

काठमाडौं– केएल दुगड ग्रुपअन्तर्गत सञ्चालनमा आएको सिमेन्ट कम्पनी पटक–पटक गुणस्तहीन भएको सरकारी निकायबाटै प्रमाणित हुँदासमेत सो समूहलाई अहिलेसम्म कारबाही गर्न सकेको छैन । ठूलो व्यापारिक घरानाका रूपमा प्रचार गर्दै आएको सो कम्पनीलाई न देशको कानुनले छुन्छ, न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नै अनुसन्धान गर्ने आँट देखाएको छ । कारबाही गर्ने सरकारी निकाय नै मौन बसेकै कारण अहिले एकातर्फ करोडौँ रूपैयाँ कर छली गर्दै आएको छ भने अर्कोतर्फ गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर आम उपभोक्ताहरूको घर, भवन र भौतिक संरचानासमेत ‘धराप’ बनाउँदै अकुत सम्पत्ति आर्जन गरेको आरोपसमेत लाग्दै आएको छ ।
लामो समयदेखि विभिन्न समयमा देश र जनतालाई ठगी गरिरहेको कम्पनी के.एल.दुगड ग्रुपको उत्पादन युनाइटेड सिमेन्टको ठगीको अर्को रूप सार्वजनिक भएको छ । यसअघि चुनढुंगा तस्करीमा समेत सामेल भएको युनाइटेड सिमेन्टले १५ बोरा सिमेन्ट किन्दा एक बोरा सिमेन्ट सित्तैमा भन्ने भ्रामक प्रचार गरेर उपभोक्ता ठगी गरेको थियो । युनाइटेड सिमेन्ट उद्योगले आङ्खना ग्राहकहरूलाई सकेसम्म बिल नदिई करोडौँ रूपैयाँ लुकाउँदै आएको स्रोतको दाबी छ । युनाइटेड सिमेन्ट बेच्ने विभिन्न ट्रेडर्स हाउसहरूबाट दैनिक करोडौँ रूपैयाँको कारोबार हुने गरेको, तर खरिदकर्तालाई सो कम्पनीले बिल दिने नगरेको गुनासो पीडित पक्षले गरेका छन् ।
उपभोक्ताबाट मूल्य अभिवृद्धि कर (भ्याट) समेत असुली गर्दै आएको सो कम्पनीले करोडौँ रूपैयाँ भ्याट छली गरेको अनुमान गरिएको छ । भ्याट बिल भनेर कोटेसन बिल दिने गरेको गुनासो पीडितहरूको रहेको छ । हजारौँ बोरा सिमेन्ट बेच्ने बिक्रेताले खुलेआम कानुनतः नै देखिने जसरी भ्याट छली गर्दै आएको छ । सो सिमेन्ट उद्योगले गर्ने गरेको यस्तो बदमासी लामो समयदेखि चल्दै आएको छ । कतिपय सिमेन्ट उद्योगहरूलाई त करमा अभ्यास गर्नेहरूले नै आइडिया दिएको पाइएको छ । युनाइटेड मात्र नभई अन्य सिमेन्ट उद्योगहरूले समेत कर छल्दै आएका छन् । अहिले सिमेन्ट र डन्डी उद्योगमा बढी मात्रामा कर छली हुने गरेको छ । ठेकेदार कम्पनीलाई बिल बेच्ने र प्रोफोमा इम्भोइसलाई भ्याट बिल भनेर ठगी गर्ने अधिकांश सिमेन्टका बिक्रेताहरूमध्ये युनाइटेड सिमेन्ट कम्पनीको बिक्रेता पहिलो नम्बरमा आउने गरेको छ ।
यसबारेमा युनाइटेड सिमेन्टमा सम्पर्क गर्दा सो बारे आधिकारिक रूपमा बोल्ने कोही पनि कार्यालयमा नभएको भन्दै फोन लाइन काटिदिने गरेको छ । युनाइटेड सिमेन्ट कम्पनीले आफूलाई हरेक निर्माणको धड्कन भएको भन्दै भ्रामक प्रचारबाजी गरेर ५६ लाख रूपैयाँभन्दा बढी राजस्व छली गर्दै आएको आरोपसमेत लागेको छ । सो कम्पनीले पैसा र पावरको आडमा सो अवैध धन्दा चलाउँदै आएको छ । सबैतिरको सेटिङमा उसले लुटधन्दा चलाएको आरोपसमेत लागेको छ । युनाइटेड सिमेन्टले केही सप्लायर्स कम्पनीका ठेकेदारको मिलेमतोमा कम्पनीले अवैध रूपमा चुनढुंगाको बिक्री गरिरहेकोसमेत खुलासा भएको छ ।
सो कम्पनीले खुकुराको दाना बनाउन प्रयोग हुने चुनढुंगा दाना उत्पादक कम्पनीहरूलाई नदिई सिमेन्ट उद्योगले केही सप्लायर्स कम्पनीका ठेकेदारको मिलेमतोमा तस्करी गरिरहेको आरोप लागेको छ । धादिङको नौबिसेस्थित कारखानाबाट मात्र चुनढुंगा लैजान पाउँछ । त्यसरी नै नौबिसेस्थित कारखानाबाट मात्र चुनढुंगा लैजाने सर्तमा लेलेको महादेव खोलामा उसले चुनढुंगा खानीसमेत सञ्चालन गरेको छ ।
