

पर्वत – इराकमा काम गरेर आएका यहाँका एक युवाले बंगुरपालन व्यवसायकाट मनग्य आम्दानी गर्न थालेका छन् । कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बंगुरपालनवाट वार्षिक रु १८ लाखसम्म आम्दानी गर्न थालेका हुन् । ‘आतङ्कवादीले कति बेला लन्चर हान्थे थाहै नहुने तर अमेरिकी सैनिकले लन्चर आउँदै गरेको सूचना पाएपछि सबैलाई बङ्करमा लुक्न पठाउँथ्यो । त्यही आक्रमणमा परेर कति साथी त मारिए’, उनले भने, ‘भाग्यले बाँचियो । बममा टेकेर बाँचेको जीवनभन्दा नेपालमै सुख र शान्तिको अनुभव गरेपछि नेपाल फर्किएको हुँ ।’
तीन वर्ष अमेरिकी सैन्य शिविरमा बसेका उनको काम सैनिकका लागि आवश्यक सामग्री आपूर्ति गर्ने थियो । खुकुरीको धारमा जीवन राखेर बाँचेर फर्किएका उहाँले चुनौतीकै माझ कुश्मा नगरपालिका–८ अम्बोटको ओडारेमा बंगुरपालन व्यवसाय सुरु गरेका छन् । गौरव जिल्लाकै सफल बंगुरपालक व्यवसायीका रूपमा चिनिन्छन् ।
सात वर्षदेखि यो व्यवसायमा लागेका उनले शान्तिपूर्वक घरमै बसेर इराकको भन्दा दोब्बर कमाइ गरिरहेको जानकारी दिए । इराकमा मासिक रु ७० हजार कमाउने उनले बंगुरपालनबाटै मासिक रु डेढ लाख बचत गर्दै आएका छन् । अरूको देशमा जोखिमपूर्वक गरेको कमाइभन्दा थोरै भए पनि स्वदेशको कमाइ स्वादिलो मानेर नेपाल फकिएका उनले बंगुरपालनबाट सोचेभन्दा राम्रो प्रगति गरेका हुन् । ‘कतिबेला मरिने हो भन्ने जगजगीबीच बसेर कमाएको धनभन्दा सुख र शान्तिले आफ्नै देशमा जति हुन्छ त्यही कमाइ मिठो सोचेर देश फर्किएँ’, उनले भने, ‘मैले यहाँ कोरियाली प्रविधि प्रयोग गरेर फरक तरिकाले बंगुर पालिरहेको छु । बजारको माग धान्नै सकेको छैन ।’
समाजमा केही जातलाई बंगुर पाल्न नहुने जातका रूपमा हेरिन्छ । ब्राह्मण, क्षेत्री समुदायमा त सुँगुर÷बंगुर छुनै हुँदैन, छोएमा जात जान्छसमेत भनिन्छ । यस्तो सोच राख्ने समाजमा बसेर बंगुर पाल्नु उनका लागि सहज कहाँ थियो र ? तर आफैँले काम सुरु नगरेसम्म अरूको मानसिकतामा परिवर्तन ल्याउन असम्भव ठानेका उनले सामाजिक चुनौतीकै बीच बंगुर पाल्न लागेका हुन् ।
सात वर्षका अवधिमा उनले फार्ममा झण्डै रु एक करोड लगानी गरेका छन् । यद्यपि अझै पनि उनलाई ‘बंगुर पाल्न छाडेर अरू केही गर’ भन्ने परिवारको दबाब आउने गरेको छ । व्यावसायिक सफलता हुँदाहुँदै परिवारका सदस्यहरू भने उनको यो पेशाबाट सन्तुष्ट छैनन् । ‘मेरी हजुरआमाले त अहिलेसम्म फार्ममा टेक्नुभएको छैन । आक्कलझुक्कल आमा आउन थाल्नुभएको छ तर उहाँले अहिले पनि यो काम नगर अरू केही गर भन्नुहुन्छ’, उनले भने, ‘काम यो गर्न हुने, ऊ गर्न नहुने भन्ने केही छैन । गर्न सके जे गरे नि हुन्छ, आफू जेबाट सफल भइन्छ त्यही काम गर्ने त हो नि !’ उनको आँट र व्यावसायिकतालाई प्रवद्र्धन गर्न आर्थिक वर्ष २०७७÷७८ मा भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रबाट बंगुरको व्यावसायिक कृषि केन्द्र (ब्लक) कार्यक्रमबाट रु तीन लाख ५० हजार अनुदानसमेत आएको थियो ।