

काठमाडौं– गुणस्तरहीन सिमेन्ट उत्पादन गरी उपभोक्तामाथि लुटधन्दा चलाउँदै आएको ‘मारुती सिमेन्ट लिमिटेड’लाई सरकारले बिक्री वितरणमा रोक लगाएको भए पनि सो रोकलाई लत्याउँदै खुला रूपमा बिक्री गर्दै आएको छ । सरकारले गुणस्तरहीन मारुती सिमेन्ट प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरी सो निर्देशन दिएको थियो । गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको मारुती सिमेन्ट कारबाहीमा परेपछि दिएको निर्देशनलाई सो कम्पनीले लत्याउँदै बिक्रीका लागि बजार पठाउँदै आएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले उक्त गुणस्तरहीन सिमेन्ट प्रयोग नगर्न निर्देशन दिँदै आफू मातहतका निकायलाई गुणस्तरहीन सिमेन्ट प्रयोग नगर्न परिपत्र नै जारी गरेको थियो । मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले गुणस्तरहीन निर्माण सामग्री प्रयोग नगर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको बताए पनि सो निर्देशन कम्पनीले पालना गरे नगरेको बारेमा भने कुनै अनुगमन गरेको छैन । तर, मन्त्रालयले दिएको सो निर्देशनलाई कम्पनीले लत्याउँदै आएको छ ।
विकास निर्माणको काममा प्रयोग हुने सिमेन्टलगायत निर्माण सामग्री गुणस्तरहीन भएको पाइएपछि निर्माण सामग्री पूर्णरूपमा रोक लगाउन निर्देशन दिएको थियो । मारुती सिमेन्टबाट निर्माण गरिएका विकास निर्माणको कामसमेत गुणस्तरहीन रहेको भेटिएको छ । विगतदेखि नै मारुती सिमेन्टको गुणस्तरमाथि शंका रहेको मन्त्रालयले जनाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले नै गुणस्तरहीन भएको तथ्य सार्वजनिक गरेपछि मन्त्रालय मातहतका निकायलाई उक्त सिमेन्ट प्रयोग नगर्न निर्देशन दिएको थियो । नेपाल गुणस्तर तथा नापतौल विभागले विकास निर्माणसँगै नागरिकले निर्माण गर्ने घरमा समेत मारुती सिमेन्ट प्रयोग नगर्न सचेत गराएको थियो ।
गुणस्तरहीन सिमेन्ट प्रयोग गर्दा हाल निर्माणाधीन विकास निर्माणको कामसमेत प्रभावित भएको भन्दै विभागले देशको ठूला विकास आयोजनामा प्रयोग हुँदै आएको मारुती सिमेन्ट प्रयोग नगर्न सरोकारवालाहरूलाई आग्रह गरेको हो । ‘हामी बनाउँदै छौँ नेपाललाई’ भन्दै भ्रामक प्रचार गरेर आक्रमक विज्ञापन दिँदै आएको सो कम्पनीको गुणस्तहीन सिमेन्टको विज्ञापनमा सिनेमाका नायक राजेश हमालले प्रचार गरेका छन् ।
भ्रामक विज्ञापन बनाई उपभोक्ता र सर्वसाधारणलाई झुक्याउँदै सो कम्पनीले एकातिर गुणस्तहीन सिमेन्ट बिक्री गर्दै आएको छ भने अर्कोतर्फ पैसाकै लागि नायक हमालले विज्ञापनमा मोडलिङ गरी गुणस्तहीन सिमेन्टको प्रचारप्रसार गरेका छन् । ४३ ग्रेडको मारुती ओपिसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन गुणस्तर तथा नापतौल विभागले यसअघि निर्देशन दिए पनि मारुती सिमेन्टले भने सो निर्देशनको पालना नगरी थप सिमेन्ट बजार पठाएको छ । नेपाल गुणस्तर चिह्न प्राप्त उक्त कम्पनीको सिमेन्टलाई नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन, ०३७ तथा नियमावली, ०४० बमोजिम कारबाहीको दायरामा ल्याएको विभागले जनाएको छ । संकलित नमुनाको एमपिए ७ र २८ दिनको मान क्रमशः ३१ र ३७ मात्रै देखिएको थियो । विभागका अनुसार उक्त सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा उक्त कम्पनीले गुणस्तहीन सिमेन्ट उत्पादन गरी उपभोक्तालाई ठगी गरिरहेको तथ्य फेला परेको हो ।
