

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले ललिता निवास प्रकरणको मुख्य आरोप रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ गरेको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा सुवेदी दम्पत्तिलाई बुधबार प्रहरीले उनीहरूमाथि अनुसन्धानका लागि हिरासतमा राख्न सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ ।
अदालतले सुवेदी दम्पत्तिलाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । सिआइबी प्रमुख धिरजप्रताप सिंहले सुवेदी दम्पत्तिलाई थुनामा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको बताए । ‘उहाँहरू लगायतमाथि सरकारी कागजात कीर्ते गरेको आरोपमा छानविन चलिरहेको छ, अनुसन्धानका क्रममा हामीले पक्राउ गरेका हौँ,’ उनले भने, ‘थप विवरण अनुसन्धानपछि खुल्दै जाला ।’
मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ । नक्कली कागजातका भरमा सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराएको र नक्कली मोही खडा गरेर जग्गा हत्याएको आरोपमा सुवेदीलाई सिआइबीले पक्राउ गरेको हो । उनीसँगै योजनाकार मानिएका शोभाकान्त ढकाल भने विशेष अदालतको आदेशमा थुनामा छन् । सुवेदीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । मुद्दा दायर भएपछि अदालतमा हाजिर नभएका उनी लुक्दै हिँडेका थिए ।