

काठमाडौं– गुणस्तरहीन सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्ने मारुती सिमेन्ट उद्योगलाई कानुनी कारबाहीबाट बचाउन सरकारी निकायभित्रै ‘सेटिङ’ प्रयास थालिएको छ । उद्योगले मापदण्डविपरीत न्यून गुणस्तरको सिमेन्ट उत्पादन गरेर बिक्री गरेको परीक्षणका क्रममा प्रमाणित भए पनि हालसम्म कानुनी कारबाही गरिएको छैन । सरकारी निकायले गरेको अनुगमन तथा नमुना परीक्षणमा मारुतीले कमसल सिमेन्ट उत्पादन गरी बिक्री वितरण गरेको भेटिएको थियो ।
नमुना परीक्षणपछि सरकारले उक्त उत्पादन बजारमाबाट तत्काल फिर्ता गर्न निर्देशनसमेत दिएको थियो । तर, उद्योगले गुणस्तरहीन सिमेन्ट बजारबाट फिर्ता गर्नुको साटो अरु सिमेन्ट पनि बजारमा पठाएर निर्वाध बिक्री वितरण गरिरहेको छ । मारुतीको फटाइ त्यतिमा मात्र सीमित छैन । एकातर्फ गुणस्तहीन सिमेन्ट उत्पादन गर्ने गरेको छ भने अर्कोतर्फ सरकारी ढुकुटीमा दाखिला गर्नुपर्ने करोडाँै कर छली गरी आए पनि सरकारले कारबाही नगरी सेटिङमै उन्मुक्ति दिँदै आएको आरोपसमेत लागेको छ ।
करोडौँ रूपैयाँ राजस्व छलीको आरोपमा आन्तरिक राजस्व विभागले गत वर्ष मारुती सिमेन्ट उद्योगमा छापा मारेको थियो । त्यस समयमा पनि सेटिङकै भरमा उद्योगलाई उन्मुक्ति दिइएको आरोप विभागमाथि लागिरहेको अवस्थामा गत महिना गुणस्तरहीन भनी कारबाहीका लागि अगाडि बढाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समेत कारबाही नगरी उन्मुक्ति दिएको छ । आन्तरिक राजस्व विभागले जफत गरेका कागजातहरू उपर कारबाही नगरी सेटिङमै उद्योगलाई उन्मुक्ति दिइएको पाइएको हो । सिमेन्ट उद्योगको कार्यालयमा राजस्व अनुसन्धानले छापा मारेर कम्प्युटरसहित आवश्यक कागजात नियन्त्रणमा लिएको थियो । मारुती सिमेन्ट उत्पादन हुँदै आएको मारुती सिमेन्ट उद्योग मिर्चैया सिराहा र विराटनगर उपमहानगरपालिका शिवमन्दिर छेउमा रहेको मारुती सिमेन्टको कार्यालयमा छापा मारेको थियो ।
राजस्व अनुसन्धान विभागको निर्देशनअनुसार सिराहामा रहेको उद्योगमा राजस्व अनुसन्धान सुनसरीले छापा मारेको भए पनि कारबाही भएको विवरण भने सार्वजनिक नगरी उन्मुक्ति दिएको खुल्न आएको थियो । राज्यको कानुनमाथि धावा बोल्दै मारुती सिमेन्ट उद्योगले मापदण्डविपरीतको सिमेन्ट उत्पादनदेखि कर छलीसम्म गर्दैै आएको छ । मारुती सिमेन्ट उद्योगले करछली गरेको यो पहिलोपटक भने होइन । यसअघि चन्द्रोदयपुर गाविसस्थित मारुती सिमेन्ट उद्योगले १ करोड रूपैयाँभन्दा बढी कर छली गरेको रहस्य खुलेको थियो । क्लिंकर र सिमेन्ट जिल्लाबाहिर निकासी गर्दा तिर्नुपर्ने राजस्व नतिरी ठूलो मात्रामा कर छली गर्दै आएको छ ।
मारुती सिमेन्ट सकेको कर छल्ने, र राजस्व विभाग छापा मारेजस्तो गरेर सेटिङ मिलाउने धन्दामा लागेको आरोप लाग्दै आए पनि उद्योगले भने अवैधधन्दालाई छाडेको छैन । यता मारुती सिमेन्टका आधिकारिक कर्मचारी भने सो विषयमा केही नबोल्ने प्रतिक्रिया दिँदै बसेका छन् । सो कम्पनीका आधिकारिक सञ्चालक भने सम्पर्कमा आउनै चाहँदैनन् । देशको बिजुली चोरेर आफू मोटाउने अनि ‘हामी बनाउँदै छौँ नेपाललाई’ भन्ने खोक्रो नारा बोकेर जनतालाई झुक्याइरहेको मारुती सिमेन्टका अरु कर्तुतहरूको पनि खुलासा हुँदै गएको छ । विद्युत् चोरीको सूचीमा पहिलो नम्बरमा रहेको मारुती सिमेन्टले बिजुली चोरेर देशलाई ठगिरहेको छ । मारुती सिमेन्टले विभिन्न तरिकाले मूल्य अभिवृद्धि कर (भ्याट) छल्ने गरेको तथ्य पनि उजागर हुन थालेको छ ।
सिमेन्ट बिक्री गर्दा नक्कली भ्याट बिल दिने, भ्याट छली गर्ने, कर छली गर्ने, भ्याट बिल भनेर प्रोफोमा इन्भ्वाइस थमाउने र विभिन्न ठेकेदार कम्पनीहरूलाई बिल नै बेच्ने गरेको स्रोतको दाबी छ । राजनीतिक आडका भरमा मारुती सिमेन्टको सो अवैधधन्दा चलाउँदै आएको छ । मारुतीकै कर्मचारी अनौपचारिक भेटमा भन्छन्, ‘कम्पनीले सबैतिर सेटिङ मिलाएको छ, कसैले पनि कारबाही गर्नेवाला छैन ।’
मारुती सिमेन्ट उद्योग बिजुली चोर्नेदेखि कर छली गरेर आफू धनी हुने र देश बनाउने भ्रामक विज्ञापन गरेर आश्वासन बाँडिरहेका उद्योगको लगानीकर्ता नन्दकिशोर राठीमाथि भने कारबाही नहुनुले पनि सरकारी सेटिङ मिलाएको प्रष्ट हुन आएको छ । मारुती सिमेन्ट उद्योगले शक्तिकेन्द्रकै आडमा बिजुली चोर्ने गरेकोसमेत आरोप लागेको छ । राम्रोसँग छानबिन गरेको खण्डमा सो उद्योगले न्यूनतम् १० करोड रूपैयाँभन्दा बढीको बिजुली चोरी गरेको अनुमान गरिएको छ । तर, आफूनिकटको राजनीतिक आड प्रयोग गरेर सिमेन्ट उद्योगले करोडौँ रूपैयाँको बिजुली चोर्ने र कर छली गर्ने कम्पनीले देश बनाउने अभियानमा लागेको भ्रामक विज्ञापन गर्दै आएको सर्वसाधारणले बताउन थालेका छन् ।