

काठमाडौं– सबैजसो व्यापारीले ‘आफूले नाफा कमाउनका लागि मात्र नभई उपभोक्ताको सेवाका लागि पनि व्यवसाय सुरु गरेको’ भन्ने गर्दछन् । तर, उपभोक्ताहरूको उनीहरूप्रतिको गुनासोले उक्त कुरालाई प्रमाणित गर्दैन । बेलाबेला सम्बन्धित निकायले गर्ने अनुगमनका क्रममा देखिने बद्मासीले गर्दा निजी क्षेत्रले उपभोक्ताको विश्वास जित्न सकेका छैनन् । अझ मुलुकमा देखिने विभिन्न राजनीतिक र प्राकृतिक संकटका बेला त उपभोक्ताहरू निजी क्षेत्रप्रति धेरै सशंकित बन्ने गर्दछन्, कारण निजी क्षेत्रको ‘मौकामा चौका हान्ने’ दाउ ।
अन्य समयमा खासै चर्चको शिखरमा नरहने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड उपभोक्तालाई अभर परेका बेला भने भर दिने विश्वासिलो निकायका रूपमा स्थापित भएको छ । भारतको अघोषित नाकाबन्दी, ०७२ सालको विनाशकारी भूकम्प, तराई मधेसको आन्दोलनका बखत पनि खाद्यान्न, खाना पकाउने ग्यास, आयोडिनयुक्त नुनको अभाव हुन नदिएर उपभोक्ताप्रति उत्तरदायी रहेको प्रमाणित गरेको हो । अझ पछिल्लोसमय कोरोना महामारीमा व्यवसायीले कालाबजारी गरिरहेका बखत साल्ट ट्रेडिङले सञ्चालन गरेको सुपथ मूल्यको पसलले धेरै उपभोक्तालाई ठूलो राहत मिलेको थियो ।
साल्ट टे«डिङ आयोडिनयुक्त नुनको पर्याय पनि हो । निर्वाहमुखी कृषिका कारण अधिकांश नेपाली आत्मनिर्भर भएको भए पनि नुन भने सदियौँदेखि आयात गर्नु परेको इतिहासमा पढ्न पाइन्छ । कुनै बेला तिब्बतबाट नुन झिकाइन्थ्यो तर समयसँगै भारतबाट झिकाइन थालिएको छ । नुनमा आयोडिन प्रशस्तै पाइन्छ । शरीरको विकासका लागि चाहिने तत्वमध्ये सबैभन्दा महत्वपूर्ण तत्व आयोडिन हो । आयोडिनको कमीका कारण शरीर लुलो, शरीरको विकास, गलगाँडजस्ता रोगहरू लाग्ने अनुसन्धानले देखाइसकको छ । हरेक नेपालीको चुल्होमा प्रयोग हुने नुनमा आयोडिन राख्ने हो भने शरीरका लागि चाहिने आयोडिनको मात्रा पूरा हुने निष्कर्षका लागि नुनमा आयोडिन राख्न थालिएको हो । तर, साल्ट ट्रेडिङले वितरण थाल्नुअघिसम्म उपभोक्ताले ढिके नुन प्रयोग गर्थे जसमा आयोडिन थिएन ।
अहिले साल्ट ट्रेडिङबाट वितरित नुनमा आयोडिन राखिएको छ । यसपछि आयोडिनको कमीले लाग्ने रोगबाट नेपालीले छुटकारा पाइरहेका छन् । एक अध्ययनका अनुसार सन् १९६५ सम्ममा ५५ प्रतिशत नेपालीमा आयोडिनका कमीले लाग्ने रोग लाग्ने गरेको थियो । तर, जब नुनमा आयोडिन राखेर वितरण गर्न थालियो त्यसपछिको तथ्यांकले सबैलाई अचम्मित बनाएको छ । विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार सन् २०१६ मा नेपालीमा आयोडिनका कमीले लाग्ने रोग शून्यमा झरेको छ ।
