

काठमाडौं– सरकारको सम्बन्धित निकायको मौनताका कारण खुला रूपमा मौलाएको अवैध धन्दाले सर्वसाधारण ठगिँदै आएका छन् । बैंकबाट ऋण लिने प्रक्रिया धेरै झन्झटिलो र अन्त्यमा माग गरेको ऋणसमेत उपलब्ध नहुने भएका कारण पछिल्लो समयमा गैरकानुनी रूपमा समाजभित्र खुला रूपमा सञ्चालनमा रहेको मिटर ब्याजमा ऋण प्रवाह गर्नेहरूको सञ्जाल सहरदेखि गाउँसम्म पुगेको देखिएको छ ।
सो सञ्जालबाट सर्वसाधारण बढी मात्रामा पीडित हुन पुगेको एक अध्ययनले देखाएको छ । यसैक्रममा गैरकानुनी रूपमा ऋण प्रवाह गरी दैनिक १ लाख रूपैयाँभन्दा बढी ब्याज असुली गर्दै आएको आरोपमा प्रहरीले गणेश उप्रेती व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्दा सो अवैध धन्दाको जालो गाउँसम्म पुगेको खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मिटर ब्याज (चर्को ब्याज) मा ऋण दिने, जबर्जस्ती चेक काट्न लगाउने र धम्क्याउने गरेको आरोपमा उप्रेतीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । चाबहिलमा गाडीको रिकन्डिसन हाउस चलाएका उप्रेतीको साथबाट प्रहरीले विभिन्न बंैकको १९ करोड बराबरको चेकसमेत फेला पारेको थियो ।
उप्रेतीले समस्यामा परेकाहरूलाई ऋण दिएर चर्को ब्याज असुली धन्दा चलाउँदै आएका थिए । उप्रेतीले विभिन्न व्यक्तिलाई पटक–पटक गरी ८ करोड ३० लाख रूपैयाँभन्दा बढी रकमलाई चर्को ब्याजमा लगाई दैनिक १ लाख रूपैयाँ ब्याज असुली गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । ऋण दिएकै भोलिपल्टदेखि उप्रेतीले भाडामा राखेका व्यक्तिमार्फत ऋणीलाई डर त्रास देखाई धम्की दिएर बाहिर हिँड्डुल, घुमफिर गर्न बन्देज गराई आपराधिक गिरोहसमेतको प्रयोग गरेर ज्यान मरिदिने भन्दै धम्काउनेसमेत गरेको पाइएको छ ।
यसरी धम्की दिँदै जबरजस्ती चेक कटाउने र भौतिक सम्पत्तिसमेत हडप्ने गरेकोसमेत पाइएको छ । रिकन्डिसनको व्यवसाय देखाएर उप्रेतीले चर्को ब्याज असुल्दै आएका छन् । प्रहरी अनुसन्धानबाट घरायसी र व्यवसायिक समस्यामा परेकाहरूलाई ऋण दिएर ठूलो परिणामको चेकमा हस्ताक्षर गर्न लगाउने र गुन्डाहरू लगाएर असुली गर्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनीहरूको मिटर ब्याज पुरानै धन्दा हो ।
उप्रेती भने नयाँ खेलाडीका रूपमा उदाएका छन् । यसअगाडि क्यासिनोमा नेपालीको प्रवेश खुला हुँदा मिटर ब्याजीहरू सक्रिय भएका थिए । त्यसबेला बलराम सापकोटा, महेशबहादुर सिंह, वीरेन्द्र श्रेष्ठलगायत व्यक्तिहरू यस अवैधधन्दामा सक्रिय व्यक्ति रहेका थिए । मिटर ब्याजकै मुद्दामा सिंहमाथि अझैं कारबाही गर्न सकेको छैन भने सापकोटा अहिले होटेल व्यवसायमा लागेर मिटर ब्याजको धन्दा चलाइरहेका व्यक्ति हुन् ।
तराईमा मिटर ब्याजीको चक्रमा परेर सर्वसाधारण फसेका घटना सार्वजनिक भएसँगै राजधानीमा समेत सो सञ्जाल मौलाएको देखिएको छ । सो धन्दामा रामबाबु राय यादव, श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवार, सञ्जयप्रसाद रौनियार पनि मिटर ब्याजको अवैधधन्दामा सक्रिय व्यक्ति हुन् । पछिल्लो समयमा केही सहकारी सञ्चालकहरूले समेत बचतकर्ताको रकम चर्को ब्याजमा लगाउने गरेको पाइएको छ । सहकारी सञ्चालकहरूले चर्को शुल्कमा ऋण निकालेर घर–जग्गामा लगानी गर्दै आएको पाइएको हो ।
गुडविल बचत तथा ऋण सहकारी संस्था नामक सहकारीले समेत सो अवैधधन्दा चलाएको खुलेको छ । सहकारीको ठगी प्रकरणको अनुसन्धानमा सो सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ, उनको श्रीमती जेनी श्रेष्ठ, भान्जा रमण श्रेष्ठ मिलेर बचतकर्ताको ७९ करोड ८९ लाख रकम मिटर ब्याजमा लगाएको पाइएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले सहकारीका सञ्चालकसहित मिटर ब्याजीहरूलाई समेत प्रतिवादी बनाएको थियो ।
सहकारीका अध्यक्ष श्रेष्ठले मिटर ब्याजमा पैसा लिएर ब्याज तिरेर बचतकर्ताको बचत दुरूपयोग गरेको खुलेको थियो । समस्यामा परेकाहरूलाई चर्को ब्याजदरमा ऋण दिएर मिटर ब्याजीहरूले जमानीको रूपमा खाली चेकमा हस्ताक्षर गराउने वा जायजेथा आफ्नो नाममा पास गराउने गरेकोसमेत अनुसन्धानबाट खुलेको छ । ५० प्रतिशतसम्म ब्याज लगाउने र साँवाभन्दा तेब्बर ब्याज लिएर कहिल्यै साँवा नै नसकिने चक्र निर्माण गरेर घर–जग्गा कब्जा गरिँदै आएको पाइएको छ ।