

काठमाडौं– झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुन सकेको छैन । संघीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँपरिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो । आकाशे पुल निर्माणको लागि ठाउँअझै छान्न नसकिएमा ठेक्का नै रद्द गरिने डिभिजन सडक कार्यालय काठमाडौंले चेतावनी दिएको छ । कार्यालयले पहिले कोटेश्वर चोक नजिकै (तीनकुने जाने सडकतर्फ) पुल बनाउन भने पनि त्यहाँस्थानीयवासीको विवादका कारण बन्न नसकेको कार्यालयका सूचना अधिकारी सुमित केसीले बताएका छन् ।
पुल निर्माणका लागि कतिपयले सुरुकै ठाउँठीक छ त्यही गर्नुपर्छ भनेका छन् भने कतिपय स्थानीयवासीले परिवर्तन गर्नुपर्ने भनिरहेका छन् । उनका अनुसार आकाशे पुल निर्माण गर्दा वडा कार्यालयले ठाउँपरिवर्तनको माग गरेपछि अहिले त्यो फाइल सडक विभाग पठाइएको कार्यालयले जनाएको छ । स्थान परिवर्तन गर्नु ठीक छ छैन भनी विभागले निर्णय गर्ने अधिकारी केसीले बताउनुभयो । स्थानीयस्तरमा सहमति हुने अवस्था नभएमा ठेक्का नै रद्द हुनसक्ने उनले बताए ।
कार्यालयले तीन वर्ष पहिले नै नयाँबानेश्वर र कोटेश्वर गरी दुई स्थानमा आकाशे पुल निर्माणका लागि प्रक्रिया अघि बढाएको थियो । नयाँबानेश्वरमा विभिन्न कारणले केही ढिलाइ भए पनि पुल सम्पन्न भएर प्रयोगमा आइसकेको छ । उनले भने, ‘यो ठाउँमा भने अवधि सकिँदासम्म पनि कहाँबनाउने भन्ने समेत टुंगो लाग्न सकेको छैन ।’ एकातिर भक्तपुर र ललितपुरतर्फ जाने सवारीसाधन र अर्कातिर काठमाडौं उपत्यका बाहिर जाने नाकाका रूपमा कोटेश्वरमा सवारीसाधन र यात्रुको चाप रहेको छ । वाग्मती प्रदेशका विभिन्न जिल्लासँगै मधेस प्रदेश र प्रदेश १ का धेरै यही बाटो भएर ओहोरदोहोर गर्छन् । छोटो र लामो दूरीका सवारीसाधन रोक्ने स्टेशन हुँदा आकाशे पु्ल आवश्यक भएको आवाज वर्षाैँदेखि उठिरहेको छ ।
चीन सरकारले निर्माण गरेको कलंकी–कोटेश्वर सडकमा चीन सरकारले नै निर्माण गरेका तीन आकाशे पुलमध्ये एक कोटेश्वर चोक नजिकै छ । कोटेश्वरबाट बालकुमारीतर्फ आकाशे पुल छ भने कोटेश्वरबाट तीनकुनेतर्फ यात्रु सडकबाटै वारपार गर्दा यहाँजाम अझै बढिरहेको देखिन्छ । समयमा आकासे पुल निर्माण गर्न नसकिदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको बताइएको छ । कोटेश्वर काठमाडौं उपत्यका भरि नै सबैभन्दा धेरै जाम हुने क्षेत्रको रूपमा समेत परिचित छ । चक्रपथको भाग पर्नुका साथै भक्तपुर र पूर्वतर्फ जाने सवारी साधनहरू सोही बाटो भएर काठमाडौ बाहिरिने भएकाले उक्त क्षेत्रमा जामको समस्या विकराल भएको बताइएको छ । धेरै जाम हुने क्षेत्र भएकाले पनि आकासे पुल निर्माणको कामलाई प्राथमिकताका साथ अगाडि बढाइनुपर्ने सरोकारवालाहरूले बताउँदै आएका छन् ।