ।
त्यस्तै अनावश्यक तथा अनधिकृत एप्लिकेसन मोबाइल वा अन्य उपकरणमा डाउनलोड गर्दा आङ्खना संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्ने भएकाले त्यस्ता अनावश्यक तथा अनधिकृत एप्लिकेसन प्रयोग नगर्न बैंकले सुझाएको छ । सामाजिक सञ्जाललगायत प्रणालीको प्रयोग गरेर रकम भुक्तानी गर्ने बहानामा बारकोड तथा क्युआर कोड पठाएर अथवा एप्लिकेसनको पासवर्ड आवश्यक छ भनेर माग गरेमा त्यस्ता कार्यलाई शंकास्पद मानेर सचेत रहन समेत राष्ट्र बैंकले सूचनामार्फत सर्वसाधारणलाई आग्रह गरेको छ ।
राष्ट्र बैंकले वेबसाइटमार्फत कारोबार गर्नुअघि आधिकारिक वेबसाइट हो वा होइन यकीन गरेर मात्र कारोबार गनुपर्नेमा जोड दिएको छ । आधिकारिक वेबसाइटको सुनिश्चिततापश्चातमात्र आर्थिक कारोबार गर्नुपर्नेमा बैंकले जोड दिएको छ । विभिन्न माध्यमबाट आर्थिक कारोबार गर्दा आँफू ठगिएको शंका लागेमा अथवा त्यसबारे गुनासा रहेमा कारोबार गर्ने बैंक तथा वित्तीय संस्था एवं राष्ट्र बैंकमासमेत सम्पर्क गरी गुनासो वा उजुरी दर्ता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।