

काठमाडौं– राजधानीको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकालाई वाग्मती प्रदेश सरकारले भैँसी पकेट क्षेत्रको रूपमा विकास गर्ने तयारी गरेको छ । पछिल्लो समय राजधानी आसपासमा भैँसी पालनको क्रम कम भएको भन्दै सरकारले उक्त दुईवटा स्थानीय तहलाई भैँसीपालन पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना बनाएको हो । त्यसका लागि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अति विपन्न परिवारलाई कृषि एवं पशुपालनमा आकर्षित गर्ने उद्देश्यले भैँसीका पाडा÷पाडी र बाख्रा वितरण गरिने भएको छ ।
पशु सेवा कार्यालय नयाँपाटीमा आयोजित किसान अन्तक्र्रियामा वाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेश सांसद रामेश्वर फुयाँलले भैँसी पालन कम हुँदै गएको अवस्थामा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकालाई भैँसी पकेट क्षेत्रका रूपमा जोगाइ राख्नका लागि पाडा÷पाडी वितरण गरिने जानकारी दिएका छन् ।
वाग्मती प्रदेश सरकारले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा ‘ख’ का गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अति विपन्न किसान परिवारलाई पाडा÷पाडी र बाख्रा अनुदानमा उपलब्ध गराउन रु.५० लाख विनियोजन गरेको सांसद फुयाँलले जानकारी दिएका छन् । उक्त अवसरमा स्थानीय जनप्रतिनिधिले कृषि र पर्यटनमार्फत उत्पादन एवं रोजगारी वृद्धि गर्न अभियान चलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पहिलो चरणमा गोकर्णेश्वर नगरपालिकाका वडा न. १, २, ३, ४, ६, ७ र ८ तथा कागेश्वरी मनोहरा नगरपालिकाका १, २ र ३ वडाका अति विपन्न किसान परिवारलाई ९० प्रतिशतसम्म अनुदानमा पाडा÷पाडी र बाख्रा वितरण गरिने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठले जानकारी दिएका छन् । यसका लागि किसानले समूह गठन गरी वडा कार्यालयमा दर्ता गर्नुपर्नेछ । सम्बन्धित वडा कार्यालयले अति विपन्न कृषक भनी गरेको सिफारिसका आधारमा पाडा/पाडी र बाख्रा वितरण गरिने उनले बताए ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एशोसिएसन र इन्टरनेशनल बफेलो फेडेरेसनको आयोजनामा भएको एसियन भैँसी विज्ञको सम्मेलनमा १७ देशका भैँसी विज्ञले ७ विधामा १३५ बढी कार्यपत्र प्रस्तुत गरेका थिए । दशौँ एशियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्रा डा भूमिनन्दन देवकोटाले नेपालमा दुग्ध उत्पादनमा भैँसीले करिब ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको जानकारी दिएका थिए । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले नेपाल एसियामै भैँसी उत्पादनमा चौँथोँ स्थानमा रहेको जानकारी दिएका थिए ।
गहुँ र आलुको बीऊ वितरण
भक्तपुर नगरपालिकाले नगर क्षेत्रका किसानलाई उन्नत जातको गहुँ र आलुको बीउ वितरण सुरु गरेको छ । नगरपालिकाले सोमबार आयोजना गरेको बीउ वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गहुँ र आलुको उन्नत जातको बीउवितरण गरेका हुन् । प्राथमिकताका आधारमा गहुँ लगाउने किसानलाई एक पाथी गहुँको बीउ र आलु रोप्ने किसानलाई पाँच किलो आलुको बीउ वितरण गरिएको हो ।
नगर प्रमुख प्रजापतिले गहुँबालीका लागि रासायनिक मलको अभाव हुन नदिन नगरपालिकाले मलको सिफारिस दिन सुरु गरेको बताएका छन् । उनले उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने हेतुले नगरपालिकाले उन्नत जातका बीउबिजनको वितरण गर्दै आइरहेको जानकारी दिएका छन् । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुलाई कम्पोष्ट मल बनाइ सस्तोमा किसानलाई बिक्रीवितरण गर्न तयारी गरेको बताए । नगरपालिकाले १ र १० वडाका किसानलाई सोमबार बीउवितरण गरेको छ ।