

काठमाडौं– शक्ति र पैसाकै आडमा सरकारी कर्मचारीलाई हातमा लिई विशाल ग्रुपले उपभोक्तामाथि ठगीधन्दा जारी राखेको पाइएको छ । आफूलाई व्यावसायिक उच्च घरानाका रूपमा परिचय दिँदै आएको विशाल ग्रुपबाट बिक्री तथा वितरित विभिन्न खाद्य वस्तुहरू गुणस्तरहीन भएको र उपभोग मिति सकिएको वस्तुसमेत पुनः नयाँ मिति राखेर बजारमा पठाउने गरेको प्रमाणित भइसकेको छ । सरकारी निकायले उक्त कसूरमा दोषी ठहर गरेर कारबाही प्रक्रिया अघि बढाउँदा पनि विशाल ग्रुपले गुणस्तरहीन खाद्य सामग्री बजारमा पठाउने क्रमलाई रोकेको छैन । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने त्यस्ता सामग्री रोक्नुको सट्टा अझ तीव्र रूपमा त्यस्ता सामग्री बजारमा पठाउने गरेको भेटिएको हो ।
गत वर्ष ०७७ असोजमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले कलंकी र बाफलका दुई गोदाममा छापा मारी पक्राउ गरेका व्यक्तिको बयानका आधारमा सकिएको मिति मेटाई त्यसमा नयाँ प्रयोग मिति ‘रिलेबलिङ’ गरी अवैध अभियान चलाउँदै आएको प्रमाणित भएको थियो । सिआइबीले त्यसपछि सम्बन्धित सरकारी निकायमा कारबाहीका लागि पठाएको थियो ।
तर, सो ग्रुपमाथि सामान्य कारबाही गरी छाडिदिएकै कारण प्रयोग म्याद सकिएका सामानको आयात गरी नयाँ प्रयोग मिति राखेर बिक्री वितरणको अवैधधन्दा सो ग्रुपले अझै जारी राखेको पाइएको छ । विशाल ग्रुपअन्तर्गतका दुई वितरक तथा होलसेल कम्पनीहरू ‘आयान डिस्टिब्युटर्स प्रालि’ र ‘अमेजन डिस्टिब्युटर्स प्रालि’ ले अहिले पनि म्याद नाघेका न्यून गुणस्तरका उपभोग्य वस्तुहरूमा पहिला उल्लेख भएको लेबल मेटाई ब्याच नम्बर, उत्पादन मिति, उपभोग्य मिति तथा मूल्यजस्ता नयाँ लेबल लगाई उच्च गुणस्तरका वस्तु भनी भ्रामक प्रचार गरेर उपभोक्तालाई झुक्याएर बिक्री वितरण गर्दै आएको स्रोतको दाबी छ ।
आयान डिस्टिब्युटरका सञ्चालक पुष्पादेवी अग्रवालसहित रोनक बोथरा, मुन्ना ठाकुर, पप्पुकुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी र विक्रम गुप्तालाई गत वर्ष नियन्त्रणमा लिई लिएको बयानपछि मुद्दाको फैसला गरेको थियो । उपभोक्ता हित संरक्षण ऐन, ०७५ को व्यवस्थाअनुसार बाणिज्य विभागले आयान डिस्टिब्युटर्सका सञ्चालक पुष्पादेवी अग्रवाललाई १ करोड धरौटी माग गर्ने, उक्त कम्पनीका म्यानेजर रोनक बोथरालाई एक वर्ष जेल सजाय गर्ने, ५ जना कामदारलाई ५ लाख धरौटी माग गर्ने र एक जना अर्का प्रतिवादीलाई पक्राउ गर्न आदेश दिएको थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीको लिंक मार्गस्थित बाबुकृष्ण सापकोटाको तीनतले घरमा छापा मार्र्दै सो अवैधधन्दा चलाउँदै आएको प्रमाणित हुँदासमेत कडा कारबाही नगरी उन्मुक्ति दिएकै कारण सो धन्दा रोकिनेभन्दा पनि झन् मौलाएको छ । भारतीय नागरिक बोथराले भाडामा लिई प्रयोग गरेको उक्त घरमा म्याद नाघेका उपभोग्य वस्तुहरू थुपार्ने गोदाम रहेको, गोदाममा म्याद नाघेका उपभोग्य वस्तुहरू राखी रिलेबलिङ गरिँदै आएको छ ।
आयान डिस्टिब्युटर प्रालिको नाममा रहेको उक्त गोदाममा अरु कम्पनीहरूको समेत नयाँ मिति राखी सामान ओसार प्रसारसमेत अहिले गर्दै आएको आरोप लागेको छ । आयान डिस्टिब्युटर्सले टेङ पाउडर, स्निकर चक्लेटका कार्टुन, प्रिंगल्स आलु चिप्स, ओरियो बिस्कुट, बर्नभिटा हर्लिक्सलगायत अन्य खाद्य वस्तुमा प्रयोग मिति सकिएपछि पुनः नयाँ प्रयोग मिति राखी गुणस्तरहीन सामान बजार पठाउँदै आएको छ ।
आयान डिस्टिब्युटर्स प्रालि कम्पनी रजिस्ट्रारको कार्यालयमा पुष्पादेवी अग्रवालको नाममा दर्ता भएको छ । सो ग्रुपले बजारबाट म्याद सकिनै लागेका सामानहरू किनेर ल्याउने र नयाँ लेबल राखी बजारमा बिक्रीका लागि पठाउने कार्य गर्दै आएको छ । विशाल ग्रुपकै संलग्नतामा चकलेट, बिस्कुट, आलु चिप्सजस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको यसअघि नै पुष्टि भइसकेको छ । आयान डिष्ट्रिब्युटर स्थानीय वितरक रहेको र उसले सबै खाले खाद्य वस्तु तथा सामग्री विशाल समूहको युनाइटेड डिस्ट्रिब्युटर र अर्को लाइफ केयर इन्टरनेसनलबाट खरिद गर्दै आएको छ । स्नेकर्स, ओरियो बिस्कुट, हर्लिक्स, मार्स चक्लेट, किल्डे, बन्टी तथा मिल्की र प्रिंगल्सको नेपाल आयातकर्ता विशाल समूह रहेको र युनाइटेड डिस्ट्रिब्युटरले बजारमा यी सामान फैलाउने काम गर्ने गरेको पाइएको छ । युनाइटेड डिस्ट्रिब्युटर विशाल ग्रुपको भगिनी संस्था हो ।