

काठमाडौं– नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुंगा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ । जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना एकडेढ महिनादेखि सुस्तगतिमा अघि बढेको छ । दसैँ, तिहार छठलगायतका चाडपर्वका कारण निर्माणको कामले अहिले कम गति लिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताएका छन् ।
गत साता निर्माणस्थलमा नै एक जना कामदारको मृत्यु भएकाले पनि निर्माण एक साता अवरुद्ध थियो । अहिले चाडपर्व पनि सकिएको र कामदारसँग सहमति भएकाले निर्माणले गति लिने उनको भनाइ छ । उनले भने, ‘निर्माण कम्पनीले पुनः पहिलेकै गतिमा काम गर्दैछ ।’ पहिले तोकिएको कार्ययोजनाभन्दा अहिले एक महिना ढिला भएको छ । गत वर्षमा कोभिडका कारण काममा बाधा पुगेकाले केही ढिलाइ भएको हो । निर्माण कम्पनीले तोकिएकै समयमा सकिने प्रतिबद्धता जनाएको प्रमुख शाक्यले बताए । उनले भने, ‘४२ महिनाबाट एक दुई महिना नै थप्नुपर्ने भए पनि अहिलेको काम हेर्दा त्योभन्दा बढी नलाग्ने देखिन्छ ।’ निर्माण कम्पनीले अहिले मुख्य सुरुङ निर्माणसँगै ‘फ्लाई ओभर, ‘अण्डर पास’, पहुँच सडक, खानेपानीलगायतका संरचनाको निर्माण अघि बढाइरहेको छ । विगतका वर्षमा जग्गा प्राप्ति गर्न केही समस्या देखिएको भए पनि अहिले समाधानको चरणमा रहेको उनले बताए । अरु संरचनामा ‘फ्लाई ओभर’को निर्माण सुरु भइसकेको छ । जग्गा प्राप्ति गरिसकेको ठाउँमा सुरु गरिएको र जग्गा प्राप्त गर्न बाँकी ठाउँमा प्राप्त भएपछि काम गरिने प्रमुख शाक्यले बताए । सुरुङ खनिसकेर ‘ब्रेक थ्रु’ गर्ने र खनिसकेको ठाउँमा स्तरोन्नति सँगसँगै हुनेछ । अरु सबै निर्माण सकिएपछि मात्रै सिस्नेरी खोलामा सर्भिस सेन्टर निर्माण हुने आयोजनाले जनाएको छ ।
उनले भने, ‘सुरुङभित्र सबै काम सँगसँगै अघि बढाइए पनि सुरुङभित्र सिसी क्यामरा, बत्ती हाल्नेलगायतका काम पछि हुन्छ ।’ अहिले निर्माणस्थलमा चार टोली सुरुङ खन्नमा लागेको छ । बाहिर निर्माण गर्ने र भित्र निर्माण गर्ने सहायक कम्पनी छुट्टाछुट्टै भएको र तीनको एकअर्काको काममा कुनै सम्बन्ध नभएको प्रमुख शाक्यले बताए । उनले भने, ‘निर्माणस्थल हेर्नका लागि इञ्जिनीयर छुट्टाछुट्टै नै हुनुहुन्छ ।’ आयोजनाले एउटा ‘अण्डर पास’ सकिएको र एउटा सुरु गर्न लागिएको जनाएको छ ।
धादिङमा ‘अण्डर पास’ सकियो भने काठमाडौंको ‘ओभर पास’ को निर्माण सम्पन्न भएको छ । अहिलेसम्म केही पुल निर्माण सकिएको छ । सिस्नेरी खोलालाई डाइभर्सन भइसकेको छ । स्थानीयवासीलाई पानीको अभाव नहोस् भनेर ट्यांकी बनाइसकिएको र छिट्टै पाइपलाइन निर्माण गरिनेछ । निर्माण कम्पनीले अहिलेसम्म एक हजार ८१२ मिटर खनेको छ । काठमाडौं जिल्लातर्फ मुख्य सुरुङमा २८३ मिटर र धादिङतर्फ मुख्य सुरुङतर्फ २८० मिटर गरी मुख्य सुरुङमा ५६३ मिटर खनिएको छ । निकासतर्फ काठमाडौंतर्फ ६६१ मिटर र धादिङतर्फ ४१८ मिटर गरी जम्मा एक हजार ७९ मिटर खनेको छ ।