

काठमाडौं– आयोजनास्थलसम्म जाने सडक मर्मत हुन नसक्दा मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य अलपत्र परेको छ । गत असारमा आएको बाढीले क्षतिग्रस्त मेलम्ची अझैं मर्मत कार्य अनिश्चित बनेको हो । सरकारले आगामी चैतसम्ममा मर्मत कार्य सकेर काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्ने लक्ष्य राखे पनि हालसम्म आयोजना स्थलसम्म पुग्ने सडक नै मर्मत गर्न नसक्दा सो लक्ष्य पनि पूरा नहुने देखिएको छ ।
यांग्र्री र लार्के खोलाको आयोजनास्थलसम्म पुग्ने सडक वर्षाका कारण भत्किएकामा अझै मर्मत हुन सकेको छैन । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको निर्माणका लागि पहुँचमार्ग निर्माण भइरहँदा असारको पहिलो साता बगाएको थियो । २० किमी सडकमध्ये झण्डै पाँच किमी बगाएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । इन्द्रावती नदीमा आएको बाढीले सडक बगाएको थियो । पहिलो चरणमा मेलम्ची नदीसम्म पुग्ने सडक नबनेकाले अहिले उक्त सडकको मर्मत प्राथमिकतामा नपरेको हो । उनले भने, ‘सडक विभागले मर्मत गरिसकेको छ, हामीले गर्न बाँकी छ ।’
१० किमी सडकमध्ये पाँच किमी विभाग र अर्काे पाँच किमी आयोजनाले निर्माण गरेको थियो । धापदेखि लार्के र यांग्र्रीसम्मको सडक निर्माण आयोजनाले गरेको थियो । अहिले निर्माण व्यवसायीले निर्माण अघि बढाउन चाहेको उनले जानकारी दिए । उनका अनुसार पहिले मेलम्ची नदीको आयोजनास्थलसम्म नै सडक पुग्न लागेको थियो । तर, बाढीले बगाएपछि आयोजनाको मर्मत कार्य पनि प्रभावित भएको छ ।
आयोजनालाई लक्षित गरेर निर्माण हुन लागे पनि सो सडकको निर्माण सम्पन्न हुँदा स्थानीयवासीलाई समेत फाइदा पुग्ने छ । यहाँका ३८० कित्ता अधिग्रहण गरेर सडक निर्माण गरिएको थियो । गत असारमा मेलम्ची नदीमा आएको बाढीले गर्दा खानेपानी आयोजनामा ठूलो क्षति पुगेको थियो । आयोजनास्थलमा रहेका धेरै संरचना र निर्माण सामग्री बाढीले बगाएको थियो । आयोजनास्थलभन्दा माथिल्लो भागबाट आएको पहिरोले संरचनामा क्षति पुगेको थियो । अहिले पनि ‘हेडवर्क’ लगायतका संरचना खोलाको लेदोले पुरिएको छ ।
सरकारले फास्ट ट्रयाकबाट पुनर्निर्माण गरी अस्थायी रूपमा काठमाडौं उपत्यकामा पानी ल्याउने योजना बनाएको छ । तर, आयोजनामा निकै ठूलो क्षति भएकाले यो वर्षभित्रै पानी आउने सम्भावना देखिएको छैन । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको संरचना २० देखि ३० फिटसम्म पुरिएको छ । बाढीले हेडवक्र्स डाइभर्सन टनेल र अम्बाथान अडिट टनेल पनि गेग्रान भरिएको छ । तर, पनि सरकारले हेडवक्र्स र सुरुङ सफा गरेर फास्ट–ट्रयाक प्रक्रियाबाट आयोजना अघि बढाउने योजना बनाएको छ । मेलम्ची शिर रहेको हिमाली भेगमा पहिरोको जोखिम कायमै छ । यो ठाउँमा तत्काल स्थायी संरचना निर्माण गर्न सकिने अवस्था छैन । मेलम्चीदेखि मुहान क्षेत्र हेलम्बुसम्म करिब १८ किलोमिटर सडक बाढीले जीर्ण बनाएको छ । मेलम्चीदेखि अम्बाथान क्षेत्रका ६ वटा पुल बगाएकाले निर्माण सामग्री ल्याउन पनि चुनौती छ । निर्माणस्थलमा थुप्रिएको गेग्रान सफा गर्न कति समय लाग्छ भन्ने अनुमान नै छैन । तर ढिलासुस्ती नगरी सुरुङ खुलाउने र सफा गर्ने हो भने अस्थायी रूपमा काठमाडौंमा पानी पठाउन सकिने स्थानीय जनप्रतिनिधिको भनाइ छ ।