

काठमाडौं– नेपालका लागि केही वर्ष अघिसम्म सामसुङ मोबाइलको आधिकारिक बिक्रेता रहेका व्यापारी दीपक मलहोत्राले मोबाइल उपभोक्तालाई एकपछि अर्को ठगी गर्दै आएको आरोप लग्दै आएको छ । कोरियालगायत अन्य देशबाट सस्तोमा मोबाइल सेट झिकाई नेपालमा अत्याधिक महँगोमा बेच्दै आएका मलहोत्राले लामो समयदेखि सरकारी ढुकुटीमा जम्मा गर्नु पर्ने कर राजस्वसमेत छली गरेको पाइएको छ ।
उनले मासिक ५५ लाख रूपैयाँभन्दा बढी राजस्व छली गर्दै आएपछि उनीमाथि कर कार्यालयबाट अनुसन्धान गरेको भए पनि कारबाही भने गर्न सकेको छैन । मलहोत्राले पछिल्लो समय अत्याधिक रूपमा कर छली गरेपछि आङ्खनो कम्पनीको नामसमेत परिवर्तन गरेर अवैधधन्दालाई निरन्तरता दिँदै आएको पाइएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेताको अनुमति पाएका मलहोत्रालाई सो अधिकारबाट हटाएपछि पुरानो कम्पनीको नाम हटाएर नयाँ नामको कम्पनी खोली सार्वजनिक गरेपछि सो रहस्य बाहिर आएको हो ।
नेपालमा सबैभन्दा बढी बिक्री हुने सामसुङ ब्रान्डको मोबाइल सेट पर्न गएपछि सरकारलाई तिर्नु पर्ने कर र मूल्य अभिवृद्धि कर (भ्याट) रकमसमेत छली गर्दै आएको आरोप लागेको छ । उनले ठूलो रकम बुझाउनु पर्ने भएकाले रातारात पुरानो नाम ‘इन्टरनेसनल मार्केटिङ प्रालि’ लाई हटाएर नयाँ ‘इन्टिग्रेटेड मोबिलिटी सोलुसन (आइएमएस) प्रालि’ को नामबाट व्यावसायिक कारोबार सुरु गरेका छन् । सो कम्पनीले लामो समयदेखि सरकारलाई बुझाउनु पर्ने कर/भ्याटमा छली गरी करोडौँ रकम सरकारलाई बुझाउनु पर्ने आन्तरिक राजस्व विभागले देखाएपछि एकाएक कम्पनी नै परिवर्तन गरेको विभागका एक कर्मचारीले बताएका छन् ।
सो कम्पनीका मालिक मलहोत्रा र छोरा दिकेश मलहोत्राले नेपालमा सामसुङको मोबाइल सेटहरू बिक्री वितरण गर्दै आएका छन् । मलहोत्रा परिवारले सुरुको व्यवसाय सञ्चालन गर्दा मोबाइलभित्र अवैध रूपमा सुन राखी नेपाल भित्र्याउने गरेको र सोही सुनको कारोबारपछि मोबाइलको आधिकारिक बिक्रेताको नियुक्ति लिई काम गर्न थालेको स्रोतको भनाइ छ । सो कम्पनीले पुरानो आर्थिक वर्ष ०७०÷७१ को मात्र १८ करोड रूपैयाँभन्दा बढी राजस्व बुझाउन बाँकी रहेको छ । यस सम्बन्धमा सो कम्पनीका अध्यक्ष मलहोत्रासँग पटक–पटक सम्र्पक गर्दा उनले बोक्ने गरेको मोबाइलमा फोन सम्र्पक नै हुन सकेन ।
मलहोत्रा सुन ओसार पसारका पुरानै खेलाडीको रूपमा चिनिँदै आएका व्यापारी हुन् । कानुनलाई मिचेर केही नेता र प्रशासनका अधिकारीलाई हातमा लिएर मलहोत्राले सो अवैधन्दा गर्दै आएका छन् । ढिला गरी प्राप्त विवरणअनुसार विभागले इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालि (आइएमएस) लाई १८ करोड रूपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्न ताकेता गरेको लामो समय बितिसक्दासमेत सो रकम असुली गर्न भने सरकारले सकेको छैन ।
सो कम्पनीले भ्याट दुरूपयोग गरेको भेटिएपछि विभागले रकम फिर्ता गर्न ताकेता गरेको थियो । आइएमएसले कोरियाली सामसुङ कम्पनीको मोबाइल आयात गरेर बिक्री गर्दै आएको छ । आइएमएसले सामसुङ मोबाइल आयात गरेर कोदारी इम्पेक्सको नाममा भ्याट फिर्ताको सुविधा लिँदै आएको छ । ती दुवै कम्पनी मलहोत्राले सञ्चालन गर्दै आएको कम्पनी हो । भ्याट फिर्ता सुविधाअन्तर्गत ल्याइएका मोबाइल फोन सेटहरू मूल्य अभिवृद्धि करबिना नै निकासी गरी दोहोरो फाइदा लिएको भन्दै ठूला करदाता कार्यालयले मलहोत्रासँग १८ करोड रूपैयाँ कर फिर्ता गर्न आदेश दिएको हो ।
आइएमएस नामको सो कम्पनीले आर्थिक वर्ष ०७०÷७१ मा दुबईबाट आयात गरेका मोबाइल सेट फेरि दुबई नै निकासी गरेको भेटिएको थियो । ठूला करदाता कार्यालयले काटेको पत्रमा कम्पनीले निर्यात गर्दा पाएको भ्याट फिर्ता ब्याज जरिबानासहित फर्काउन निर्देशन दिएको भए पनि सो रकम अहिलेसम्म फिर्ता गरेको छैन । मलहोत्राको कम्पनीले तीन वर्षदेखि अहिलेसम्म नक्कली कम्पनी तयार गरी भ्याट सुविधा लिँदै आएकोसमेत ठहर विभागले गरेको छ । व्यापारी मलहोत्राले नक्कली कम्पनी खडा गरी मोबाइल निर्यातमा लाग्ने भ्याट रकम फिर्ता लिने गरेको र उनले सतप्रतिशत कर छली गरेकोसमेत पुष्टि भइसकेको विभागले जनाएको छ ।
