

काठमाडौं । पर्सा जिल्लामा रहेको इन्टरनेसनल सिमेन्ट प्रालिले उत्पादन गर्दै आएको ओम सिमेन्ट गुणस्तरहीन भएसँगै सम्बन्धित निकायमा कारबाही गर्नु÷गराउनु भन्दै दिएको निर्देशन अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन । आमजनताको ज्यानमाथि नै खेलबाड गरी गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर बजारमा खुला रूपमा बिक्रीका लागि पठाउँदै आए पनि पछिल्लो समयमा सो उद्योगमाथि कुनै प्रकारको अनुगमन तथा अनुसन्धान सरकारले गरेको छैन ।
यस कम्पनीले उत्पादन गर्ने सिमेन्ट कमसल र मिसावटयुक्त हुनाले त्यसका उपभोक्ताहरूको ज्यान जोखिममा पर्ने भन्दै तत्काल सो कार्य रोक्नसमेत पत्रचार गरेको थियो । लगातार गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर बिक्री वितरण गरेको पाइएपछि दुई वर्षअगाडि उद्योग मन्त्रालयले सो उद्योगको गुणस्तर चिह्न (एनएस) समेत खारेज गरेको थियो । उक्त समयमा सिमेन्ट उद्योगका सञ्चालक आनन्द अग्रवालले राजनीतिक पहुँचका आधारमा मन्त्रालयमा सेटिङ मिलाएपछि अहिलेसम्म बिनापरीक्षण सिमेन्ट उत्पादन गरेर बिक्री गर्दै आएको छ ।
तत्कालीन उद्योगमन्त्री मातृका यादवले सो उद्योगले पाएको गुणस्तर चिह्नसमेत खारेज गरेका थिए । मन्त्रालयले ओम ब्रान्डको सिमेन्ट बिक्री वितरणमा बन्देज लगाउने गरी गुणस्तर चिह्न खारेज गर्न निर्देशन दिएको थियो । सिमेन्ट उद्योगका सञ्चालक अग्रवालले रणनीति अपनाएर नेपाल गुणस्तर तथा नापतौल विभागको कारबाहीको अवज्ञा गर्दै आएका छन् । उद्योग मन्त्रालयअन्तर्गतको नेपाल नापतौल तथा गुणस्तर विभागको कारबाहीका बाबजुत पनि ओम सिमेन्टले ‘एउटा मजबुतीको सुरुवात’ भन्ने नारा दिएर बजारमा पठाएको छ ।
नेपाल गुणस्तर (प्रमाण चिह्न) नियमावली ०४० को नियम (१६) बमोजिम विभागले उक्त उद्योगलाई कारबाही गरेको जनाए पनि उद्योगले उत्पादन भने रोकेको छैन । ओम सिमेन्ट उत्पादन र बिक्री वितरण स्थगित गर्न निर्देशन दिएको भए तापनि निर्देशनको पालना भएको नपाएपछि विभागले इजाजतपत्र नै रद्ध गरेको थियो । इन्टरनेसनल सिमेन्ट प्रालिले ओपिसी र पिपिसी भन्दै गुणस्तहीन सिमेन्ट उत्पादन गरेर उपभोक्तामाथि चरम ठगी गरिरहेको छ । यस उद्योगले गुणस्तर तथा नापतौल विभागको निर्देशनको ठाडो अवज्ञा गरेको आरोप लाग्दै आएको छ । गैरकानुनी रूपमा आङ्खनो उत्पादन र बिक्री वितरण जारी राखेको उद्योगका सञ्चालक अग्रवाल पुनः इजाजत दिलाउन दलीय शक्तिकेन्द्रमा पुगेका छन् ।
नापतौल विभागको निर्देशनविपरीत सिमेन्ट उत्पादन र बिक्री वितरण निरन्तर रहेको र आमउपभोक्ताको जीवनमाथि चरम खेलबाड गरेको गुनासो बढेपछि विभागले भने थप कारबाहीका लागि कुनै प्रक्रिया अगाडि बढाएको छैन । इजाजत रद्ध भइसकेको अवस्थामा सो कम्पनीले उत्पादन गर्न पाउँदैन । तर, अटेर गरेर उत्पादन गरिरहेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तत्कालीन समयमा चार वटा सिमेन्टको नेपाल गुणस्तर चिह्न (एनएस) रद्ध गरेको थियो ।
विशाल सिमेन्ट इ. प्रालि रूपन्देही, इन्टरनेसनल सिमेन्ट प्रालि पर्सा, आरएमसी सिमेन्ट प्रालि बारा, हिमालयज सिमेन्ट प्रालि झापाको एनएस चिह्न रद्ध गरेको थियो । विभागका अनुसार एमजिओ ५ प्रतिशत हुनु पर्नेमा इन्टरनेसनल सिमेन्टको ओपिसी ब्रान्डमा ६ प्रतिशत एमजिओ पाइएको छ । यो सिमेन्टमा (इन्स्लोबल रेसिड्यू) आइआरको मात्रा पनि ४ दशमलनव ९ प्रतिशत पाइएको छ । आइआरको मापदण्ड दुई प्रतिशत हुनुपर्नेमा मापदण्डभन्दा बढी रहेको परीक्षणबाट खुलेको थियो ।