

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आफूलाई अर्थतन्त्र नबुझ्ने भन्नेहरूका अगाडि ७ प्रतिशतको आर्थिक वृद्धिदर गरेर देखाइदिने बताएका छन् । अर्थमन्त्री शर्माले अर्थ समितिमा ‘देशको अर्थतन्त्रको वर्तमान अवस्था र अर्थ मन्त्रालयका काम कारबाही’ बारे बिहीबार जानकारी गराउने क्रममा सो कुरा बताएका हुन् ।
मन्त्री शर्माले भने, ‘आफूलाई अर्थतन्त्र नबुझेको र आर्थिक सूचकबारे नबुझेरै बोलेको भन्दै आलोचना गरिँदै आएको छ, म त्यो आलोचनाकालाई सकारात्मक रूपमा लिँदै उनीहरूका अगाडि काम गरेर त्यसको जवाफ दिने छु ।’ उनले अहिले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा देखिनुको कारण यसअघिको सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीति नै प्रमुख कारण रहेकोसमेत बताए । मन्त्री शर्माले अर्थतन्त्र चुनौतिरहित कहिल्यै नहुने भन्दै अगाडि भने, ‘चुनौतिपूर्ण नै हुन्छ, अहिलेको अर्थतन्त्रको अवस्था भनेको हिजोको अर्थनीति र योजनाको परिणाम हो, हामीले आजै अहिल्यै सबै कुरा सुधार्न सक्दैनौँ । अहिले गरेको कामको नतिजा पछि देखिन्छ ।’
सरकारले अगाडि सारेका नीतिले पछि परिणाम देखाउने दाबीसमेत उनले गरेका छन् । मासिक १० प्रतिशत खर्च गर्ने सरकारी योजनाको प्रक्रिया भर्खरै सुरू भएको र यो अभ्यास गर्ने कुरा हो, अभ्यासकै क्रममा हामीहरू रहेकोसमेत उनले बताए । अर्थमन्त्री शर्माले क्रेडिट ग्रोथ ३२ प्रतिशतसम्म बढ्नु, समग्र सरकारी खर्च गत वर्षको तुलनामा बढ्नु, कोभिडले थलिएका ९८ प्रतिशत उद्योग सञ्चालनमा आउनु र मुद्रास्फिति पनि नियन्त्रणमै रहनुलाई आफ्नो उपलब्धिका रूपमा लिएका छन् । मन्त्री शर्माले अहिले राजस्व संकलन अनुरूप बजेट खर्च हुन नसकेकाले ऋण लिनुपर्ने अवस्थामा सरकार नरहेको अर्थ समितिमा बताए ।
अनिवार्य र आवश्यकता हुँदा मात्र ऋण लिने भन्दै अहिले ऋण लिन आवश्यक रहेकोसमेत उनले बताए । तर, अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ सय मिलियन र विश्व बैंकबाट ३ सय मिलियन अमेरिकी डलर ऋण लिने तयारी रहेको उनले बताएका छन् । अहिले पुँजीगत खर्च हुन नसक्नु र बढ्दो आयात रहेकामा यो समस्या पनि नियन्त्रित अवस्थामै रहेको उनले बताए । उनले अहिले ठूलो संकट नरहेको र भएको सामान्य संकटलाई पनि समाधानको अवस्थाभित्रै रहेको बताए ।
अर्थमन्त्रालय आफैँ खर्च गर्ने निकाय नभएको र खर्चको व्यवस्थापनमा सघाउने मन्त्रालय भएकाले सो समस्या समधान गर्न आफू लागि परेको मन्त्री शर्माले बताएका छन् । अर्थतन्त्रलाई मजबुद बनाउनका लागि हाम्रो स्रोत साधनको अधिकतम् प्रयोग गरिरहेकोसमेत उनले बताए । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा वस्तु आयात ६१ प्रतिशत र निर्यात १ सय ४ प्रतिशतले बढेको, बिप्रेषणमा ६ दशमलब ७ प्रतिशतले कमी आएको र विदेशी मुद्रा सञ्चिति १३ खर्ब १९ अर्बमा खुम्चिएको तथ्यांक शर्माले समितिलाई जानकारी गराएका छन् । अर्थमन्त्री शर्माले बेमौसमी वर्षाका कारण खर्बाैँको क्षति भएको भन्दै उनले यी चुनौतीका बाबजुद आर्थिक वृद्धिदरको लक्ष्य भेटिने बताएका हुन् ।
उनले अहिले बैंकिङ क्षेत्रमा १६ अर्ब रूपैयाँ मात्रै लगानीयोग्य रकम (तरलता) रहेको भन्दै उनले तरलता समस्या भने रहेको बताए । चालु आर्थिक वर्षमा २३ खर्ब ८६ अर्ब रूपैयाँ राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भने नभएको बताए । यसमा पुँजीगत खर्च नहुनु एउटा कमजोरी भएको स्वीकारेका छन् । तर, समग्रमा सरकारी खर्च गत वर्षकोभन्दा २ प्रतिशतले बढी रहेको पनि उनले बताए । सरकार परिवर्तनपछि अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएका थिए । प्रतिस्थापन बजेट ल्याउने प्रक्रिया, नीतिगत प्रक्रियालगायतमा समय लागेका कारण खर्च हुन ढिलाइ भएको उनले बताए ।