काठमाडौं– वैदेशिक रोजगार बोर्डमार्फत प्रदान गरिने सेवामध्ये शव ढुवानीबाहेकका सेवा बन्द गरिएको छ । कोरोना संक्रमण बढेको भन्दै बोर्डले ९ माघदेखि शव ढुवानी सेवाबाहेक सबै सेवा अनिश्चित कालका लागि बन्द गरेको हो ।
बोर्डले सूचना निकालेर आइतबार ९ माघदेखि विदेशबाट आएका शव ढुवानी गर्ने कार्य मात्रै हुने जनाएको छ । बोर्डका विभिन्न शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा स्थगन गर्नु परेको सूचनामा भनिएको छ ।
साथै बोर्डमार्फत प्रदान हुने आर्थिक सहायतालगायत सेवाका लागि भने सम्बन्धित पालिकामार्फत अनलाइन माध्यमबाट निवेदन दिन सकिने र सोहीअनुसार निवेदन पेस गर्न बोर्डले अनुरोध गरेको छ । अत्यावश्यकबाहेक कार्यालयमा उपस्थित नहुन पनि बोर्डले सबैलाई आग्रह गरेको छ । अत्यावश्यक सेवा लिन बोर्डको कार्यालयमा उपस्थित हुनै पर्ने भए सेवाग्राहीले अनिवार्य रूपमा स्वास्थ्य मापदण्डका साथै खोप कार्ड साथमा उपस्थित हुनु पर्ने बोर्डको सूचनामा भनिएको छ ।