

काठमाडौं– आफूलाई उच्च घरानीया कम्पनीको हुँकार गर्दै नेपाली भूभाग प्रयोग गरी विभिन्न उद्योगधन्दा चलाउने उद्योगपतिले उत्पादन गरेका अधिकांश सामान विद्यमान व्यवस्था र ऐनविपरीत रहने गरेको पाइएको छ । शक्ति र पैसाको आडमा सरकारी कर्मचारीलाई लाखौँ रूपैयाँ कमिसन दिएर गुणस्तहीन सामानलाई उच्च गुणस्तर रहेको भन्दै नक्कली कागजातमा प्रमाणित गरिदिएर बिक्रीका लागि पठाएका अधिकांश उत्पादनहरू प्रयोग गर्न नै नहुने अवस्थामा रहेको एक अनुसन्धानले देखाएको छ ।
यसैबीच, पछिल्लो समयमा गुणस्तहीन सिमेन्ट उत्पादन गरी बजारमा पठाएसँगै अधिकांशको घर र भवनहरू खतराको सूचीमा समेत परेको बताइएको छ । त्यसमध्ये अहिले बजारमा गुणस्तहीन सिमेन्ट उत्पादन गरी बजारमा पठाएको मारुती र युनाइटेड सिमेन्ट प्रयोग गरी घर तथा भवन बनाउनेहरू बढी मारमा परेका छन् । गुणस्तर तथा नापतौल विभागले गरेको एक अनुसन्धानमा मारुती र युनाइटेड सिमेन्ट प्रालिको उत्पादनमा कम गुणस्तर पाइएको छ । विभागले ती दुई सिमेन्ट उत्पादकलाई गुणस्तर कमसल रहेको भन्दै कारबाही गरेको भए पनि अझैसम्म बजारमा छ्याप्छ्याप्ती पाइन्छ ।
बजार पठाइएका गुणस्तहीन सिमेन्ट फिर्ता गर्न विभागले निर्देशन दिए पनि उत्पादक कम्पनीहरूले फिर्ता नगरी बिक्री गर्र्दै आएको पाइएको छ । ती सिमेन्टको गुणस्तर परीक्षण गर्दा मापदण्डअनुरूप गुणस्तर नभएकाले बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको थियो । तर, विभागले रोक लगाएको भनिएको युनाइटेड सिमेन्ट भने खुला रूपमा बिक्री हुँदासमेत सरकारले कुनै चासो देखाएको छैन ।
धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्डविपरीत रहेको विभागले प्रमाणित गरेको थियो । विभागका महानिर्देशक विश्वबावु पुडासैनीका अनुसार सो कम्पनीले ४३÷५३ ग्रेड भएको दाबी गरे पनि त्यो नभएको र प्रयोग गर्दा खतरा बढी हुने देखिएको छ ।
महानिर्देशक पुडासैनीका अनुसार युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३७ र ५३ हुनुपर्नेमा न्यूनतम् ३५ र ३९ मात्र रहेको पाइएको छन् । उनले भने, ‘सिमेन्टको स्ट्रेन्थ कम हुनु भनेको गुणस्तर कम हुनु हो, ‘मारुतीको ओपिसी ४३ ग्रेड, युनाइटेडको ओपिसी ग्रेड ५३ पिपिसीको बिक्री वितरण रोक लागएका छौँ ।’ ती कम्पनीहरूलाई गुणस्तर प्रमाण चिह्न ऐन ०३७ अनुसार स्पष्टीकरण सोधी कारबाही गरिने बताए पनि अहिलेसम्म ति कम्पनीमाथि खासै कारबाही भने विभागले गरेको छैन ।
विभागले यसअघि पनि मारुती सिमेन्ट र युनाइटेड सिमेन्टमाथि कारबाही गरेको थियो । पटक–पटक कम गुणस्तर भएको भन्दै कारबाहीमा परेको युनाइटेड सिमेन्टमाथि यसपटक पनि विभागले उन्मुक्ति दिनुलाई रहस्यपूर्ण रूपमा हेरिएको छ । अधिकतम् पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा त्योभन्दा बढी भएकाले सो सिमेन्ट कम्पनीमाथि कारबाही गरेको विभागले जनाएको थियो । महानिर्देशक पुडासैनीले भने, ‘पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरको मानिँदैन ।’
