

काठमाडौं– राष्ट्रिय सहकारी महासंघमा यतिबेला एक कर्मचारीको विषय लिएर विवाद चर्किएको छ । महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङले सोही संस्थामा विगत अढाई वर्षदेखि कार्यरत अच्युतम थापालाई स्थायी गर्न खोज्दा विवाद चरमोत्कर्षमा पुगेको हो । केही महिना अगाडि महासंघले विभिन्न ६ पदमा स्थायी कर्मचारीका लागि आवेदन खुला गरेको थियो । सो अवधिमा परेको आवेदनमध्ये आफूनिकट थापालाई जसरी भए पनि स्थायी गर्न भन्दै थामसुहाङ महासंघ सञ्चालकको घरमा धाउन थालेपछि विवाद चर्किएको हो ।
महासंघमा पदपूर्ति समितिमा ओमदेवी मल्ल संयोजक छिन् भने आइएमई को–अपरेटिभका सागर ढकाल सदस्य रहेका छन् । उनीहरूलाई फोन गरेर महाप्रबन्धक थामसुहाङले जसरी भए पनि थापालाई स्थायी गराउनुपर्ने भन्दै दबाब दिन थालेपछि विवाद सतहमा आएको हो । थापा विगत अढाई वर्षदेखि महासंघमा जागिरे छन् । उनी करारमा अनुगमन अधिकृतको रूपमा जागिरमा प्रवेश गरेका थिए । उनी करारमा नियुक्त हुँदाको बखतमा नै ३८ वर्षका थिए । हाल उनको उमेर ४० वर्ष काटिसकेको छ । उनी काभ्रेको एक क्याम्पसमा अध्यापन पनि गरिरहेका छन् ।
महासंघको ‘कर्मचारी प्रशासन कार्यविधि’अनुसार महासंघको स्थायी कर्मचारी हुनका लागि पुरुषको हकमा ३५ र महिलाको हकमा ४० वर्ष पार गरेको हुनुहुँदैन । यो निजामती कर्मचारीकै नियमावलीअनुसार गरिएको होइन । यति हुँदाहुँदै पनि यदी करार वा अस्थायीको लागि भने वर्षको बन्देज लागू हुँदैन । गत वर्ष उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा कर्मचारी प्रशासन कार्यविधि परिवर्तन गरिएको थियो । परिवर्तित कार्यविधिमा महासंघको कर्मचारीको हकमा उमेरहदर लागू हुँदैन भनी उल्लेख गरिएको छ । तर, सो बुँदामा कुन अवस्थामा भन्ने विषयमा स्पष्ट उल्लेख गरिएको भने छैन ।
यही ‘लुप होल’लाई टेकेर महाप्रबन्धक थामसुहाङ पावर सेन्टर धाउँदै अच्युतमभन्दा जान्ने नेपालमा नै कोही नभएको जसरी सञ्चालकहरू माझ प्रस्तुत भइरहेकी छन् । अर्कोतर्फ महासंघ सार्वजनिक संस्था भएकोले पनि यो संस्थामा सरकारका हरेक नीति नियमहरू आकर्षित हुन्छन् । सरकारले हरेक वर्ष विभिन्न कार्यक्रमको लागि महासंघलाई करोडौँ रूपैयाँ अनुदान दिने गरेको छ ।
चालु आर्थिक वर्षका लागि भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट एक करोड ५० लाख रूपैयाँ अनुदान दिएको छ । गत आर्थिक वर्षमा २ करोड १९ लाख रूपैयाँ अनुदान दिएको थियो । अध्यक्ष आफूले भनेअनुसार चलाउन सक्ने भएपछि महाप्रबन्धक थामसुहाङमा थप हिम्मत बढेको हो । उनको विपक्षमा अध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष रमेश पोखरेल र पूर्वअध्यक्ष केशव बडाल केही बोल्दैनन् । उनले जे भन्यो त्यही मान्छन् । महिला भएको नाताले वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल पनि थामसुहाङको गलत कदमको विरुद्ध बोल्न सक्तिनन् । यसैको फाइदा उठाउँदै पछिल्लो समयमा उनले महासंघमा मनलाग्दी गर्न लागेको र नीति, विधि र प्रक्रिया मिचेर काम गर्न थालेको गुनासोहरू कर्मचारीहरूले गर्न थालेका छन् ।