

काठमाडौं– आफू र आङ्खनो परिवारलाई उच्च व्यवसायिक घरानाको रूपमा परिचय दिँदै आएको ज्योति परिवारभित्र अहिले सम्पत्तिको विषयलाई लिएर चर्को विवाद चलिरहेको छ । ‘पैसा (सम्पत्ति) देखेपछि महादेवको पनि तीन नेत्र’ भनेझैँ अहिले सो परिवारभित्र काका–भतिजबीच सम्पत्तिकै कारण विवादले उग्ररूप लिँदै गएको छ । पारिवारिक विवादले उक्त ग्रुपले करोडौँ रूपैयाँ राजस्व र करसमेत छली गर्दै रहस्य बाहिरिएको छ ।
ज्योति गु्रपअन्तर्गत म्यानेजमेन्ट सर्भिसेज प्रालिको नाममा रहेको पर्सा जिल्ला साविक लिपनीविर्ता गाविस वडा नं. ६, हाल वीरगन्ज महानगरपालिका वडा नं. २१ स्थित सिट नं. ११३–०११४ को कित्ता नं. ११५, ११६, ११७, २२२ को क्षेत्रफल क्रमशः ०७११०, ०७९८५, ०५११० र ०१६८८ वर्गमिटर क्षेत्रफलका जग्गाहरू सेयरधनीलाई थाहा नै नदिई ठूलो रकम घुस खुवाएर कारोबार गरी हक हस्तान्तरण गरेपछि सो परिवारभित्र सम्पत्तीका कारण विवादमा सिर्जना भएको हो । यो जग्गा बिक्रीमा घुस लिएर लिखत तयार गरिएको मात्र होइन, राजस्व छली भ्रष्टाचार गरिएको पाइएको छ ।
म्यानेजमेन्ट सर्भिसेज प्रालिमा ८ जना सेयर सदस्य रहेको र उक्त घरजग्गा हस्तान्तरण भएको मितिमा पद्म ज्योति र रूप ज्योति गरी दुई जनाको सञ्चालक समिति रहेको थियो । कम्पनीको घरजग्गा हक हस्तान्तरण गर्न कम्पनीको सञ्चालक समितिले निर्णय गरी थप अन्य प्रक्रिया पूरा गरेपछि मात्र हक हस्तान्तरण हुने कानुनी व्यवस्था रहेको भए पनि सो प्रक्रिया नै पूरा नगरी जग्गा हक हस्तान्तरण गरिएको छ ।
मालपोत कार्यालयका तत्कालीन निमित्त प्रमुख सुमनकुमार झासहितका कर्मचारीले कम्पनीको कागजात नै नहेरी, सञ्चालक समितिको निर्णय नभई, थैली रकम बिक्रेतालाई भुक्तानी नै नगरी घुस लिएर घरजग्गाहरू हक हस्तान्तरण गरेकाले उक्त गैरकानुनी कार्य बदर गर्न र दोषी कर्मचारीलगायतमाथि कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा निवेदन परेको थियो । तर, सो निवेदन उपर अहिलेसम्म कुनै कारबाही अगाडि बढेको छैन ।
सञ्चालक समितिको निर्णयबिना नै पद्म ज्योतिका छोरा सौरभ र सुहृद ज्योतिले उक्त जग्गा लालकाजी गुरुङकी छोरी जुनी गुरुङको नाममा पास गरिदिएका थिए । यो जग्गा पास गराउन भूमिका खेल्ने पद्म ज्योति, अनिलदास श्रेष्ठ, जुनी गुरुङ, लक्ष्मण चौधरी र लेखापढी व्यवसायी प्रदीपकुमार साहले मुख्य भूमिका खेलेको ग्रुपनिकट एक व्यवसायीले बताएका छन् ।