ओपिसी र पिपिसी सिमेन्टमा पाइने तत्वहरूमा म्याग्नेसियम अक्साइड अर्थात् एमजिओ एक तत्व हो । म्याग्नेसियम अक्साइड प्रकृति मै हुने भएकाले सिमेन्ट उत्पादन गर्दा यसलाई नियन्त्रण गर्नुपर्दछ । सरकारले सिमेन्टमा एमजिओको मात्रा ५ प्रतिशतसम्मलाई ठीकै मान्दै आएको छ । सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई त्यति राम्रो मानिन्छ । अधिकांश विकासशील र विकसित देशहरूमा भने एमजिओको मात्रा ४ प्रतिशत मात्रै राखिएको पाइएको छ । सिमेन्टमा एमजिओको मात्रा बढी भएमा यसले गिट्टी, बालुवा तथा इँट्टालाई राम्रोसँग नसमात्ने र सुकेलगत्तै फुट्ने वा चर्कने गर्छ । लामो समयसम्म बलियो नहुने भएकाले सिमेन्टमा एमजिओको मात्रा कम हुनु आवश्यक रहेको जानकारहरू बताउँछन् ।
विभागले युनाइटेड सिमेन्ट धादिङबाट उत्पादन हुँदै आएको सिमेन्ट गुणस्तरहीन भएकाले कारबाही गरेको हो । कमिसन र सरकारी कर्मचारीको गैरकानुनी रूपमा बिनापरीक्षण सिमेन्ट उत्पादन गर्दै आएको सो सिमेन्टका सञ्चालकद्वारा अवैध रकमसमेत लगानी गरेको आरोप लाग्दै आएको छ । विभागका अनुसार युनाइटेड सिमेन्टमा इनिसियल सेटिङ आधा घन्टामा हुनुपर्नेमा त्यो नरहेको पाइएको जनाएको छ । सो सम्बन्धमा युनाइटेड सिमेन्ट उद्योगमा पटक–पटक सम्र्पक गर्दा पनि आधिकारिक व्यक्ति कोही नभएको भन्दै सञ्चालक सम्पर्कमा आउन चाहेनन् ।
युनाइटेड सिमेन्टमा आइआर २ दशमलव ६ प्रतिशत रहेको छ । गुणस्तर मापदण्डअनुसार आइआर २ प्रतिशत हुनुपर्छ । यो उद्योगलाई समेत गुणस्तर नियमावलीअनुसार विभागले १५ दिने स्पष्टीकरण सोधी कारबाही गर्ने जनाए पनि करिब २ महिना बितिसक्दा पनि कारबाही के भयो त्यो भने सार्वजनिक गर्न विभागले मानेको छैन । गुणस्तरहीन सिमेन्ट उत्पादन गरी उपभोक्ता ठगेको आरोपमा युनाइटेड सिमेन्ट उद्योग सरकारी कारबाहीमा परेको हल्ला चलाए पनि वास्तविक रूपमा भने भित्रभित्रै उन्मुक्ति दिएको छ ।
केएल दुगड ग्रुपद्वारा सो युनाइटेड सिमेन्ट उत्पादन हुँदै आएको छ । ‘हरेक निर्माणको धड्कन, युनाइटेड सिमेन्ट’ भन्ने भ्रामक नारा दिएर उपभोक्तामाथि लुटधन्दा नै चलाउँदै आउँदा पनि ठूलो रकमको चलखेलमा कारबाहीको प्रक्रिया अगाडि बढेको छैन । विभागले पटक–पटक कारबाही गरेको जनाए पनि सो कारबाही एक औपचारिकता वा देखाउनकै लागि मात्र गरेको आरोपसमेत विभागमाथि लागेको छ ।
यसअघि युनाइटेड सिमेन्टले भ्रमपूर्ण विज्ञापन प्रकाशित गरेर उपभोक्तालाई भ्रमित बनाएको थियो । यो उद्योगले म्याग्नेसियम अक्साइड (एमजिओ) र क्लोराइड कम भएको भन्दै भ्रामक विज्ञापन बजाएर भ्रम फैलाएपछि विभागका महानिर्देशक पुडासैनीले उपभोक्तालाई भ्रमित बनाउने विज्ञापन रोक्न निर्देशन दिएका थिए ।
युनाइटेडको उद्योग धादिङमा छ भने खानी ललितपुरमा छ । उद्योगले म्याग्नेसियम अक्साइड धेरै भएको सिमेन्ट चिरा र दरार देखिने र अत्याधिक क्लोराइड भएको सिमेन्टले छडमा खिया लाग्ने भन्दै विज्ञापन क्याम्पेन सुरु गरेको थियो ।