

काठमाडौं– किसानलाई राहत प्रदान गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आग्रह गरेकाछन् । उनीबाट बुधबार एक विज्ञप्तिमा बाढी र पहिरोबाट सबैभन्दा बढी किसान प्रभावित भएको जनाउँदै उनीहरुलाई तत्काल राहत र क्षतिपूर्ति दिन आग्रह गरे ।
कृषि सहायता कोष खडा गरी बाढी तथा पहिराबाट प्रभावित किसानलाई राहत दिन सरकारसँग आग्रह पनि गरेका छन् । धानबाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धानलगायत बालीनालीको ठूलो क्षति भएको छ । धान काटेर सुकाइएका खेतमा बाढी पसेपछि ठूलो मात्रामा धान नष्ट भएको छ । अध्यक्ष दाहालले बाढीपहिरामा फसेका नागरिकको उद्धार र राहत, घाइतेको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकको खानपान र बसोबासको व्यवस्था मिलाउन पनि अनुरोध गरेका छन् ।
पछिल्ला तीन दिनदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश नं १, सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न भागमा ४८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरामा परी झण्डै ३० भन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन् । अध्यक्ष दाहालले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले बाढीपहिरामा परी बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षालगायत सबै सरकारी निकाय, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र पार्टीका नेता तथा कार्यकर्तामा विशेष आग्रह गरेका छन् ।
किसानलाई राहत उपलब्ध गराउन छलफल हुँदै
यसैबीच, निरन्तर परेको वर्षाले किसानको धान बालीमा क्षति पुगेपछि किसानलाई राहत उपलब्ध गराउने विषयमा बुटवालमा छलफल सुरु भएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार किसानलाई राहत दिनकै लागि मुख्यमन्त्री र मन्त्रीसँग छलफल जारी छ ।
किसानलाई राहत उपलब्ध गराइने तर कसरी दिने छलफल भइरहेको बताइएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा ३६ हजार ४८० हेक्टर क्षेत्रफल खेतमा काटेर भित्र्याउन तयार पारेको किसानको धानबालीमा क्षति पुगेको प्रारम्भिक विवरण छ । १२ जिल्लाका कृषि ज्ञान केन्द्रबाट संकलन गरेको विवरणअनुसार प्रदेशमा कूल तीन लाख १७ हजार ४१४ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । वर्षा सुरु हुनुअगाडि नै ५५ हजार ५४ हेक्टर क्षेत्रफलमा किसानले धान भित्र्याइसकेको र ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा काट्नका लागि तयारी भएको धान बाली ढलेको अवस्थामा रहेको निर्देशनालयले जनाएको छ । जसअनुसार प्रदेशमा अहिलेसम्म १७.३ प्रतिशत काटेर भित्र्याउन लागेको, ११.४९ खेतमा काटेको र २९.४ प्रतिशत ढलेको धान रहेको प्रारम्भिक विवरण आएको छ । काट्न बाँकी रहेको धानमा क्षति नभएको र हावाले पल्टिएको धान वर्षा कम भएपछि उठाउन मिल्ने भए पनि काटेर खेतमै क्षति भएको किसानलाई आवश्यक क्षतिपूर्तिका लागि प्रदेश तथा संघीय सरकारका विभागीय मन्त्रालयसँग छलफल सुरु भइसकेको बताइएको छ ।
पश्चिम तराईका अधिकांश खेतमा असोजको अन्तिम साता धान पाकिसकेको थियो भने कतिपय ठाउँमा अझै धान पाक्दै छ । दसैँअगाडि र लगत्तै यहाँका साना तथा ठूला किसानले धान काट्न सुरु गरेका थिए । समयमै पानी परेको र मल पनि समयमै पाएकाले अन्य वर्षको तुलनामा यो वर्ष धान खेती बढी हुने अनुमान गरिएको थियो । लुम्बिनीमा प्रतिहेक्टर ३.५ मेट्रिक टन धान उत्पादन हुने आङ्कलन कृषि निर्देशनालयले गरेको थियो ।