ठूला करदाता कार्यालयले मलहोत्राले नक्कली कम्पनी खडा गरी निर्यात नै नगरेको मोबाइलको पनि सतप्रतिशत भ्याट फिर्ता लिँदै आएको रहस्य पत्ता लगाएपछि सो रकम फिर्ता हनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दासमेत हालेको थियो । मलहोत्राले आर्थिक वर्ष ०७२÷७३, ०७३÷७४ मा यही प्रक्रियाबाट सतप्रतिशत भ्याट फिर्ता लिएका थिए । ०७४÷७५ का लागि उसले सोही प्रक्रियाअनुसार ०७४ साउनदेखि चैत मसान्तसम्म विदेशमा निकासा गरेको मोबाइलको आन्तरिक खरिद गरेबापतको ११ करोड ४२ लाख २८ हजार १ सय ३८ रूपैयाँ दाबी गरेका थिए ।
सो मागदाबी गर्दै उनले ठूला करदाता कार्यालयमा ०७५ जेठ १ गते निवेदन दिएका थिए । ०७४ साउन ७ गते पुनः मलहोत्राको नक्कली कम्पनीले ०७४ साउन १ देखि जेठ मसान्तसम्मको भन्दै आन्तरिक खरिदमा भुक्तानी गरेको मूल्य अभिवृद्धि कर १४ करोड ४८ लाख ३९ हजार ६ सय ६४ रूपैयाँ फिर्ताका लागि ठूला करदाता कार्यालयमा निवेदन दिएका थिए । ठूला करदाताको कार्यालयले आर्थिक ऐन, ०७४ ले दिएको मूल्य अभिवृद्धि कर ऐनबमोजिम ४० प्रतिशत कर फिर्ताको सुविधा उपयोग नगरी फर्जी कम्पनी खडा गरी सतप्रतिशत फिर्ता लिने योजना देखिएको भन्दै फिर्ता दिन नमिल्ने जवाफ ०७५ भदौ २५ गते दिएको थियो ।
हिमालय इलेक्ट्रोनिक्स नामको कम्पनी खडा गर्दै मलहोत्राले जनताबाट उठाएको करसमेत असुल गर्ने प्रयास गरेको भन्दै ठूला करदाता कार्यालयले रोक लगाएको थियो । मलहोत्राको कम्पनीले चीन, भियतनामलगायत विभिन्न देशमा बनेका सामसुङ मोबाइल सेट सामसुङ इन्डिया इलेक्ट्रोनिक प्रालिबाट खरिद गर्दै आएका छन् । उक्त सेटहरू युएईको कृष्ण इन्टरनेसनल फिज दुबईलाई बिक्री गरेको देखाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमार्फत नेपाल आयात भएका सेटहरू हवाइ मार्गबाटै निर्यात गरिँदै आएको देखिएको छ । विश्व बजारमा नेपालबाट मोबाइल निर्यात हुँदैन ।
इन्टिग्रेटेड मोबाइल सोलुसन्स प्रालि मलहोत्राको परिवारको नाममा रहेको र उक्त कम्पनीबाट हिमालयले सामसुङ मोबाइल खरिद गरी दुबईमा बिक्री गर्ने गरेको देखाइएको छ । हिमालय इलेक्ट्रोनिक्स मलहोत्राका कर्मचारी डिल्लीराम पोखरेलको नाममा एकल स्वामित्वको रूपमा देखाइएको छ । तर, ठूला करदाता कार्यालयले अनुसन्धान गर्दा ३१ जेठ ०७५ मा पोखरेलले दिएको बयानका आधारमा मलहोत्राले नक्कली कम्पनी खडा गरी शतप्रतिशत भ्याट फिर्ता लिने गरेको रहस्य खुलेको हो ।
नेपालमा सामसुङ मोबाइल खरिदका लागि चर्चित मलहोत्रा परिवारले यो प्रकरणमा तीन वटा कम्पनी निर्माण गरी जेरी घुमाई गर्दै जनताको राजस्व आङ्खनो खातामा सार्दै आएको आरोपसमेत लागेको छ । सेलुलर मोबाइल फोन पैठारी गर्ने इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालिले आइएमएस वल्र्डलाई ३ चौथाइ बिक्री गरेको र सेयर धनीको दर्ता किताबमा इन्टिग्रेटेड प्रालिका सञ्चालक मलहोत्राको ५१ प्रतिशत सेयर स्वामित्व रहेको उल्लेख छ ।
उनकी श्रीमती सविता मलहोत्रा र छोरा दिकेशसमेत सञ्चालक रहेको आइएमएस वल्र्डमा दुई जनाको गरी ५१ प्रतिशत सेयर स्वामित्व उल्लेख गरिएको छ । आइएमएस, एलाइटेड, हिमालय र गायत्री कम्पनी पैसा घुमाएर राजस्व लुट्न खडा गरिएका कम्पनी भएको ठूला करदाता कार्यालयले सर्वोच्चमा हालेको निवेदनमा जिकिर गरिएको छ । ठूला करदाता कार्यालयको दाबीअनुसार मलहोत्रा परिवारले शंकास्पद रूपमा एक कम्पनीबाट अर्को कम्पनीमा बिनाप्रयोजन रकमसमेत राख्ने र निकाल्ने गरेको उल्लेख छ ।