
काठमाडौं – मुलुकको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भुक्तानी अवस्था एक खर्ब ९५ अर्ब एक करोड घाटामा पुगेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा रु एक खर्ब छ अर्ब ४८ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालु आवमा घाटामा रहेको छ ।
केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार मुलुकको चालु खाता पहिलो पाँच महिनामा तीन खर्ब ६९ करोडले घाटामा रहेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु २३ अर्बले घाटामा थियो । सार्वजनिक तथ्याङ्कानुसार भुक्तानी सन्तुलनको अवस्थाका साथै विदेशी विनिमय सञ्चिति पनि घटेको छ । चालु आवको सुरुआतमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबरको कूल विदेशी विनिमय सञ्चिति पाँच महिनाको अवधिमा १३ दशमलव दुई प्रतिशतले घटेर रु १२ खर्ब १४ अर्ब तीन करोडमा सीमित भएको छ ।
५ महिनामा व्यापार घाटा सात खर्ब ३५ अर्ब
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणानुसार मुलुकको पहिलो पाँच महिनामा कूल वस्तु व्यापार घाटा ५४ दशमलव सात प्रतिशतले बढेर रु सात खर्ब ३५ अर्ब ४९ करोड पुगेको छ । मङ्सिर मसान्तसम्म वस्तु निर्यात १०५ दशमलव दुई प्रतिशतले बढेर रु एक खर्ब दुई अर्ब ९२ करोड पुगेको छ भने आयात ५९ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु आठ खर्ब ३८ अर्ब ४१ करोड पुगेको छ ।
नेपालबाट निर्यात हुने वस्तुमा पाम तेल, सोयाबिन तेल, पिना, धागो तथा जुटका सामानलगायत प्रमुख रहेको देखिन्छ भने आयातमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, कच्चा सोयाविन तेललगायत छन् ।
मूल्य वृद्धिदर लक्ष्यभन्दा बढी
सार्वजनिक विवरणानुसार चालु आवको मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) सात दशमलव ११ प्रतिशत रहेको छ । राष्ट्रबैंकले चालु आवमा मूल्य वृद्धिदर छ दशमलव पाँच प्रतिशतभित्रै राख्ने लक्ष्य राखे पनि समीक्षा अवधिमा वार्षिक लक्ष्यभन्दा शून्य दशमलव ६१ प्रतिशत विन्दुले मुद्रास्फीति बढेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति दुई दशमलव ९३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ६७ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव २५ प्रतिशत रहेको छ ।
त्यस्तै सार्वजनिक तथ्याङ्कानुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप एक दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप छ दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा यो वर्षको मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १५ दशमलव नौ प्रतिशतले बढेको छ । त्यस्तै सार्वजनिक विवरणानुसार आवको पहिलो पाँच महिनामा सङ्घीय सरकारको खर्च रु तीन खर्ब ८७ अर्ब तीन करोड र राजस्व परिचालन रु चार खर्ब १२ अर्ब ४० करोड छ ।
तीन खर्ब ८८ अर्ब विप्रेषण
प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको छ । उक्त अवधिमा कूल रु तीन खर्ब ८८ अर्ब ५८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्यरूपमा वृद्धि भई एक लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु ४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।