

काठमाडौं– लामो समयदेखि गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै ठगीधन्दा चलाउँदै आएको मारुती सिमेन्ट कम्पनीमाथि कडा कारबाही नहुँदा उसको लुटधन्दाले निरन्तरता पाइरहेको छ । सो कम्पनीले औपचारिक रूपमै भ्रामक विज्ञापन गर्दै ‘हामी बनाउँदै छौँ नेपाललाई’ भन्दै गुणस्तरहीन सिमेन्ट बेच्दैगर्दा पनि गुणस्तर तथा नाप तौल विभागले पछिल्लो समयमा मारुती सिमेन्टबारे बोल्न कुनै चासो देखाएको छैन ।
गत १ मंसिरमा मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड ब्याचको इजाजत पत्र नै रद्द गरेर विभागले उसलाई कारबाही गरेको थियो । त्यसपछि मारुतीले गुणस्तर सुधार गरेको कुनै औपचारिक सूचना विभागलाई दिएको छैन । त्यही बेला १५ दिनभित्र स्पष्टीकरण पेस गर्न भनी विभागले निर्देशन दिएको थियो । तर, कम्पनीले स्पष्टीकरण दिए÷नदिएको बारे विभागले बताउन चाहेको छैन । कारबाही गर्ने निकाय विभाग नै मौन बसेपछि त्यसको प्रत्यक्ष फाइदा मारुती सिमेन्ट कम्पनीले उठाउँदै आएको छ । विभागले गरेको कारबाही चाल नै नपाएझैँ मारुती सिमेन्टले यसबीच ‘देशकै नम्बर एक सिमेन्ट कम्पनी’ भएको भ्रामक तथा गलत प्रचार समेत गरिरहेको छ । उक्त प्रचारप्रति पनि सम्बन्धित निकाय मौन बसेको छ । सरकारी तथ्यांकमा भने उसको गुणस्तरसम्बन्धी इजाजतपत्र नै खारेज भइसकेको छ ।
विभागले गरेको कारबाहीमा बजारमा गइसकेको ओपिसी ४३ ग्रेड ब्याचको मारुती सिमेन्ट फिर्ता गर्न पनि निर्देशन दिइएको थियो । गुणस्तर चिह्न प्राप्त इजाजतपत्र खारेज गरिएको र १ मंसिरदेखि १५ दिन म्याद दिएर मारुती सिमेन्ट कम्पनीलाई स्पष्टीकरणको आदेश दिइएको भए पनि कुनै पनि सिमेन्ट बजारबाट फिर्ता ल्याएन । कम्पनीले विभागबाट भएको कारबाहीलाई लत्याउँदै अवैध कारोबार गर्दै आएको छ ।
कारबाही प्रक्रिया अगाडि बढाएको भनेको विभाग अहिले उल्टै मारुती सिमेन्टको बचाउमा उत्रिएको छ । विभागको लाचारीपनका कारण इजाजतपत्र नै रद्ध गरिएको मारुती सिमेन्टले ‘देशको नम्बर एक सिमेन्ट कम्पनी’ भन्दै प्रचार गर्नु उपभोक्ताको अपमान र ठूलो आपत्तिको विषय भएको उपभोक्ता अधिकारवादीहरूको भनाइ छ । कम्पनीले ठूला–ठूला सरकारी परियोजना, अस्पताल, विद्यालय, पुल, अपार्टमेन्ट, रेल्वे प्रोजेक्ट, टावर, सैनिक हेडक्वार्टर, होटल, महत्वपूर्ण भवनलगायत बनाएको संरचनामा मारुती सिमेन्ट प्रयोग गरिएको भन्दै विज्ञापन गर्दै आएको छ । यसबीचमा उल्टै ‘मुलुककै नम्बर एक सिमेन्ट कम्पनी’ भएको दाबी गर्नुले सरकारी कारबाहीको हैसियतलाई उजागर गरिदिएको छ ।
सो कम्पनीले भ्रामक विज्ञापन गर्दै ‘समृद्ध नेपालको निर्माणमा १५ वर्षदेखि समर्पित रहेको’ र ‘नेपालको भरोसा नै मारुती सिमेन्ट’ भनी भ्रम फैलाउँदै आएको छ । तर, गुणस्तर कायम नगरेको भन्दै १५ वर्षको अन्तरालमा मारुती सिमेन्ट दोस्रोपटक कारबाहीमा परेको छ । पहिलोपटक ०७६ असारमा नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै उसलाई कारबाही गरेको थियो ।
त्यसबेला अधिकतम् ५ प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा त्योभन्दा बढी भएकाले सो सिमेन्ट गुणस्तरहीन भएको भन्दै कारबाही गरिएको थियो । पछिल्लो पटक भने मारुती सिमेन्टमा संकुचित शक्ति (एमपिए) ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएपछि सिमेन्ट दोस्रोपटक गुणस्तरहीन ठहर भएको हो । मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड ब्याचमा कमजोर गुणस्तर देखिएको प्रमाणित भइसकेको छ । गुणस्तरहीन सिमेन्टको बिक्री तथा भ्रामक प्रचार गरेर सर्वसाधारणलाई झुक्याउँदै आएको मारुती सिमेन्टमाथिको कारबाहीबारे विभागका कर्मचारी पनि सो विषयमा बोल्न चाहँदैनन् ।
सिमेन्टको गुणस्तर कमजोर भएको भन्दै आफैँले कारबाही प्रक्रिया अगाडि बढाए पनि मारुती सिमेन्टलाई स्पष्टीकरण पेस गर्नका लागि दिइएको म्याद सकिएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि कारबाही प्रक्रिया अगाडि बढाउन विभागले चाहेको छैन । मारुती सिमेन्टको कारबाही प्रक्रियाबारे विभागमा सम्र्पक गर्दा अहिले आधिकारिक व्यक्ति नभएकाले सो बारे कस्तो कारबाही भयो भन्नेबारे केही भन्न नसकिने जवाफ कर्मचारीले दिएका छन् । विभागका प्रवक्ता दिनानाथ मिश्रसँग सो कम्पनीको कारबाहीको बारेमा प्रश्न गर्दा अनुसन्धान भइरहेको र आफू कार्यालय बाहिर रहेको भन्दै फोन राखिदिँदै आएका छन् । विज्ञापन बोर्डले भने मारुती सिमेन्टले सञ्चारमाध्यमहरूमा विज्ञापन प्रकाशन तथा प्रशारण गर्न कानुनीरूपमा नपाउने बताउँदै आएको छ ।