

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी ओलीका विश्वासप्राप्त व्यापारी तथा पूर्वराज्यमन्त्री मोतीलाल दुगडको सेटिङमा खुलेआम अफिमको बियाँ आयात भइरहेको खुलासा भएको छ । भ्रष्टाचारको बद्नाम उपाधि पाएको ओली सरकारले गरेका थप अनियमितता प्रकरण बाहिर आउने क्रममा विवादित व्यवसायी दुगडले मिठाइमा प्रयोग गर्नका लागि भनेर ‘पोस्तादाना’ नाममा ‘अफिमको बियाँ’ तस्करी गर्दै नेपाल भित्र्याएको पाइएको हो ।
अफिमको बियाँ तस्करीका लागि तत्कालीन ओली सरकारले अनुमति दिएको पुष्टि भएको छ । ओलीका आर्थिक सल्लाहकारसमेत रहेका दुगडको सेटिङमा व्यापारीलाई अफिमको बियाँ आयात गर्ने अनुमति दिइएको पाइएको छ । सो पोस्तादानाको नाममा नेपाल आयात गरेको लाखौँ किलोग्राम अफिमको बियाँ नेपालबाट भारत निर्यात हुँदै आएको स्रोतको दाबी छ । त्यस्तो बियाँ उम्रन थालेपछि यसमा प्रहरीले समेत चासो दिएर छानबिन थालेको थियो ।
यस्तो पोस्तादाना नउम्रने गरी रिफाइन गरेर मात्र कारोबार गर्न पाइन्छ । तर, व्यवसायीले उम्रने किसिमको पोस्तादानाकै तस्करी भइरहेको प्रमाणित भएपछि भन्सार विभागले त्यसमा हाल अनुमति रोकेको छ । दुगडको सेटिङमा वीरगन्जका व्यवसायी तेजकरण जैन सञ्चालक रहेको कुबेर एक्जिमको नाममा ७ कन्टेनर र उनकै अर्काे कम्पनी धनलक्ष्मी फुडको नामबाट ६ कन्टेनर गरी कूल १३ कन्टेनर अफिम बियाँ वीरगन्ज भन्सार नाकाबाट २ लाख ३८ हजार केजी नेपाल भित्र्याइसकेको छ । सो पोस्तादाना टर्कीबाट नेपाल आयात गरिएको पाइएको छ । ‘मब सिड’ भनेर यसलाई छुटाउने चलखेल भन्सारमा भइरहेको बताइन्छ ।
धनलक्ष्मी फुडले ‘मब सिड’ भनेर आयात गरेको दुई कन्टेनर र कुबेर एक्जिमले आयात गरेको चार कन्टेनर जाँचपास भई नेपाल भित्रिसकेको छ । यसैगरी, झापाका व्यापारी प्रदीप मित्तल समेत तस्करी धन्दाको मुख्य व्यक्तिका रूपमा रहेका छन् । उनले तत्कालीन ओलीका आर्थिक सल्लाहकारलाई घुस खुवाई दुई हजार टन पोस्तादाना आयातको अनुमति लिएको आरोप लागेको छ । जुन कोटा अन्य व्यापारीलाई बिक्री गरेर तस्करी हुँदै आएको छ । यसमा तत्कालीन आपूर्तिमन्त्री लेखराज भट्टसमेतको मिलेमतो रहेको स्रोतको आरोप छ ।
यसरी उम्रिएको पोस्तादाना ओसारपसार गर्न दिएकोमा अन्तर्राष्ट्रिय निकायबाटै नेपालमाथि प्रश्न उठेको छ । व्यापारीहरूले अहिले अर्थमन्त्री जनार्दन शर्मालाई प्रभाव पार्ने प्रयासमा लबिङ गर्दै आएका छन् । उत्पादनकर्ता मुलुकले सिडको प्रजनन् क्षमता नष्ट गरेर मात्र अन्य मुलुकमा निर्यात गर्न ‘संयुक्त राष्ट्रसंघ अफिस अन ड्रग एन्ड क्राइम’अन्तर्गतको ‘इन्टरनेसनल नार्काेटिक्स कन्ट्रोल बोर्ड’को प्रावधान छ । तर, व्यापारीले भने त्यसविपरीत नेपालमा आयात गरिरहेका छन् ।
नेपालमा ल्याएर भारत पठाउँदा करोडौँ नाफा हुने भएकाले सो अवैधधन्दाको साँठगाँठ भने पूर्वमन्त्री तथा दुगड गु्रपका मोती दुगडले मिलाएका हुन् । यसमा दुगुना गढी इन्भेस्टमेन्ट प्रालि, धनलक्ष्मी फुड प्रालि, श्यामजी सप्लायर्स, वैभव ट्रेड कन्र्सन, कुवेर एक्जिम प्रालि र राठी ट्रेडिङ कम्पनीलगायत कम्पनीले सेटिङका आधारमा पोस्तादाना आयातको अनुमति लिएका छन् र यिनीहरूले नै अफिमको बियाँ आयात गर्दै आएको आरोपसमेत लागेको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार प्रजनन् क्षमतायुक्त बिउ नेपाल ल्याउन पाइँदैन ।
वनस्पति विभाग मातहतको प्रयोगशालामा गरिएको परीक्षणमा पप्पी सिड प्रजनन् क्षमतायुक्त रहेको पुष्टि भएको हो । अस्वाभाविक तवरले नेपालमा पप्पी सिड भित्रिन थालेपछि लागुऔषध नियन्त्रण ब्युरोले आयातमध्येबाट नमुना छनोट गरी परीक्षण गर्न विभाग पठाएको थियो । विभागले परीक्षणका लागि नमुना सिड मातहतको गोदावरीस्थित राष्ट्रिय हर्बेरियम वनस्पति प्रयोगशालामा पठाएको थियो । नमुना लिइएकामध्ये ९० प्रतिशत सिडमा प्रजनन् क्षमता भएको प्रयोगशालाले देखाएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइएनसिबीको स्वीकृतिबिनै गत आवमा दुई हजार मेट्रिक टन पप्पी सिड टर्कीबाट नेपालमा आयात गर्न स्वीकृति दिएको थियो ।
स्वीकृतिपछि गत साउनयता मात्रै नेपालमा एक लाख ६३ हजार पाँच सय किलो सिड भित्रिसकेको जनाएको छ । यसका लागि १२ करोड २१ लाख ५० हजार रूपैयाँ भुक्तानी गरिसकिएको छ । बाँकी सिड भने आउने क्रममा छ । मन्त्रालयमातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार नेपालमा सिड ल्याउन दुगुनागढी इन्भेस्टमेन्ट प्रालि, धनलक्ष्मी फुड प्रालि, श्यामजी सप्लायर्स, वैभव ट्रेड कन्र्सन, कुबेर एक्जिम प्रालि र राठी ट्रेडिङ कम्पनीले सो बियाँ आयात गर्दै आएका छन् ।आयातित सबै सिड झापा र विराटनगरमा स्टोर गरी राखिएका छन् । यसरी पोस्तादानाको नाममा खुलेआम अफिमको आयात हुँदासमेत सरकारी निकायबाट भने कडा कारबाही र अनुसन्धानलाई समेत अगाडि बढाउन आनाकानी गर्दै आएको स्रोतको दाबी छ ।