

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा पनि कर छली प्रकरणमा मुछिएका छन् । उनले करोडौँ रूपैयाँको कर छली गरेको आरोप लागेको छ । उनीमाथि विभिन्न शक्ति र पदकै आडमा नक्कली बिलबिजकको प्रयोग गरी कर छली गरेको आरोप लागेको हो ।
कर छलीबाट बच्नकै लागि गोल्छाले करोडौँ रूपैयाँ खर्च गरेर नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व हत्याएको समेत आरोप लागेको छ । गोल्छाले ७६ करोड रूपैयाँभन्दा बढी रकम कर छली गरेको प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले छानबिन गरी कारबाहीको मागसमेत राखेका थिए । तर, सांसद सुुवालले राखेको सो मागलाई भने अहिलेसम्म सम्बोधन गरिएको छैन ।
अध्यक्ष गोल्छाले ७६ करोड मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको आरोप लागेको छ । स्रोत नखुलेको विदेशी कम्पनीमा गोल्छाले लगानी गरेकोसमेत आरोप लागेको छ । गोल्छाको सम्पत्ति शुद्धीकरणद्वारा छानबिन गरिनुपर्ने आवाज पनि उठेको छ । राष्ट्रलाई तिर्नुपर्ने कर नतिरेको भन्दै सांसद सुवालले गोल्छामाथि कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षणसमेत गराएका थिए । राज्यलाई तिर्ने कर व्यापार–व्यवसायको कारोबारले निर्धारण गर्ने गर्छ भने कारोबारको निर्धारण जारी बिल बिजकबाट हुने गर्दछ ।
जब बिलबिजक जारीमा स्वच्छाचारी हुन्छ । त्यसको सिधा असर राज्यको ढुकुटीमा पर्दैै आएको छ । नियमित कारोबारमा जारी नभएका बिल विजकहरू कर छली गर्ने प्रयोजनार्थ कमिसनमा किनबेचसमेत गरेको आरोप उनीमाथि लागेको छ । बिजक रकमको तीनदेखि पाँच प्रतिशत कमिसनमा जस्तोसुकै वस्तु तथा सेवाको कर बिजकहरू खरिद बिक्री हुने गरेको पाइएको छ । त्यस्तो बिजकमार्फत गरिएको कारोबारलाई नियमानुसार भुक्तानी गरेर ‘लिगलाइज’ गर्न सरकारले सकेको छैन ।
व्यापारीले बिजक बिक्रेताले क्रेताको नामबाट सिधै आफ्नो खातामा नगद जम्मा गर्ने र सो रकमलाई बिजक क्रेताबाट जम्मा गरिदिएको भनी आम्दानी बुक गर्ने अथवा ५० हजारभन्दा कमको पटक–पटक भुक्तानी देखाएर बिल बराबरको रकमलाई चुक्ता गरिदिने यी र यस्तै तरिका अपनाएर नक्कली बिजकको अवैध कारोबारलाई वैधता दिँदै आएकोसमेत अध्यक्ष गोल्छामाथि आरोप लागेको छ । यस सम्बन्धमा पटक–पटक अध्यक्ष गोल्छालाई टेलिफोनमा सम्र्पक गर्दा उनले फोन नै उठाएनन् ।