

काठमाडौं– काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक ठमेलमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म सुस्ताएको ठमेलमा कोरोना भाइरसको संक्रमण केही कम भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूको चलपहल बढ्न थालेको हो । कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै सात महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्न थालेपछि व्यापारीहरू उत्साहित बन्न थालेका छन् । नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् ।
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले विमानस्थलमा आन्तरिक तथा बाह्य उडान घटाएसँगै नेपाल र ठमेल घुम्न आउने पर्यटकको संख्यामा कमी आउँदा संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बनेको थियो । थोरै लगानी गरेर धेरै फाइदा लिन सकिने पर्यटन क्षेत्र सुस्ताउँदा देशको अर्थतन्त्रमा समेत ठूलो क्षति पुगेको जानकारहरूको भनाइ छ । पछिल्लो समय ठमेल क्षेत्र खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो । बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे । अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो ।
व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा आउने पर्खाइमा छन् । ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् । सम्पदा गार्डेन होटलका सञ्चालक एवं पर्यटन व्यवसायी कुमार अधिकारीले सरकारले अनअराइभल प्रवेशाज्ञालाई खुकुलो बनाएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताए । ठमेल गत वर्ष पनि झण्डै आठ महिना बन्द रहेको थियो ।
पर्यटन व्यवसायी सुदर्शन नेपालले पछिल्लो समयमा ठमेलमा पर्यटकीय गतिविधि बढेको बताएका छन् । अहिलको समय ट्रेकिङ जाने पर्यटकका लागि उत्कृष्ट सिजन भएकाले पनि ठमेलमा पर्यटकीय गतिविधि बढेको उनको भनाइ छ । ट्रेकिङका लागि उत्तम सिजनका रूपमा मार्च, अप्रिल, अक्टोबर र नोभेम्बरलाई लिने गरिन्छ । नेपाल एसोसिएसन टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा)का पूर्वअध्यक्ष सिएन पाण्डेले विदेशी पर्यटकलाई अनलाइनमार्फत प्रवेशाज्ञा दिएमा अझै नेपाल आउने पर्यटकको संख्या बढ्ने बताएका छन् ।
धेरै पर्यटक नेपाल घुम्न आउन चाहे पनि प्रक्रिया झन्झट भएका कारण आउन नसकेको उनको भनाइ छ । ठमेल पर्यटन विकास परिषद््का उपाध्यक्ष भविश्वर शर्माले कोभिड–१९ का कारण विदेशी पर्यटक नेपाल घुम्नका लागि कम आए पनि आन्तरिक पर्यटक बढेको जानकारी दिएका छन् । ठमेलको ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ । ठमेल विकास परिषद््ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन ठमेलका घरधनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् ।