सिरहामा मुख्य उत्पादन कार्यालय रहेको मारुती सिमेन्टले उत्पादन कालदेखि नै गुणस्तहीन सिमेन्ट बिक्री गर्दै आएको पाइएको छ । यस सम्बन्धमा सो कम्पनीमा सम्पर्क गर्दा आधिकारिक व्यक्ति कोही नभएको भन्दै फोन राखिदिएका छन् । मारुती सिमेन्टले नलिएको गुणस्तर चिह्न (एनएस) लिएको भन्दै गलत विज्ञापन गरेको थियो । यस विषयमा उजुरी परेपछि कारबाही भोगेको मारुतीले फेरि अर्को बद्मासी गरेको विभागले जनाएको छ । यसअघि ०७६ असारमा विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै मारुती सिमेन्टलाई कारबाही गरेको थियो ।
त्यस समयमा अधिकतम् ५ प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा तोकिएभन्दा बढी पाइएको थियो । ५ प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरहीन मानिन्छ । मापदण्डअनुसार मारुती सिमेन्टको गुुणस्तर नपाइएपछि सिमेन्टको इजाजत रद्द गरिएको छ । मारुती सिमेन्टले उत्पादन गरेर बजारमा पठाएको सिमेन्ट गुणस्तरहीन भएको पाइएपछि विभागले इजाजत रद्द गरिदिएको विभागले जनाए पनि कम्पनीले भने सिमेन्ट उत्पादन गरेर बिक्रीका लागि बजार पठाइरहेको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुुडासैनीले गुुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजाजत रद्द गरिएको बताएका छन् । उनले भने, ‘मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड ब्याचको सिमेन्ट बजारमा पाइएमा कानुनबमोजिम कारबाही हुनेछ ।’ उपभोक्ताको अधिकतम् उजुरी परेपछि विभागले मारुती सिमेन्टलाई कारबाही गरेको हो । विभागले गत १ मंसिरमा मारुती सिमेन्टलाई कारबाही गरेको हो । विभागको सो निर्देशनमा मारुती सिमेन्टले गुणस्तर नै भएको दाबी गरेको विभागका महानिर्देशक पुडासैनीले जानकारी दिए । विभागबाट विभिन्न समयमा बजार अनुुगमन क्रममा संकलित नेपाल गुुणस्तर चिह्न प्राप्त वस्तुको नमुना विभागको प्रयोगशाला तथा उद्योग परीक्षण गर्दा गुणस्तरको मापदण्डअनुसार विपरीत उत्पादन भएको पाइएको थियो ।
नेपाल गुणस्तर प्रमाण चिह्न लिएर सोही आधारमा बजारमा भ्रम फैलाई उपभोक्ता ठग्ने गरेको र उपभोक्ताले जीवनमा एकचोटि बनाउने घर निर्माणमा खेलाँची गरी ज्यानसमेत जोखिममा पारेको भन्दै विभागले कारबाही गरेको पुष्टि गरेको छ । शक्ति र पैसाको आडमा उच्च पदस्थ कर्मचारीका साथै दलका नेताको संरक्षणमा रहेका अधिकाश नेपाली भूमीमा सञ्चालन भएका उद्योगबाट उत्पादित सामग्रीहरु गुणस्तरहीन रहेको पाइएको छ । शक्तिकै आडमा लामो समयदेखि सञ्चार माध्याममा भ्रामक विज्ञापन बजाउँदै उपभोक्तामाथि लुटधन्दा चलाउँदै आएको मारुती सिमेन्टलाई विभागले सिमेन्टको बिक्री वितरण रोक्का गरे पनि सो कार्यान्वयन भने भएको छैन ।