

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार पनि उच्च अङ्कले ओरालो लागेको छ । कारोबार हुने साताको अन्तिम दिन बजार ओरालो लागेर नयाँ विन्दुमा आइपुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५९.५७ अङ्कले घटेर दुई हजार ६९०.२९ मा ओर्लिएको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अङ्कले घटेर ५०२.१९ मा पुगेको छ ।
नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा रहेको छ । कूल २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर रु पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार ५४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २९.०८, व्यापार ५९.२३, होटल तथा पर्यटन ९२.८३, विकास बैंक १९४.२८, जलविद्युत् ७०.४५, वित्त १०९.२६, निर्जीवन बिमा २९३.७३, उत्पादन ६३.३६, अन्य ५६.१४, लघुवित्त ११४.१६, जीवन बिमा ३१६.४, सामूहिक लगानी कोष ०.०७ र लगानी २.८१ अङ्कले घटेको छ ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको रु ४७ करोड ४९ लाख ३४ हजार ५२१ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु ३१ करोड आठ लाख ५७ हजार ४१६, आइसिएफसी फाइनान्स रु २९ करोड २२ लाख ६५ हजार, अपि पावर कम्पनी रु १४ करोड ७३ लाख ३८ हजार र ज्योेति विकास बैंकको रु १३ करोड ४४ लाख ४८ हजार ६९३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
कारोबारका आधारमा मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । साहस ऊर्जा ७.६४, गुडविल फाइनान्स ३.९३ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.४४ प्रतिशतले कमाए । यसैगरी आइसिएफसी फाइनान्स ९.९९, महालक्ष्मी विकास बैंक ९.९९, शिवश्री हाइड्रोपावर ७.३९, वरुण हाइड्रोपावर ६.२७ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.१४ प्रतिशतले गुमाए ।
तीन दिनभित्र विवरण उपलब्ध निर्देशन
नेपाल स्टक एक्सचेञ्जले कम्पनीसँग जोडिएको एक संस्थाको पूर्ण विवरण नदिएको पाइएपछि कारबाही गर्ने चेतावनी दिएको छ । नेप्सेले खारे इन्भेस्टमेन्टको प्रबन्धपत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरणलगायत लगानीका विविध विषयमा जानकारी मागेको थियो । राधीले ती विषयमा आंशिक मात्रै विवरण दिएर नेप्सेको निर्देशनलाई अवज्ञा गरेको पाइएको छ । नेप्सेको सुपरिवेक्षण शाखाका कामु सहायक प्रबन्ध सुवोध ढुङ्गेलका अनुसार लगानीको सम्पूर्ण विवरण नदिइएको पाइएकाले तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ४८ बमोजिम तीन कार्य दिनभित्र मागिएको विवरण उपलब्ध गराउन पुनः निर्देशन दिइएको छ । सो समयावधीभित्र विवरण पेश नगरेको पाइएमा धितोपत्रको प्रचलित ऐन, नियमअनुसार कारबाही हुने नेप्सेले जनाएको छ ।
प्रभु बैंकको कारोबार
नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे)मा बैठक बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम १६(१)ख मा भएको व्यवस्थानुसार कम्पनीको कारोबार रोक्का गरेर सात दिनको समय दिई स्पष्टीकरण सोधेको नेप्सेले जनाएको छ ।
बैंकको मङ्गलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।