तर, सम्झौताअनुसार सिमेन्ट कारखानाबाहेक अन्य ठाउँमा बिक्री गर्नसमेत नपाइने भए पनि सम्झौताविपरीत सिमेन्ट कम्पनीले चुनढुंगा धादिङसम्म पु¥याउने ठेक्का महत रोडा ढुंगा सप्लायर्स, सरस्वती कुण्ड र विनायक सप्लायर्सलाई दिएको छ । यसरी तस्करी धन्दा गरिरहेको सिमेन्टका कतिपय प्रतिनिधिले स्थानीय जनताहरूलाई दुःखसमेत दिँदै आएको गुनासो स्थानीयबासिन्दाको रहेको छ । उनीहरूले स्थानीयहरूलाई धम्क्याउने, थर्काउनेलगायत कामहरू गरिरहेको गुनासो गरेका छन् । यसअघि पनि युनाइटेड सिमेन्टका नाममा उजुरी परेको थियो । चोरी निकासी बढेपछि रोकथाम गर्न प्रधानमन्त्री कार्यालयमा १७ असोजमा पत्र पठाएको थियो । लगत्तै प्रधानमन्त्री कार्यालयले आवश्यक कारबाही अगाडि बढाउन निर्देशन दिए पनि सो निर्देशनअनुसार सरकारी कर्मचारीबाट कार्यान्वयन नहुँदा सो कम्पनीको अवैधधन्दाले तीव्रता पाएको हो ।
युनाइटेड सिमेन्टले ठूलो परिमाणको राजस्व छली गरेको भए पनि आन्तरिक राजस्व कार्यालय भने मौन बस्नु अर्थपूर्ण रहेको देखिन्छ । उसले अवैध रूपमा चुनढुंगाको तस्करी गरेपछि सरकारलाई दैनिक १५ लाख रूपैयाँभन्दा बढी राजस्व घाटा हुन पुगेको भए पनि सेटिङको भरमा राज्यलाई ठग्ने काम भइरहेको छ । यसरी लाखौँ घाटा हुँदा पनि आन्तरिक राजस्व कार्यालय भने सो विषयमा मौन बसेको छ ।
सो कम्पनीले आन्तरिक राजस्व कार्यालयमै सेटिङ गरेर सो अवैध धन्दा चलाउँदै आएको आरोपसमेत लागेको छ । देशलाई यसरी चरम घाटा गराएको सिमेन्टले आङ्खनो मनपरी नरोक्दा देश र जनता दुवैलाई घाटा लाग्दै आएको छ । सिमेन्टले खुलेआम यसरी गलतधन्दा चलाइरहँदा पनि सिमेन्ट उद्योगलाई कसैले कारबाही गर्न सकेको छैन ।
एकातर्फ गुणस्तहीन सिमेन्ट उत्पादन गरेको भन्दै कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको सोही कम्पनीमाथि कारबाही नगरिँदा नयाँ योजनासमेत सार्वजनिक गरेको छ । सिमेन्टको गुणस्तरमा कुनै पनि सुधार नगरेको सो कम्पनीले आगामी वर्षदेखि दैनिक एक हजार पाँच सय टन सिमेन्ट उत्पादन गर्ने भन्दै भ्रामक प्रचारसमेत गरेको छ । बजारमा आङ्खनो सिमेन्टको माग बढेको भन्दै भ्रामक प्रचार गरेर गोदाममा रहेको गुणस्तरहीन सिमेन्ट बिक्री गर्ने भित्री योजना रहेकोसमेत सोही कम्पनीका एक कर्मचारीले बताएका छन् । कम्पनीले चुनढुंगा खानी विस्तार गरेर सिमेन्ट उत्पादन प्लान्ट थप्ने भन्दै भ्रामक प्रचार गरेको छ । ०७२ सालमा धादिङ धुनेबेँसी नगरपालिका–९ मा प्लान्ट जडान गरेर सिमेन्ट उत्पादन सुरू गरेको कम्पनीले हाल करोडौँ रूपैयाँ कर भ्याट छलीको मुद्दासमेत रहेको छ । घराना व्यवसायी केएल दुगड ग्रुपको ६ अर्ब रूपैयाँको एकल लगानी रहेको दाबी गर्दै आएको छ । केएल दुगडले धारा तोरी तेल, ज्ञान चक्की आँटा तथा पाउरोटीलगायत समेत गुणस्तहीन उत्पादन गरेको भनेर पटक–पटक कारबाहीमा परेको कम्पनी हो ।
कम्पनीको चुनढुंगा खानी ललितपुरको लेलेमा रहेको छ । कम्पनीको ८० प्रतिशत उत्पादन काठमाडौंमा बिक्री हुने दाबी गरेको छ । यसबाहेक धादिङ, नुवाकोट, चितवन, पोखरा, दोलखा, सिन्धुलीलगायत वाग्मती प्रदेशभरि बिक्री गर्र्दै आएको छ । युनाइटेडले चार सय पचास डिलरमार्फत सोे सिमेन्ट बेच्दै आएको छ । कम्पनीको वार्षिक कारोबार ३ अर्ब रूपैयाँभन्दा बढी रहेको दाबी गर्नेले आयकर भने थोरै मात्र तिर्ने गरेको छ । यसबाट उसले आयकरसमेत छली गरेको पुष्टि हुने बताइन्छ ।