
काभ्रेपलाञ्चोक– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा संकट समाधानका लागि सौर्य विद्युत् सहयोगी हुने हुनाले सौर्य उर्जालाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।
नेपाल सौर्य विद्युत् उत्पादक संघको २१औँ वार्षिक साधारणसभामा मन्त्री भुसालले सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र समय कम लाग्ने भएकाले सौर्य ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गर्ने सरकारले नीति लिएको बताईन् ।
उनले हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति सरकारले लिएकोले विद्युत खपत गर्ने ठूला उद्योग स्थापनार्थ प्रोत्साहन गर्ने र विद्युतीय सवारीसाधनको प्रवद्र्धनदेखि अगाडि बढाएको बताईन् । उनले पछिल्लो समय ‘वान शन, वान वल्र्ड, वान ग्रिड’ अवधारणाको विकास भएको जनाईन् । उनले नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोत भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गनुपर्ने र व्यवस्थापनको चुनौती बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा जोड दिईन् ।
मन्त्री भुसालले परम्परागत ऊर्जा प्रयोगकै कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्ने बताईन् । नवीकरणीय ऊर्जा प्रवद्र्धनमा विश्व नै लागेको बताउँदै उनले नेपालले पनि त्यसको प्रयोगको नीतिलाई अवलम्बन गर्दै जानुपर्ने आवश्यकता भएको बताईन् । सरकारले ऊर्जा सुरक्षाको दृष्टिकोणबाट मिश्रित ऊर्जा प्रणालीको नीति अपनाएको जानकारी दिँदै उहाँले दश प्रतिशत वैकल्पिक ऊर्जा सामेल गर्ने लक्ष्य लिइएको बताईन् । हाल ऊर्जा प्रणालीमा करिब दुई हजार १०० मेगावाट विद्युत् जडित क्षमता छ ।
मन्त्री भुसालको दश प्रतिशतको नीतिले करिब २०० मेगावाट सौर्य विद्युत् जडान गर्न सकिने विश्वास छ । हाल ११० मेगावाट बराबरका सौर्य आयोजनाले विद्युत् खरिदबिक्री सम्झौता(पिपिए) गरिसकेका छन् । तीमध्ये करिब ४० मेगावाट सञ्चालमा आइसकेको छ । सरकारले घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली र सौर्य चुलो तथा सौर्य ड्रायरजस्ता सौर्य तापीय प्रणालीको प्रवद्र्धन गर्दै आइरहेको उल्लेख गर्दै मन्त्री भुसालले ऊर्जामा पहुँच पु¥याउन र जनताको जीवनस्तरमाथि उठाउनका सौर्य ऊर्जाको विकासमा विशेष ध्यान दिइने बताईन् ।
मुलुकका ६ प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना विद्युत् प्राधिकरणमार्फत अगाडि बढाउन लागिएको जानकारी दिँदै उनले ऊर्जाको गुणस्तर र सुरक्षामा महत्वपूर्ण योगदान पुग्नेगरी त्यस्ता आयोजनाको पिपिएलाई प्राथमिकतामा राखेको बताईन् । सौर्य विद्युत् उत्पादकले आफ्नो उपभोक्तालाई गुणस्तरीय विद्युत् सुविधा उपलब्ध गराउने र विद्युतीय सुरक्षाका विषयमा जनचेता फैलाउनेजस्ता जनताका आधारभूत विषयलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।