

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) मा अर्थतन्त्रको निराशाजनक सूचक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ४ महिनाको तथ्यांकअनुसार उपभोक्ता मूल्यवृद्धि ५ दशमलव ३२ प्रतिशत रहेको देखाएको छ ।
गैरखाद्य वस्तु र सेवा क्षेत्रको मूल्यवृद्धिले मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले मुद्रास्फिति गत महिनाको तुलनामा १ प्रतिशत बिन्दुले वृद्धि भएको उल्लेख गरेको छ । यसले कोभिड–१९ का कारण आम्दानी प्रभावित भएका वर्गलाई थप प्रभावित पार्ने भन्दै न्यून आय भएकाहरू गरिबीमा धकेलिन सक्ने सम्भावनासमेत देखाएको छ ।
त्यसैगरी, यस वर्षको चार महिनामा मुलुकमा भित्रेको (आयात) रकमको तुलनामा बाहिरिएको (निर्यात) रकम २ खर्ब २३ अर्ब रूपैयाँले बढी रहेको सो प्रतिवेदनमा उल्लेख छ । गत वर्ष सोही अवधिमा वास्तविक समयमा मुलुकबाट बाहिरिएकोभन्दा भित्रिएको रकम अर्थात् चालू खाता १९ अर्बले बचत रहेको थियो । चालु वर्षको सबैभन्दा कम रेमिट्यान्स कात्तिकमा भित्रिएको छ । राष्ट्र बैंकले बुधबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै रेमिट्यान्स जम्मा ७३ अर्ब १० करोड मात्र भित्रिएको जनाएको छ । चालु आर्थिक वर्ष लागेदेखि नै रेमिट्यान्स घट्न थालेको हो । गत आर्थिक वर्षको असारमा ९० अर्ब ११ करोड रूपैयाँ भित्रिएको रेमिट्यान्स नयाँ आर्थिक वर्ष लागेपछि निरन्तर घटिरहेको छ ।
साउनमा ७५ अर्ब ९६ करोड भित्रिएको रेमिट्यान्स भदौमा ७९ अर्ब ४१ करोड रूपैयाँको भित्रिएको छ । असोजमा दसैँ परेका कारण केही सुधार भएर ८३ अर्ब ९५ करोड रूपैयाँ भित्रिए पनि कात्तिकमा पुनः घटेर ७३ अर्ब १० करोड रूपैयाँमा सिमित भएको छ । चालु वर्षको चार महिनामा ३ खर्ब १२ अर्ब ४२ करोड रेमिट्यान्स भित्रिएको छ । पोहोर कात्तिकमा तीन खर्ब ६२ अर्ब २९ करोड रूपैयाँ भित्रिएको थियो । उच्च व्यापार घाटा, घट्दो रेमिट्यान्सका कारण शोधनान्तर घाटा एक खर्ब ५० अर्ब ३८ करोड रूपैयाँ पुगेको छ । यो भनेको अहिलेसम्मकै उच्च घाटा हो । गत असारमा एक अर्ब २३ करोड बचतमा रहेको शोधनान्तर त्यसयता घाटामा जान थालेको हो ।
साउनमा ३८ अर्ब ७५ करोड घाटा पुगेको थियो भने भदौमा ८३ अर्ब ४१ करोड, असोजमा ७६ अर्ब १४ करोड घाटामा थियो । महिना दिनमै घाटा ७४ अर्ब २४ करोडले घाटा भएको हो । चार महिनामा आयात ६१ दशमलव ६ प्रतिशतले र निर्यात १०४ दशमलव ३ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । यो अवधिमा नेपालले ८२ अर्ब १२ करोड रूपैयाँको निर्यात गरेको छ । साढे ६ खर्बको आयात गरिएको छ । गत वर्षको तुलनामा निर्यात १०४ प्रतिशत र आयात ६२ प्रतिशतले बढेको छ । त्यसैगरी, साउन यता विदेशी मुद्राको सञ्चिति ११ प्रतिशतले अर्थात् १ अर्ब २८ करोड अमेरिकी डलरले घटेको जनाएको छ ।