

काठमाडौं– ठूलो मात्रामा रकम खर्चेर आयात गरिएको खाना पकाउने ग्यासको विस्थापनका लागि घरघरबाटै प्रयास थाल्न नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । प्राधिकरणले कम क्षमताको फ्युजलाई विस्थापन गर्न कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिँदै ग्यासको तुलनामा अहिले पनि बिजुलीमा खाना पकाउँदा न्यूनतम ४० प्रतिशत सस्तो पर्ने जानकारी दिएको छ । नेपाल आयल निगमको विवरणअनुसार वार्षिक रु ४० अर्ब बराबरको खाना पकाउने ग्यास आयात हुने गरेको छ । मोटो रकम विदेशिएको भन्दै प्राधिकरणले त्यसका लागि आवश्यक पर्ने वितरण लाइन, ट्रान्सफर्मर तथा अन्य प्राविधिक तयारीसमेत भएको जनाएको छ ।
प्राधिकरणका आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘इन्डक्सन चुलोेको प्रयोगलाई मात्रै बढाउन सके ठूलो मात्रामा विदेश गएको पैसा देशभित्रै राख्न सकिन्छ । त्यसका लागि प्राधिकरणको तर्फबाट गर्नुपर्ने सबै काम भइरहेको छ ।’ प्रणालीमा यथेष्ट मात्रामा बिजुली उपलब्ध भएको भन्दै अब कुनै पनि चिन्ता नलिइकन खपत गर्नसमेत उहाँले आग्रह गर्नुभयो । घरघरमा जडान गरिएको पाँच, १० र १५ एम्पियरको फ्युजको क्षमता बढाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यस्तै, १०० देखि १५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले पनि ग्यासको तुलनामा ४० प्रतिशत कम पर्ने गरी महशुल तिर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
आमरूपमा बिजुलीको खपत बढोस् भन्ने ध्येयका साथ नै प्राधिकरणले महशुलदेखि अन्य प्राविधिक तयारी समेत गरेको उनको भनाइ छ । प्राधिकरणको प्रणालीमा दुई हजार मेगावाट बढी बिजुली जोडिएको छ । चालु आवमा झण्डै एक हजार मेगावाट बिजुली थप हुने प्रक्षेपण छ । तोकिएअनुसार काम भएको खण्डमा प्राधिकरणको प्रणालीमा हाल उपलब्ध भएको भन्दा झण्डै दोब्बर बिजुली उपलब्ध हुन दुई वर्ष मात्रै लाग्ने देखिन्छ । यसले पनि बिजुलीको खपत बढाउनै पर्ने वाध्यता आइपरेको प्राधिकरणको भनाइ छ ।
यस्तै, पछिल्ला दिनमा विद्युतीय सवारी साधनप्रति आम मानिसको चासो बढेको छ । भन्सार विभागका अनुसार विद्युतीय सवारी आयात अघिल्लो वर्षहरूको तुलनामा बढेको छ । यस्तै, सरकारले सरकारी कार्यालयमा विद्युतीय सवारी साधन नै खरिद गर्ने निर्णय गरेको छ । यसले पनि बिजुलीको खपत बढाउन सहयोग पुग्नेछ । विद्युतीय सवारीका लागि चार्ज गर्दा प्रतियुनिट रु पाँचदेखि रु छ सम्म लाग्ने व्यवस्था गरिएको छ । प्राधिकरणले आफैँ पनि देशभर तत्काल ५० चार्जिङ स्टेशन निर्माण गर्न लागिपरेको छ ।
दीर्घकालीन रूपमा देशभर ५०० चार्जिङ स्टेशन निर्माण गर्ने लक्ष्य राखेको छ । निजी क्षेत्रले पनि आक्रामक रूपमा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । विद्युतीय सवारी साधनको आयात समेत बढेको, चार्जिङ स्टेशनसमेत बढेकाले बिजुलीको खपत बढ्नेमा प्राधिकरण ढुक्क देखिएको छ । बिजुलीको खपत बढाउनका लागि प्रधानमन्त्री, मन्त्री, मुख्यसचिवदेखि सरोकारवाला निकायका बीचमा छलफल तथा गृहकार्य भइरहेको जानकारी दिँदै कार्यकारी निर्देशक कुलमान घिसिङले सार्थक प्रयासले मात्रै सकारात्मक नतिजा निकाल्ने बताए ।
दीपावलीको अवसरमा चाहिए जति बिजुली खपत गर्न समेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । बत्ती नै बत्तीको पर्वको रूपमा रहेको दीपावलीलाई थप उज्यालो बनाउन विगतका वर्षहरूदेखि नै प्राधिकरणले साथ र सहयोग गरेको तथ्य पेस गर्दै कार्यकारी निर्देशक घिसिङले सबै प्रकारको प्राविधिक तयारी गरिएको बताए । सबै वितरण केन्द्र तथा शाखालाई सोहीअनुसार निर्देशन दिइएको र कुनै पनि स्थानमा समस्या आउन नदिन जनशक्ति परिचालन गरिएको उनको भनाइ छ ।
उनले दीपावलीको समयमा बिजुलीको माग अत्यधिक मात्रामा नरहने र सामान्य नै रहने जानकारी दिएका छन् । गत भदौको अन्तिम साताको एक दिन मात्रै प्रणालीमा एक हजार ६२० मेगावाट बराबरको बिजुलीको माग पुगेको भएपछि पछिल्ला दिनमा माग क्रमशः घटिरहेको छ । कार्यकारी निर्देशक घिसिङले प्राधिकरण उपभोक्ताको साथमा रहेकाले निश्चिन्त भएर बिजुलीको खपत गर्न आग्रह गरे । धेरै वर्षपछि कुलेखानीको जलाशय भरिएको जानकारी दिँदै उनले देशभित्रै बिजुलीले दीपावलीलाई थप उज्यालो बनाइने बताए ।