
काठमाडौं– शैक्षिक गुणस्तर बढाउन शैक्षिक भ्रमण महत्वपूर्ण हुने जालुपा माध्यामिक विद्यालयका सहप्रधानाध्यापक वसन्त बानियाँले बताएका छन् । सामुदायिक विद्यालयअन्तर्गत कास्कीको अमरसिह माविमा जालुपा माविका शिक्षक तथा कर्मचारीहरुको टोलीले २ देखि ४ माघसम्म गरेको भ्रमण कार्यक्रममा सहप्रधानाध्यापक बानियाँले शैक्षिक गुणस्तर अभिवृद्धि हुन यस किसिमको भ्रमण महत्वपूर्ण हुने बताएका हुन् ।
कार्यक्रममा उनले भने, ‘विद्यार्थीलाई पढाउन आफू पनि पढ्नु र सिक्नुपर्छ, अनि मात्र विद्यार्थीलाई नयाँ जोश र फरक किसिमले पठनपाठनमा अगाडि बढाउन सकिन्छ ।’ कास्कीको रामघाट–१२ मा अवस्थित अमरसिंह नमुना माध्यामिक विद्यालयको भ्रमण सोही विद्यालयका कर्मचारी रोहित बानियाँको संयोजनमा गरिएको थियो । यो भ्रमणले विद्यालयको संरचनामा निकै टेवा पु¥याएको सहप्रधानाध्यापक बानियाँले जानकारी दिए ।

टोखा नगरपालिकाको बानियाँटारमा रहेको जालुपा माविले शैक्षिक गुणस्तर अभिवृद्धि गराउन र पेसालाई निपूण बनाउन कार्यरत शिक्षकहरुका लागि तीनदिने धार्मिक, पर्यटकीय स्थलका साथै नमुना विद्यालयको शैक्षिक भ्रमण गराएको थियो । तीन वर्षदेखि शिक्षक तथा कर्मचारीहरुलाई वार्षिक भ्रमण लैजाने क्रममा यो वर्षमा भने नयाँपन दिँदै विद्यालयले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू, एसियाको लामो झुलुंगे पुलको अवलोकनका साथै एक नमुना सामुदायिक विद्यालयको शैक्षिक भ्रमण गरेको प्रधानाध्यपक सुजनकुमार श्रेष्ठले बताएका छन् ।

अमरसिंह माविका प्रधानाध्यपक तेजस्वी बरालका अनुसार करिब २ सय ७ रोपनी जग्गामा फैलिएको बालविकास कक्षादेखि कक्षा १२ सम्मको सञ्चालनमा कुल २८ सय ५० विद्यार्थी अध्ययनरत रहेको जालुपा माविका सहप्रधानाध्यापक बानियाँले जानकारी दिएका छन् । कक्षा ११ र १२ मा विज्ञान, मानविकी व्यवस्थापन र शिक्षा संकायको पढाइ सञ्चालनमा रहेको उक्त विद्यालयमा दृष्टीविहीन विद्यार्थीका लागि छात्राबासको समेत व्यवस्था रहेको अमरसिंह माविका विद्यालय व्यवस्थापन समितिका सदस्य बलराम ढुंगानाले दिएको उनले बताए । उनले भने, ‘सरकारी तथा निजी गरी कुल १ सय ६० शिक्षक तथा कर्मचारी कार्यरत उक्त विद्यालय गण्डकी प्रदेशकै एक अग्रणी नमुना विद्यालय भएको पाइयो ।’ यसैगरी भ्रमणको बारेमा जालुपाका शिक्षक राम बानियाँले पहिलो दिन ८ वटा जिल्ला पार गरी म्याग्दीको सदरमुकाम बेनीसम्म पुगेको बताएका छन् ।