

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेका छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५३ अङ्कले उकालो लागेर दुई हजार ५२०.२३ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१० अङ्कले बढेर ४७७.३६ मा पुगेको छ । कूल २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर रु चार अर्ब ४९ करोड दुई लाख ६६ हजार ४१० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब ४३ अर्ब ५० करोड ७८ लाख ९० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्यो भने १० उपसमूहको शेयर भने उकालो लागेको छ । विकास बैंक ४९.१, जलविद्युत् १९.०९ र वित्त ४२.९८ अङ्कले घटे ।
यस्तै, बैंकिङ ३.९२, व्यापार ५.२२, होटल तथा पर्यटन १९.६१, निर्जीवन बीमा ३८१.९७, उत्पादन ६४.९६, अन्य १७.४१, लघुवित्त ४७.३, जीवन बीमा २०२.४८, सामूहकि लगानी कोष ०.०१ र लगानी ०.०६ अङ्कले उकालो लागेको छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड २४ लाख ८४ हजार ८३६ बराबरको कारोबार भयो । यस्तै, गुर्खाज फाइनान्स रु २० करोड ६८ लाख ४४ हजार १८६, अरुण भ्याली हाइड्रोपावर रु १४ करोड १० लाख १७ हजार ८२२, जीवन विकास लघुवित्त रु १३ करोड ५५ लाख ३८ हजार १४२ र अपि पावर कम्पनी रु १२ करोड ८५ लाख ४५ हजार ७७१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।
नेप्सेका अनुसार शिखर इन्स्योरेन्स ९.९७, बरुण हाइड्रोपावर ९.३१, जीवन विकास लघुवित्त ९.०७, नारायणी डेभलपमेन्ट बैंक ८.८७ र नेको इन्स्योरेन्सका लगानीकर्ताले ८.०२ प्रतिशतले कमाए । त्यस्तै, गुर्खाज फाइनान्स ६.७४, सामलिङ पावर ४.८०, सिन्धु विकास बैंक ४.४७, लक्ष्मी उन्नती कोष ३.७८ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक ३.७२ प्रतिशतले गुमाए ।
मध्य भोटेकोसीको शेयर सूचीकृत
मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनी र नेप्सेबीच आज प्रतिशेयर अङ्कित मूल्य रु १०० रहेको छ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकरण हुने सम्झौता भएको हो ।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्तालाई निष्काशन गरेको एक करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीलाई निष्काशन गरेको छ लाख कित्तालगायत विभिन्न गरी जम्मा ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।