उक्त जग्गा पद्म ज्योति र उनका छोराहरूले सञ्चालक समिति सदस्य रूप ज्योतिलाई थाहा नदिई पास गराउन राजस्व दस्तुर दाखिला गरी खरिद बिक्रीकर्ताबीच लेनदेन नहुने, पछि कम्पनीमा मिलाउने भनेर न्यूनतम् मूल्य कायम गरेर जुनी गुरुङको नाममा पास गरेको पाइएको छ । यसमा मालपोतका तत्कालीन निमित्त प्रमुख सुमनकुमार झा, नायब सुब्बा प्रमोदकुमार मण्डल, खरिदार मुकेश चौधरीलाई कमिसन दिई जुनी गुरुङको नाममा पास गरिएको पाइएको छ ।
सञ्चालक समितिको निर्णयबिना उक्त जग्गा पास गर्ने मालपोतका यी तीनै कर्मचारीमाथि हदैसम्मको कारबाही गर्न माग गरी अख्तियारमा उजुरी परेको थियो ।कर्मचारीसँग सेटिङ गर्ने काम अनिलदास श्रेष्ठ र लक्ष्मण चौधरीले गरेको आरोपसमेत लागेको छ । मालपोतका कर्मचारीबीच सेटिङ भइसकेपछि उक्त जग्गा बिक्री गरेको देखाउन नासु प्रमोदकुमार मण्डल, खरिदार मुकेश चौधरी र प्रमुख सुमनकुमार झाले उक्त घरजग्गा १ करोड ९० लाख ६ हजारको थैली कायम गरी किनबेच गरेको देखाइएको छ ।
कार्यालय प्रमुख झासहित तीन कर्मचारीले कागजात मिलाएर ल्याउनु, यी घरजग्गा चलनचल्ती मूल्यअनुसार १० करोडभन्दा माथि पर्ने भएकाले राजस्व कम गराई पास गर्ने र लाभकर तथा रजिस्ट्रेसन दस्तुर जोगिने भएकाले कर्मचारीहरूका कर्मचारीले २५ लाख मागेपछि लामो छलफल र मोलमोलाइपछि १५ लाख रूपैयाँ कायम गरी अन्य लेखापढीतर्फ २ लाख दिने गरी १७ लाख रकम तय गरी २१ माघ ०७६ राति लेनदेन गरेर अवैध काम गरेको आरोप लागेको छ । पद्म ज्योति र उनका छोराहरूले घुसको रकम व्यवस्था गरिसकेपछि जुनी गुरुङ एकल सञ्चालक रहेको उन्नति प्रपर्टिज प्रालिलाई २२ माघ ०७६ मा घर–जग्गाहरू रजिस्ट्रेसन पास गरिएको थियो ।
जुनी गुरुङ पद्म ज्योतिका ज्येष्ठ सौरभ ज्योतिकी निकटतम् मित्र हुन् । काकाको हक खोस्न भतिजा सौरभको योजनामा कीर्ते गरेर उक्त जग्गा जुनीका नाममा पास गरेसँगै करोडौँ रूपैयाँ राजस्वसमेत छली गरिएको छ । प्रदेश २ को सरकारले १० लाखभन्दा बढी मूल्यको जग्गा किनबेच गर्दा बैंकमा रकम जम्मा गरेको भौचर अनिवार्य गरेको थियो । तर, पद्म ज्योतिले भाइको हक वञ्चित गर्नका लागि मालपोतका कर्मचारीलाई सेटिङ मिलाएर १० करोडको जग्गा १ करोड ९० लाख ६ हजारमा बिक्री गरेको देखाई राजस्वसमेत छली गरेको पाइएको छ । नापी कार्यालयले दिनुपर्ने नक्सा लेखापढी व्यवसायीको आवरणमा कार्यालय परिसर बाहिर खुलेका पसलहरूबाट दिने गरिन्छ । नियमानुसार बैंकमा जम्मा गरेर भौचर देखाएपछि मात्र पास गर्नुपर्ने जग्गा त्यसो नगरी सुटुक्क पास गर्दै आएका छन् ।