

काठमाडौं– भौतिक संरचना विकासको क्रममा मेरुदण्ड मानिने सिमेन्ट उद्योगहरू नेपाली बजारमा प्रशस्तै खुलेका छन् । हाल नेपालमा ४० लाख मेट्रिक टनभन्दा बढी सिमेन्ट खपत हुने अनुमान गरिएको छ । नेपालमा वार्षिक करिब १० करोड बोरा सिमेन्ट खपत हुने गरेको बताइँदै आएको छ । यसको मौका छोप्दै पछिल्लो समय नेपालमा उत्पादन भएका अधिकांश सिमेन्टहरू गुणस्तरहीन रहेको पाइएको छ । अहिले अर्घाखाँची, जगदम्बा, मारुती, अम्बे, अग्नि, बृज, सर्वोत्तम, शक्तिमान, शिवम्, युनाइटेड, सगरमाथा, गोयन्का, सिद्धार्थलगायत सिमेन्ट बजारमा बिक्री हुँदै आएका छन् ।
अधिकांश सिमेन्ट कम्पनीहरूले पछिल्ला अत्याधुनिक प्रविधिको प्लान्टबाट सिमेन्ट उत्पादन गरिरहेको दाबी गर्दै आए पनि सो भ्रामक प्रचार गरेर उपभोक्ता ठगी गर्ने कार्य हुँदै आएको पछिल्लो समयमा सरकारी निकायले गरेको अनुगमनबाट खुलेको छ । नेपाली बजारमा दुई किसिमको पिपिसी र ओपिसी सिमेन्ट बिक्री वितरण भइरहेको छ । सामान्यतया पिपिसी सिमेन्टको प्रयोग गरेर वाल लगाउने र प्लास्टर गर्ने काम भइरहेको छ भने ओपिसी सिमेन्टको प्रयोग पिलर र ढलानमा हुँदै आएको छ ।
अहिले अधिकांश सिमेन्ट कम्पनीहरूले पछिल्ला अत्याधुनिक प्रविधिको प्लान्टबाट सिमेन्ट उत्पादन गरिरहेको हुँदा सिमेन्टको गुणस्तरमा द्रूत गतिमा सुधार आएको भनिए पनि नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुसन्धानमा भने सो दाबी भ्रामक रहेको पुष्टि भएको छ । विभागका अनुसार भ्रामक विज्ञापन गरेर देश बनाउने भन्दै आएको सिमेन्ट ‘युनाइटेड’ र ‘मारुती’ सिमेन्ट प्रयोग गर्न नै नहुने गुणस्तहीन रहेको प्रमाणित हुँदा पनि सरकारले भने कारबाही नगरी बिक्री वितरण गर्न अनुमति दिइरहेको छ । ती कम्पनीहरूलाई कारबाही गर्नुको साटो सरकारले नै उन्मुक्ति दिने चाँजोपाँजो मिलाउन थालेको छ ।
सिमेन्टको गुणस्तर कायम हुन कच्चा पदार्थ अर्थात् चुनढुंगाको गुणस्तरले महत्व राख्छ । तर, मारुती र युनाइटेड सिमेन्टले प्रयोग गर्ने चुनढुंगा नै गुणस्तहीन रहेकोसमेत पाइएको छ । विशेषगरी नेपालमा नै क्लिंकर उत्पादन गर्ने र ठूलो मात्रामा सिमेन्ट उत्पादन गरेर बजारमा पठाउने सिमेन्ट उद्योगहरूको गुणस्तरमा एकरूपतासमेत रहेको छैन । एकातर्फ शक्ति र पैसाकै आडमा मारुती र युनाइटेडले गुणस्तहीन सिमेन्ट उत्पादन गरेर बिक्रीका लागि बजार पठाएसँगै सो सिमेन्टको प्रयोगबाट भौतिक संरचनासमेत कमजोर भई भत्किएकोसमेत आरोप लागेको छ ।
एकातर्फ गुणस्तहीन सिमेन्ट बजार पठाएर बिक्री गर्दै आएको युनाइटेड र मारुती सिमेन्ट उद्योगले भारी मात्रामा मूल्य अभिवृद्धि कर (भ्याट) छली प्रकरणमा समेत पटक–पटक मुछिएको कम्पनी हो । उपभोक्ताबाट भ्याटसमेत कटाएर शुल्क असुली गर्दै आएको मारुती सिमेन्ट उद्योग यसभन्दा अघि पनि नक्कली भ्याट बिलमार्फत कारोबार गरेको भन्दै कारबाहीमा परेको कम्पनी हो । ‘झूठो तथा नक्कली भ्याट बिजकबाट भएको कर छली सम्बन्धमा अध्ययन तथा छानबिन प्रतिवेदन, ०६७’ सार्वजनिक भएको प्रतिवेदनमा समेत मारुती सिमेन्टबाट करोडौँ रूपैयाँ भ्याट र कर छली गरेको उल्लेख छ ।
यस प्रक्रियाबाट निजी क्षेत्रको इमानदारीता समेत उदांगिएको छ । नक्कली फर्मसँगको झुठो कारोबार देखाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर छली गर्ने व्यावसायिक घरानाको सूचीमा मारुती र युनाइटेड सिमेन्ट उद्योगसमेत रहेको छ । करदाताको विवरण गोप्य राख्नुपर्ने आयकर ऐनको प्रावधान भन्दै अर्थ मन्त्रालयले भने सो प्रतिवेदन लुकाएर राखेको छ । भ्याट तथा आयकर छली गर्ने अधिकांश कम्पनी वार्षिक २५ करोड रूपैयाँभन्दा बढीको कारोबार गर्ने ठूला करदाता कार्यालयअन्तर्गतका पर्दछन् । अनुसन्धानबाट उक्त कम्पनीले नक्कली बिलबाट १५ करोड रूपैयाँभन्दा बढी भ्याट छली गरेको बताइन्छ ।