

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् । अर्थमन्त्रालयमा सोमबार आयोजित चालु आवको हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई उक्त आग्रह गरेका हुन् ।
आवश्यक परेको समयमा आफू सधैँ सहयोग गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री शर्माले जसरी पनि खर्च गर्न आग्रह गरे । ‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने । मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपाय खोज्ने उल्लेख गर्दै उनले जसरी पनि खर्च बढाउन आग्रह गरे । ठूला योजनामा स्थानीय तह र स्थानीयवासीलाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । ठूला योजनामा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने मन्त्री शर्माको भनाइ थियो । विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता उनले औँल्याए । फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै मन्त्री शर्माले डिजिटल माध्यममा लैजानुपर्नेमा जोड दिए ।
‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई÷चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उनले भने, ‘ यसलाई डिजिटल माध्यममा लैजानुपर्यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृत गर्ने हुनुपर्यो ।’ पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत बराबर भएको छ । समग्रमा हालसम्ममा २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ ।
डलर खाता खोल्न एनआरएनलाई आग्रह
अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले एनआरएनले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए । ‘तपाईँहरूले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईँहरूलाई पनि फाइदा पुग्ने छ ।’
अर्थमन्त्री शर्माले सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाइरहेको बताए । नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न वर्षेनी अर्बौँ डलर लगानी आवश्यक पर्ने र त्यसका लागि लगानीकर्तालाई सेवा सुविधा दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमै यो नियम ल्याइएको बताए । उनले यसअघि रहेको १० हजार डलरलाई घटाएर पाँच हजार डलर पुर्याएको, दुई वर्षलाई घटाएर एक वर्ष गरेको, केही बैंकहरूले विदेशी मुद्रामा खाता खोल्न सुरु गरिसकेको र यो प्रावधान विदेशमा हुर्किरहेकाले दोस्रो पुस्तलाई नेपालसँग जोड्ने माध्यम बन्ने आशा पनि व्यक्त गरे ।
अर्थसचिव मधु मरासिनीले यसभन्दा पहिला पनि डलरमा खाता खोल्न पाइन्थ्यो, तर यसपटक सरकारले त्यसलाई सहजीकरण गरेको बताए । ‘तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट खाता खोल्न पाइन्छ, फिर्ता लग्न पनि पाइन्छ, पैसासँगै भावना र माया पनि जोडिन्छ । तपाईँहरूले आर्जन गरेको ज्ञान, सीप, क्षमता मातृभूमिको हितमा लगाउन पनि वातावरण निर्माण गर्छ भन्ने हाम्रो अपेक्षा छ । यसरी जम्मा भएको रकमले नेपालमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने, स्वदेशी उत्पादनका लागि लगानी बढाउन उपयोग गर्ने हाम्रो ध्येय छ,’ देशलाई माया गर्दा बचत सुरक्षित हुने भएकाले व्यापक सहभागिताका लागि अनुरोध गरे ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले ल्याएको नयाँ सुविधाका लागि सरकारलाई धन्यवाद दिँदै यसले संसारभरका नेपालीलाई नेपालमा खाता खोलेर आफूसँग रहेको बचत नेपाल भित्र्याउन सहज हुने विश्वास व्यक्त गरे । उनले संघले स्थापनाकालदेखि नै नेपालको समृद्धि र विकासका लागि साझेदारको रूपमा काम गर्दै आएको स्मरण गरे । एनआरएनए युके आयोजक रहेको उक्त कार्यक्रममा एनआरएनए एनसिसी अमेरिका, अष्ट्रिया, अष्ट्रेलिया, कतार, क्यानडा, स्पेन, दक्षिण अफ्रिका र दक्षिण कोरिया सहआयोजक थिए ।