

काठमाडौं– सम्बन्धित मोबाइल कम्पनीले उत्पादन गर्नुपूर्व नै नेपालमा महँगा मोबाइल सेटको अग्रिम बुकिङको नाममा उपभोक्तामाथि ठगी भइरहेको पाइएको छ । नेपालमा भारतीय नागरिक रहेका व्यवसायीहरूले त्यस्तो ठगीधन्दा चलाउँदै आएको पाइएको हो ।
यसैक्रममा, एप्पल कम्पनीले पछिल्लो समयमा उत्पादन गरी बजारमा पठाएको आइफोन ब्राण्डको अग्रिम बुकिङ गर्न भन्दै उपभोक्तासँग करोडौँ रूपैयाँ असुली गरेको भेटिएको छ । यसरी बिना अनुमति ‘जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्राइभेट लिमिटेड,’ ‘जेनएक्सटी’ नामक कम्पनीले आइफोनको बुकिङका लागि उपभोक्ताको पैसा संकलन गरेर हुण्डीको अवैधधन्दामा लगानी गर्दै आएको फेला परेको छ ।
सो कम्पनीले उपभोक्ताहरूले अग्रिम बुकिङ गरेको सेट उपलव्ध गराउने भन्दै १० देखि ५० प्रतिसतसम्म अग्रिम रकम असुली गर्दै आएको छ । तर, बुकिङ गरिएको सेट नपाएको उपभोक्ताहरूको गुनासो छ । भीमसरिया ग्रुपका अध्यक्ष पवनकुमार भीमसरियाले जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिमार्फत बुकिङ गरेको सेट उपलव्ध गराउन नसकेपछि उनको खोजी भइरहेको छ ।
पीडित उपभोक्ताहरूले खोजी गरे पनि उनलाई अहिलेसम्म भेट्न नसकेको गुनासो गरेका छन् । उपभोक्ताबाट करोडौँ रूपैयाँ बुकिङको नामका संकलन गरेका भीमसरिया ग्रुपले फरक–फरक नम्बरबाट फोन गरी बुकिङ गरेको सेट उपलव्ध गराउने मिति परिवर्तन गर्दै अर्धभूमिगत रूपमा बसेको आरोप उपभोक्ताहरूले लगाएका छन् ।
उनले प्रयोग गरेका अधिकांश नम्बर अफ गरिएको छ । सामाजिक सञ्जालमा भ्रामक विज्ञापन गरी १० हजारदेखि माथिको सेट बुकिङ गर्नेलाई विभिन्न छुट र उपहारको लोभ देखाउँदै उनले लुटधन्दा नै चलाउँदै आएको समूह हो ।
प्रत्येक सेट बुकिङ गर्ने उपभोक्ताबाट १० हजारदेखि ३० हजार रूपैयाँ बुकिङको नाममा रकम असुली गरेको समेत पीडित उपभोक्ताले जनाएका छन् । सो रकम अग्रिम लगी भीमसरियाले बिना व्याज चलाएको र भनेको समयमा सेटसमेत उपलव्ध नगराएको दुःखेसो उपभोक्ताहरूको रहेको छ । नेपालमा सोनी, एप्पल र सामसुङ कम्पनीले आधिकारिक बिक्रेताको रूपमा कसैलाई पनि सम्बन्धित कम्पनीहरूले तोकेको छैनन् । तर, नेपालमा विदेशमा भएका सबै कम्पनीको आधिकारिक बिक्रेता हुँ भन्दै भ्रम सिर्जना गरेर अवैधरूपमा नेपाल भित्र्याइएका मोबाइल सेटहरू बिक्री गरिँदै आएका छन् ।
यसरी नक्कली कम्पनीहरूले ‘आधिकारीक बिक्रेता हुँ’ भन्दै विदेशमा समेत बिक्रीका लागि बजार नपुगेको एप्पल ब्राण्डका आइफोन, घडीलगायतका ग्याजेटहरू नेपालमा खुला रूपमा जेनेरेसन नेक्स्ट नामक कम्पनीबाट बिक्री हुँदै आएको छ । हुण्डीमार्फत पठाएको रकमबाटै मोबाइल सेट र ल्यापटप खरिद गरी नेपाल भित्र्याउँदै आएका मोबाइल तस्कर भीमसरिया ग्रुपका अध्यक्ष पवन भीमसरियाले पछिल्लो समयमा चोरी पैठारीबाट सेट नेपाल भित्र्याउन नसकेपछि तोकिएको समयमा सेट बुकिङ गर्ने उपभोक्तालाई उपलव्ध गराउन नसकेको उपभोक्ताहरूकै भनाइ रहेको छ । ‘जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्राइभेट लिमिटेडको शेर्पा मलमा रहेको पसलको नम्बरमा फोन सम्र्पक गर्दा सो फोन उठेन । सरकारको सम्बन्धित निकायका कर्मचारी कमिसनकै लोभमा फस्दा आइफोनलगायत अन्य फोन खरिदकर्ताहरू खुलेआम ठगिँदै आएका छन् । नेपालमा आधिकारिक बिक्रेता नै नभएको एप्पल ब्राण्डको आइफोनको आधिकारिक बिक्रेता भएको भन्दै दुईवटा बिनादर्ता कम्पनीले खुला प्रचार गरेर उपभोक्तामाथि भ्रम फैलाउँदै ठगी कार्य गर्दै आए पनि कारबाही भने हुन सकेको छैन ।
सरकारी निकायकै कर्मचारीको मिलिमतोमा बिना भन्सार महँगा सेटहरू नेपाल भित्र्याउँदै नक्कली आधिकारिक वितरकबाट खुलेआम बिक्री समेत हुँदै आएको छ । जेनेरेसन नेक्स्ट र जेनएक्सटी’ नामक कम्पनीले आधिकारिक बिक्रेता भएको भन्दै आइफोन बुकिङ खुला गरेको विज्ञप्ति प्रकाशन गरेर भ्रम फैलाएको थियो । यसैगरी फेरि अर्को कम्पनीले आफू आइफोनको आधिकारि बिक्रेता भएको भन्दै विभिन्न योजना सार्वजनिक गरी उपभोक्तामाथि भ्रम फैलाउँदै आउँदासमेत सरकारले सो बारे कुनै चासो दिएको छैन ।
आफूलाई आधिकारिक बिक्रेता भएको भन्दै भ्रम फैलाएर अत्याधिक महँगोमा सेट बेचेर लाखौँ रूपैयाँ राजस्व छली गर्नेमा रहेको छ ‘रिसेलर इभो स्टोर’ नामक गैरकानुनीधन्दा गर्दै आएको अर्को कम्पनी हो । सो कम्पनीले ग्राहकले आइफोन खरिद गर्दा एक वर्षसम्म निःशुल्क डाटा पाउने भन्दै भ्रम फैलाई महँगोमा सेट बिक्री गर्दै आएको छ । सो कम्पनीले बुकिङ खुला गरेको आइफोन नेपाली बजारमा सुरुवाती मूल्य १ लाख ३७ हजार ९ सय रूपैयाँ रहेको भन्दै प्रचार गरेको छ । इभो स्टोरले १२ महिनासम्म सक्ने गरी न्यूनतम मासिक किस्ता १२ हजार ९९९ रूपैयाँमा आइफोन १३ खरिद गर्न सकिने जनाएको छ । ग्राहकले आइफोनको खरिदमा मोम्याक्स २० वाट पावर एडेप्टर र एक वर्षको ब्रेकेज इन्स्यारेन्स प्राप्त गर्ने भन्दै भ्रम छर्दै आएको छ ।