

काठमाडौं– निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूको छाता संगठनको रूपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघलाई आफ्नो स्वार्थअनुसार चलाउने गैरकानुनी खेल खेलिएका कारण अहिले चर्को विवादमा मुछिन पुगेको छ । कहिले उत्पादनको प्रमाणपत्र त कहिले विधान संशोधनका विवादमा फस्दै आएको महासंघभित्र केही पूर्वअध्यक्षको व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्दा महासंघ विवादमा फसेको हो ।
पछिल्लो समयमा महासंघको विधान संशोधनको विषय पेचिलो बन्दै गएको छ । पूर्वअध्यक्षहरूको स्वार्थअनुसार विधान संशोधनको विषयलाई पदाधिकारीको बैठकमा पेस गरेको भए पनि सो संशोधनको विषयलाई पदाधिकारीबाटै फिर्ता पठाएपछि अहिले महासंघमा विवाद उत्पन्न भएको छ । महासंघको पदाधिकारी बैठकबाट अनुमोदन नगरी विधान फिर्ता पठाएको छ । विधान संशोधन समितिका सभापति एवं पूर्वअध्यक्ष कुशकुमार जोशी र विधान संशोधन समितिका सहसभापति एवं पूर्वअध्यक्ष पशुपति मुरारकालगायत अन्य केहीले विधान संशोधन गरिनु पर्ने भन्दै विधान संशोधनको मस्यौदा अध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गरेका थिए ।
अध्यक्ष गोल्छाले बुधबार कार्यसमिति बैठकमा बिनाएजेन्डा उक्त मस्यौदाको बारेमा जानकारी दिँदै पेस गर्न लाग्दा बैठकमै विवाद सुरु भएको थियो । अध्यक्ष गोल्छाले अन्य सदस्यहरूलाई पेल्दै उक्त प्रस्ताव राखेलगत्तै महासंघको बहुमत कार्यसमितिले सो मस्यौदा पदाधिकारी बैठकबाट पारित भएर आउनुपर्ने भन्दै त्यसभन्दा अघि कार्यसमितिमा बुझाउन वा छलफलका लागि अघि बढाउन नमिल्ने भन्दै विरोध गरेपछि गोल्छा पछि हटेको स्रोतको दाबी छ ।
महासंघमा पदाधिकारी बैठकमा अध्यक्ष गोल्छाबाहेक सबै विधान संशोधनको विरोधमा रहेका छन् । धोका दिँदै महासंघको गत वर्ष सम्पन्न निर्वाचनबाट अध्यक्ष गोल्छाले जितेपछि उनी निर्वाचनपछि भने एक्लो हुन पुगेका छन् । गोल्छा एक्लो भएपछि निवर्तमान अध्यक्ष भवानी राणा, जिल्ला तथा नगर अध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र कोषध्यक्ष शकुन्तलाल हिराचनलाई साथमा लिएर अहिले महासंघकै इतिहाससमेत मेटाउने तरिकाले अघि बढेको आरोप सदस्यहरूले लगाएका छन् ।
पछिल्लो समय आफ्नो कार्यकालभित्र नै महासंघ पूर्वअध्यक्ष एवं विधान संशोधन समितिका सहसभापति मुरारका, पूर्वअध्यक्ष जोशी, पूर्वअध्यक्ष राणासँग मिलेर विधान संशोधन गरी आफू अनुकूल व्यक्तिलाई आगामी कार्यकालको अध्यक्ष बनाउने रणनीतिका साथ लागिपरेको आरोपसमेत गोल्छामाथि लागेको छ । पूर्वअध्यक्ष मुरारका, जोशी, राणालगायत अन्यको स्वार्थमा विधान संशोधनको मस्यौदामा ३ कार्यकाल कार्यसमिति सदस्य भएको व्यक्ति मात्रै उपाध्यक्षमा उठ्न पाउने, वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरिने, अबको चुनावमा बहालवाला उपाध्यक्षहरू कि त पुनः उपाध्यक्ष पदमै चुनाव उठ्नु पर्ने अन्यथा महासंघबाट बाहिरिनु पर्नेजस्ता प्रावधान समेटिएको छ ।
महासंघको अध्यक्ष गोल्छा पूर्वअध्यक्ष मुरारकाको स्वार्थमा चल्दा उनको समर्थनमा रहेको सम्पूर्ण पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पक्ष अर्थात् अहिलेको अवस्थामा विधान संशोधन गर्न नहुने पक्षमा देखिएका छन् । महासंघ पूर्वअध्यक्ष मुरारकाले निहित स्वार्थमा विधान संशोधन प्रक्रिया अघि बढाएकै कारण पदाधिकारीमा बहुमत रहेका अध्यक्ष गोल्छा एक्लिन पुगेका हुन् । महासंघमा हालको व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ । अध्यक्ष गोल्छा र विशिष्ट सदस्य पशुपति मुरारका भने अध्यक्षका लागि प्रत्यक्ष निर्वाचनको पक्षमा रहेका छन् । पदाधिकारी बैठकले नै विधान संशोधनका विषयमा महासंघको संरचना परिवर्तनको आवश्यकता नदेखेकाले संशोधन नगर्ने निर्णय गरिसकेको छ । अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्ने प्रावधानको पक्षमा रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठलगायत कतिपय पूर्वअध्यक्षहरूसमेत रहेका छन् ।
महासंघको विधान संशोधन प्रतिवदेनसँगै पदाधिकारी तथा व्यवसायीहरूमा धु्रवीकरण सुुरु भइसकेको छ । महासंघ नितान्त व्यवसायी र सम्वद्ध क्षेत्रको हकहितका लागि आवाज उठाउने संस्था भए पनि पछिल्लो समय राजनीतिक आस्था र निकटता बढ्दै गएको आरोप लागेको छ । यसअघि बैठकमा विशेष साधारणसभा बोलाउने र विधान संशोधन गर्ने विषयले प्राथमिकता पाएको थियो । तर, निवर्तमान अध्यक्ष मुरारका र विधान संशोधन समितिका संयोजक तथा पूर्वअध्यक्ष चण्डीराज ढकालबीचको टकरावले बैठक अनिर्णित बन्न पुगेको थियो । कुनै पनि हालतमा विधान संशोधन गर्ने र गोल्छालाई अध्यक्ष हुनबाट रोक्ने बाटोमा लागेका ढकाल र मुरारकाबीच विधान कार्यान्यवन गर्ने विषयमा विवाद भएको थियो ।
महासंघ विधानको दफा ६६ को उपदफा १ (क) र १ (ख) मा विधान संशोधनको प्रस्ताव साधारणसभामा पेस गर्नुअगावै कार्यकारिणी समितिबाट प्रस्तुत हुने संशोधनको प्रस्ताव रायसहित साधारणसभा सुरु हुनुभन्दा तीन महिनाअगाडि सदस्यहरूबीच प्रस्तुत गर्नु भनिएको छ । उपदफा १ (ख) मा संशोधन प्रस्ताव ४ महिनाअगावै कार्यकारिणी समितिमा छलफलमा ल्याउनु पर्ने उल्लेख छ । महासंघका पूर्वअध्यक्ष ढकाल महासंघमा निर्विरोध अध्यक्ष भएका हुन् । दोस्रो कार्यकालका लागि जोशीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले हार व्यहोरेका थिए ।