

काठमाडौं– योजनाविद्हरूले सहरी क्षेत्रमा विकास गर्दा वातावरणमैत्री हुनुपर्ने धारणा राखेका छन्् । वातावरणमैत्री विकास नगर्ने हो भने यसबाट दिगो विकासको लक्ष्य पूरा गर्न नसकिने उनीहरूको धारणा छ । पूर्वाधारको विकास गर्दा वातावरणीय पक्षलाई ध्यान नदिने हो भने यसबाट कालान्तरमा विकासभन्दा विनास बढी हुने उनीहरूको धारणा छ । विश्व सहर दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्परमण वाग्लेले २९३ वटा नगरपालिकामा बसोबास गर्ने जनसंख्या ६२.२ प्रतिशत रहेकाले ती नगरपालिकाको व्यवस्थित एवं वातावरणमैत्री विकास गरिनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं उपत्यकाबाट वार्षिक रु १ अर्ब ५० करोड फोहोर व्यवस्थापनमा खर्च हुने गरेको तथ्यांक प्रस्तुत गर्दै वाग्लेले काठमाडौं उपत्यकाको फोहोरलाई मोहोरमा परिणत गर्नुपर्ने बताए । उनले भने, ‘काठमाडौंको फोहोरबाट ग्यास र जैविक मललगायत उत्पादन गरी ठूलो रकम आर्जन गर्न सकिन्छ । अब यहाँको फोहोरलाई मोहरमा परिणत गर्नेबारे सोच्न जरुरी छ ।’ ग्रिसको एथेन्स सहरको सडकका दायाँबायाँ फलफूल बिरुवा रोपेर आकर्षक रूपमा विकास गरेजस्तै नेपालका नगरपालिकामा पनि गरिनुपर्ने सदस्य वाग्लेको सुझाव थियो ।
आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले नगरपालिका घोषणाका लागि जनसंख्या पु¥याउन थपिएका स्थानको विकासमा मन्त्रालय र सरोकार भएका निकायले ध्यान दिनुपर्ने बताए ।गाउँपालिकाका केन्द्रभन्दा विकट स्थानलाई पनि नगरपालिका घोषणा गरी करमात्र बढी लिने सहरको सेवासुविधा भने नदिने गरेकामा सम्बन्धित सबैको चासो हुनुपर्ने उनको भनाइ छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले सहरी क्षेत्र सुधारको विषय उठाउँदा पहिलो प्राथमिकताका रूपमा यहाँका सभ्यताका स्रोत नदी सम्पदालाई बिर्सन नहुनेमा जोड दिए । नदी किनारमा बनेका सडकमा विद्युतीय बस सञ्चालन गरे नदी क्षेत्रको वायु प्रदूषण गर्न सहयोग पुग्ने उनले बताए ।
सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्माले प्रकृतिलाई संरक्षण गरेर वातावरण मैत्री एवं हरियाली सहर निर्माण गर्न सहयोग पुगोस् भन्ने सोचका साथ कार्यक्रम अघि सारिएको बताए । यसतर्फ सरोकार भएका सबै निकायको ध्यान जानुपर्नेमा उनले जोड दिए । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले परम्परागत सभ्यताका रूपमा रहेका पोखरी, तालको संरक्षण हुन नसक्नु र नदी किनारमा देवताको मन्दिर बनाउने गरेकामा अतिक्रमण गरिँदा प्राकृतिक प्रकोपले क्षति हुने गरेको बताएका छन् । सहरको विकासका लागि सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्याकै आधारमा लगानी गरिनुपर्ने उनको भनाइ थियो । संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (युएन ह्याबिट्याट) नेपालका कार्यक्रम व्यवस्थापक प्रज्ञा प्रधानले विश्वभर सहरले ८० प्रतिशत कार्बन उत्सर्जन गर्ने भएकाले जलवायु परिवर्तनबाट बच्न हरियाली एवं स्वच्छ सहर विकास गरिनुपर्ने बताए । विश्वभर सहरी क्षेत्रले ७५ प्रतिशत ऊर्जा उपभोग गर्ने गरेको छ ।
कार्यक्रममा विभागका उपमहानिर्देशक कुमार घिमिरे, काठमाडौँ उपत्यका विकास प्राधिकरणका राष्ट्रिय आयोजना प्रबन्धक भागवतभक्त खोकाली, विभागको नयाँ सहरी आयोजनाका निर्देशक रोशन श्रेष्ठ, नगर विकास कोषका कार्यकार निर्देशक कृष्णप्रसाद सापकोटा, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रा.डा.संगीता सिंहले वातावरण मैत्री सहर निर्माणका लागि गरिनुपर्ने विभिन्न सुधारका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
‘जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नाराका साथ यस वर्षको विश्व सहर दिवस मनाइएको हो । नेपालमा सन् २०१९ देखि विश्व सहर दिवस मनाउन थालिएको मन्त्रालयले जनाएको छ । सहरी क्षेत्रको समुचित विकासका लागि सहरी विकास विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । विधेयक मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको समेत कार्यक्रममा जानकारी दिइएको छ ।