

काठमाडौं – सरकारले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सोमबार प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवहरूसँग उच्चस्तरीय छलफल गरेका हुन् ।
अर्थमन्त्रीले गत भदौ २५ गते प्रतिस्थापन बजेट ल्याएका थिए । अर्थ मन्त्रालयमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो । बजेटमा विकासका आयोजना कार्यान्वयन गरी पुँजीगत खर्च बढाउन मासिक कार्य प्रतिशत निर्धारण गर्ने, कार्यविधि तयार गर्नुपर्ने विष यमा तत्काल कार्य सम्पन्न गर्ने, अन्तरमन्त्रालय समन्वय गरी निर्णय गर्नुपर्ने विषयलाई यथाशिघ्र अघि बढाउनेलगायतका निर्णय भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आ–आफ्नो जिम्मामा परेका कामको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवलाई निर्देशन दिए ।
बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थ मन्त्रायबाट सम्पादन हुने कार्यमा कुनै ढिलाइ नहुने प्रतिबद्धता उनले व्यक्त गरे । मन्त्री शर्माले अर्थ मन्त्रालयमा आएका कार्यविधि निर्माणसम्बन्धी पुराना फाइल सात दिनभित्र र अब प्राप्त हुने नयाँ फाइल तीन दिनभित्र टुङ्गो लगाउने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले प्रतिस्थापन बजेटले निर्धारण गरेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सबै मन्त्रालयले धेरै नै मेहेनत गर्नुपर्ने बताए । अर्थ सचिव मधुकुमार मरासिनीले गठबन्धन सरकारको न्यूनतम साझा नीति कार्यक्रमअनुसार आएको प्रतिस्थापन बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन तत्काल काम थाल्नुपर्नेमा जोड दिए ।