

काठमाडौं – एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंकका रूपमा पुरस्कृत भएको छ । बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकर को निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया–२०२१’ अवार्डको लागि एनएमबि बैँकलाई छनोट गरेको हो ।
चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको छ । एनएमबि बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो, जुन नेपालको बैंकिङ उद्योगकै लागि आफैंमा एउटा ऐतिहासिक उपलब्धि हो । यो सँग–सँगै एनएमबिले ‘द बैंक अफ द इयर–२०२१’ को अवार्ड पनि जितेको छ । एनएमबिको यो ५ वर्षमा चौँथो अवार्ड हो । द बैंकर म्यागजिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको सोही दिनमै एभरेष्ट होटलमा हिजो आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो ।
बैंकका अध्यक्षले, सञ्चालक समितिका सदस्यहरू तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा उपाधि सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट समस्त बैंकिङ्ग क्षेत्रको तर्फबाट ग्रहण गरे । उपाधिका लागि बैंकलाई बधाई दिँदै सम्माननीय प्रधानमन्त्रीले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व–प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबि बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए ।
सन् २००० मा स्थापित ‘बैंक अफ द इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरूलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रूपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ । बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरू, दिगो विकासका लागि गरिएका गतिविधिहरू, र प्रतिकुल परिस्थितीको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।
दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रूपान्तरण र उच्च कर्पोरेट कार्यशैली प्रति बैंकको प्रतिबद्धता जस्ता मानकहरूले एनएमबिले यो अवार्ड जितेको हो । बैंकले दिगो संगठनात्मक संरचनामा आफ्नो पहिचान बनाएको छ र यसैले यसलाई यो प्रतिष्ठित पुरस्कारको लागि योग्य विजेता बनाएको छ ।