

काठमाडौं– काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ । जनसंख्याको वृद्धिसँगै सवारीसाधनको चापसमेत बढ्दा ट्राफिक व्यवस्थापनमा समस्या थपिँदै गएको हो । बेलाबेलामा सडक विस्तार अभियान नै सञ्चालन गरिएको छ । तर पनि विस्तारिक सडकहरू अझै साँघुरौ नै लागिरहेका छन् । काठमाडौंमा हालका सवारी जाम हटाउनका लागि अन्य धेरै विकल्पका विषयमा छलफल नभएका पनि होइनन्, मेनोदेखि मेट्रो रेलको संभाव्यता अध्ययन पनि भएका छन् । तर, ति वैकल्पिक उपाय कार्यान्वयनमा नजाँदा समस्या जस्तोको तस्तै छ । काठमाडौंको उपत्यकाको सवारी जाम हटाउन फ्रँन्स सरकारले केबलकार सञ्चालनको प्रस्ताव राखेको थियो ।
फ्रान्स सरकारले काठमाडौं उपत्यकामा केबलकार सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउन नेपाल सरकारको पुनः ध्यानाकर्षण गराएको छ । नेपालका लागि फ्रान्सका राजदूत जिल बुरवाओले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसँगको भेटमा यो विषयलाई महत्व दिन आग्रह गरेका छन् । ‘नेपालले चाहेमा केबलकार क्षेत्रको पूर्वाधार विकासमा फ्रान्स तत्काल सहयोग गर्न तयार छ,’ राजदूत बुरवाओले भनेका छन् । उनले मन्त्री यादवसँग नेपाल र फ्रान्स दुवै पहाडी देश भएको र फ्रान्सको केबलकार क्षेत्रमा विशेष अनुभव भएकाले सहयोग गर्न चाहेको बताएका छन् ।
नेपाल आउने प्रायः फ्रान्सेली राजदूतले यातायातमन्त्रीसँगको भेटमा यही कुरा दोहो¥याइरहेका छन् । यसअघि फ्रान्सेली सरकारले आफ्नै खर्चमा उपत्यकामा केबलकार सञ्चालनको संभाव्यता अध्ययन समेत सम्पन्न गरिसकेको छ । उक्त अध्ययनमा काठमाडौंका ४ वटा रुटमा केबलकार सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन तयार पारिएको थियो । उक्त प्रतिवेदन फ्रान्स सरकाले नेपाल सरकारलाई पनि बुझाइसकेको छ । त्यसका लागि लगानी मोडालिटी टुंग्याएर काम गर्न फ्रान्सले ताकेता गर्दै आएको छ ।
०७४ सालमा भएको विस्तृत सम्भाव्यता अध्ययनले काठमाडौं उपत्यकामा व्यवसायिक रूपमा यात्रुबाहक केबलकार सञ्चालन गर्न सकिने देखाएको थियो । १५ अर्ब रूपैयाँ लगानी गर्दा काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलकार सञ्चालन गर्न सकिने अध्ययनको निष्कर्ष थियो । प्रतिवेदनमा कालिमाटीबाट वसन्तपुर–रत्नपार्क–डिल्लीबजार–भन्डारखाल–चाबहिल हुँदै बौद्धनाथ पुग्न पहिलो केबलकार रुट प्रस्ताव गरिएको छ । यो ७ किलोमिटरको रुटमा ७ वटा स्टेसन राख्नुपर्ने उल्लेख छ । यसलाई तत्कालै पाइलट प्रोजेक्टका रूपमा अघि बढाउन सकिने सुझाव प्रतिवेदनमा छ ।
गोंगबुबाट बालाजु–सोह्रखुट्टे–कालिमाटी–बल्खु–त्रिभुवन विश्वविद्यालयसम्म पनि चलाउन सकिने भन्दै प्रस्ताव गरिएको छ । यस्तै कलंकीबाट टेकु–थापाथली हुँदै रत्नपार्कसम्म पनि केबलकार चलाउन सकिने अध्ययनको ठहर छ । लगनखेलबाट पुल्चोक–थापाथली–रत्नपार्कसम्मको रुटमा पनि केबलकार चलाउन सकिने प्रतिवेदनमा उल्लेख छ । यो प्रतिवेदनमा एउटा स्टेसनबाट केबलकार चढेर जुन ठाउँमा ओर्लिए पनि ४० रूपैयाँ भाडा लिँदा हुने उल्लेख छ । सडकमा सवारी चाप घटाउन केबलकारको प्रयोग महत्वपूर्ण र वैज्ञानिक हुने ठहर प्रतिवेदनमा गरिएको छ । फ्रान्स सरकारको सहयोगमा फान्सेली कम्पनीहरू एमडिपी, पोमा र स्याष्ट्रासहित पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनले पाँच वर्ष लगाएर तयार गरेका हुन् । फ्रान्सेली कम्पनीहरू केबलकार निर्माण, व्यवस्थापन र सञ्चालनका मामिलामा अनुभवी हुन् ।
केबलकार निर्माणका लागि स्टेशनहरू बनाउन सरकारले जग्गा उपलब्ध गराउनुपर्ने सुझाव प्रतिवेदनमा छ । यो आयोजनालाई सार्वजनिक निजी साझेदारीको मोडलमा बनाउन सकिने सुझाव प्रतिवेदनमा छ । यसअघिका नेपालका लागि फ्रान्सका राजदूत इर्भ कार्मोनाले ०७५ जेठमा बुधबार तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई यो प्रतिवेदन हस्तान्तरण गरेका थिए । फ्रान्स सरकारले तीन करोड ४० लाख खर्चिएर तयार पारेको प्रतिवेदन अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा थन्किएको छ ।
फ्रान्सेली राजदूतले यही प्रतिवेदन अनुसार काम गर्न सुझाव दिएपछि सोमबारको भेटमा मन्त्री यादवले केलबलकारको सम्भाव्यता अध्ययनमा गरेको धन्यवाद दिँदै सरकारले अन्य सरकारी निकायहरू र फ्रान्सेली राजदूतावास समेतसँगको छलफल एवं परामर्शमा योजना कार्यान्वयन प्रक्रिया अगाडि बढाइने प्रतिवद्धता जनाएकी छन् । उनले वातावरणीय दृष्टिले पनि उपयुक्त केबलकार सञ्चालन हुन सके काठमाडौंको ट्राफिक व्यवस्थापनमा सहज हुने भन्दै यस विषयमा आफू गम्भीर बनेको बताएकी छन् । उनले फ्रान्सेली राजदूतलाई आफूले यस विषयलाई महत्व दिएर आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन पनि दिएकी छन् ।