

काठमाडौं – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार तीन हजार १९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा छ । नेप्से घट्दै बिहीबार दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा कारोबार बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्कानुसार कारोबार मापक नेप्सेका साथै कारोबार रकम पनि निरन्तर ओरालो लागेको देखिन्छ । चालू आवको पहिलो कारोबार दिन साउन ३ गते दुई हजार ९८० दशमलव ६१ बिन्दुमा बन्द भएको कारोबार भदौ पहिलो साता उच्च बिन्दु छोएर निरन्तर घटिरहेको छ । उच्च बिन्दुबाट बजार २३ प्रतिशतभन्दा बढीले घट्दा लगानीकर्ताको रु १० खर्ब बढीकोे सम्पत्ति गुमेको छ । नेप्से परिसूचक उच्चतम हुँदा रु ४४ खर्ब ६८ अर्बको बजार पुँजीकरण बिहीबारको कारोबार पछि रु ३४ खर्ब ४४ अर्बमा खुम्चिएको छ । परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको देखिन्छ । गत साउन ३१ गते दैनिक कारोबार रकम रु २१ अर्ब भन्दा बढी भएकामा बिहीबार रु दुई अर्ब ६७ करोडमा सिमित हुन पुगेको छ ।
सेयर बजारमा नेप्सेका साथै कारोबार घट्दा लगानीकर्तामा निरासा छाएको छ । अझ नयाँ लगानिकर्ता अन्योलमा रहेको देखिन्छ । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन् । बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरू रहेको देखिन्छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्राथमिक सेयरबाट आइपिओ भर्न सुरु गरेका भक्तपुरका माधव ढकाल साथीको सहयोगमा दोस्रो बजारमा छिरेका थिए । ‘सुरुमा राम्रै कमाइ भयो, कमाइ देखेर सापटी मागेर अरु रकम यसमा लगाएँ अहिले घाटामा छु, बेच्न नि घाटा छ, सस्तोमा किन्न पैसा छैन,’ उनी भन्छन् ।
त्यस्तै सेयर बजारका बादशाह भनेर चिनिने लगानिकर्ता निर्मल प्रधान बजार घटबढ हुनु स्वभाविक भएको र बुझेर लगानी गर्न सुझाव दिन्छन् । आम लगानीकर्ता बजार घट्दा आत्तिने र बढ्दा मात्तिने गर्छन् जुन सही होइन, बजार केही समय घट्छ र पछि बढ्छ पनि त्यसैले धैर्यता आवश्यक हुने बताउँदै सरकार र नियामक निकाय पनि सेयर बजारको दिगो विकास तथा विस्तारमा संवेदनशील हुन जरुरी रहेको धारणा राख्छन् ।
नेपालको पूँजीबजारमा तरलताले विशेष प्रभाव पारेको देखिन्छ । बैंकिङ प्रणालीमा तरलताको चाप पर्दा बजार घट्ने गरेको देखिन्छ । ‘जब बैंकमा तरलता बढी हुन्छ, उनीहरू सस्तो ब्याजदरमा सेयर कर्जा दिन थाल्दछन्, ठूला लगानीकर्ता त्यसको प्रयोग गर्छन्, जसले कारोबार बढी हुन्छ र बजार बढ्छ, तर जब तरलता सङ्कट आउँछ उनीहरू निक्षेप बढाउन व्याजदर बढाउने र कर्जा दिन नसक्ने अवस्थामा पुग्छन् तब सेयर कारोबार घट्ने गरेको छ’, प्रधान अनुभव सुनाउँछन् ।
साना लगानीकर्ता डरमा, ठूला पर्ख र हेरको अवस्थामा
सिडिएस एण्ड क्लियरिङका अनुसार धितोपत्र कारोबार गर्न आवश्यक डिम्याट खाता खोल्नेको संख्या ४७ लाख नाघिसकेको छ भने मेरो सेयर प्रयोगकर्ता ३८ लाखभन्दा बढी छन् । सत्तचालीस लाख लगानिकर्तामध्ये संख्याका आधारमा साना लगानीकर्ताको अत्याधिक बृद्धि भएको देखिन्छ । गएको एक वर्षको अवधिमा चिया पसलदेखि कार्यालयको बैठकको समयमा समेत पूँजीबजारका बारेमा बहस चल्न थालेको अवस्था छ । सेयर बजार स्वतन्त्ररूपमा माग र पूर्तिका आधारमा चल्नुपर्नेमा लगानीकर्ता संरक्षण चौधरी जोड दिन्छन् ।
हाल गृहणी र महिला लगानिकर्ताको संख्यासमेत बढेको छ, सानोसानो पूँजी जम्मा भएर नै दैनिक कारोबार करिब रु २२ अर्ब पुगेको थियो । त्यस्ता साना र नयाँ सेयर लगानीकर्ताको लगानीको सुरक्षामा सरकार तथा नियामक विशेषरूपमा सजग हुनुपर्ने चौधरीको भनाइ छ । घटेको बजारमा साना र त्यसमाथि नयाँ लगानीकर्ताको सम्पत्ति घट्दै जाँदा उनीहरूमा डर देखिएको स्वयं लगानिकर्ता स्वीकार्छन् । यस्तोमा बजार घट्नेमात्र नभई राम्रा प्रतिफल दिने कम्पनीमा गरेको लगानीमा डराउन नहुने र सेयर बजारमा लगानी गर्दा धैर्यता राख्नुपर्नेमा लगानीकर्ता छोटेलाल रौनियारको जोड छ ।
‘बजार विस्तार भएको छ, कारोबार प्रविधिमैत्री हुँदैछ, डिम्याट र मेरो सेयरका साथै सेयर कारोबार गर्न टिएमएसको प्रयोगकर्ता दिनदिनै बढेको अवस्था छ, यसले बजारमा सकारात्मक प्रभाव पारेको र अझ यसको विकास तथा दिगोपनाका लागि नियामकले लगानिकर्ताको हितलाई ध्यान दिएर नीति बनाएर बजारको नियमन गर्ने वातावरण बने बजारको भविष्य राम्रो रहेको छ ।