तर, साल्ट ट्रेडिङले आफूहरूबाट वितरित आयोडिनयुक्त नुनका कारण शरीरमा आयोडिनको कमीले लाग्ने रोग शून्यमा झरेको दाबी गरिरहँदा पौष्टिक विज्ञ डा.अरुणा उप्रेतीले भने असहमति जनाएकी छन् । उनी भन्छिन्, ‘आयोडिनको कमीले लाग्ने रोग शून्यमा झरेको प्रमाणित नभएको र पहिला पहिला आयोडिनको कमीले लाग्ने रोगहरू, जस्तै गलगाँड, लुलोपनमा मात्र कमी आएको हो । तर, शून्यमै झरेको भनेर विश्वास गर्ने आधार भने छैन ।’ वास्तवमा आयोडिन मानव शरीरका लागि चाहिने भए पनि अत्यन्तै थोरै मात्रा भए पनि पुग्ने भएको र नुनमा आयोडिन राखिएकाले यो उपयोगी त हुने नै भयोे, तर नुनमा राखिएको आयोडिन संरक्षणमा उपभोक्ता कत्तिको सजग छन् ? यो चाहिँ प्रमुख कुरा हो । त्यसमा पहिलो कुरा जति ठाउँमा आयोडिन पुग्नु पर्ने हो त्यत्ति ठाउँमा चाहिँ नपुगेको उनले बताइन् ।
उता, पौष्टिक विज्ञ शर्मिला मोक्तानले पनि पछिल्लो समय आयोडिनको कमीबाट लाग्ने रोगमा कमी आएको स्वीकार गरेकी छन् । उनले भनिन्, ‘आयोडिनको कमीबाट लाग्ने रोगमा कमी आएको छ । तर, यसो भन्दैमा आयोडिनको अत्याधिक प्रयोगले पनि अर्को समस्या ल्याउँछ ।’ उनका अनुसार प्याकेटको नुनमा आयोडिन त छ नै तर यसलाई संरक्षण गर्ने काममा भने त्यत्ति संवेदनशील नभएको देखिन्छ । तर, सेतो धुलो नुनमा आयोडिन भए पनि यसमा भएका अन्य मिश्रणहरूका कारण यसबाट मानिसमा उच्च रक्तचापजस्ता रोग लाग्ने हुनाले यसको प्रयोगमा बढी संवेदशील बन्नु पर्ने उनले बताएकी छन् । जे भए पनि नुनमार्फत आयोडिनको उपयोग भएकाले आयोडिनको कमीले लाग्ने रोगमा कमी चाहिँ ल्याएकै छ ।
२७ भदौ ०२० मा स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको स्रोत नभएको कारण र तत्कालीन अवस्थामा यातायातको दृष्टिकोणले समेत सम्पूर्ण जनतालाई नुन पु¥याउनु ठूलो चुनौतीको रूपमा रहेकाले अत्यावश्यक दैनिक उपभोग्य वस्तु नुनको आपूर्ति व्यवस्थालाई व्यवस्थित र नियमित गर्न तत्कालिन श्री ५ को सरकार, श्री ५ को सरकारको स्वामित्वमा रहेको संस्था एवं त्यसबेला नुनको कारोबारमा लागेका मुख्य व्यापारीहरूलाई समावेश गरी साल्ट ट्रेडिङ कर्पोरेसनको स्थापना गरिएको थियो । स्थापनापछि कर्पोरेसनले आयोडिनयुक्त नुनको आपूर्तिमा सबैभन्दा ठूलो फड्को मारेको छ । हरेकको भान्छाको अपरिहार्य वस्तु बनेको नुनको व्यापारमा कर्पोरेसनले कहिल्यै पनि व्यापार गरेको देखिएको छैन । हरेकको भान्छामा आवश्यक भएको थाहा पाएर त्यसलाई व्यापार नगर्नुको पछाडि कर्पोरेसनमा सरकारको लगानी पनि रहेको छ । भारतको अघोषित नाकाबन्दी, विनाशकारी भूकम्प, तराई मधेसको आन्दोलनका बखत पनि नुनको अभाव हुन नदिनु सबैभन्दा ठूलो सफलतका रूपमा लिनुपर्छ ।
खासमा अघोषित नाकाबन्दीको अवधिमा अधिकांश खाद्यान्नमा कालोबजारी भइरहँदा पनि साल्ट ट्रेडिङले खाना पकाउने ग्यास, नुन र खाद्यान्न सर्वसाधारणलाई सुलभ तरिकाले उपलब्ध गराएको उपभोक्ता अधिकारकर्मी तथा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् । खासमा कर्पोरसनले नेपाललाई संसारकै सस्तो दाममा मात्र नभएर गुणस्तर नुन उपलब्ध गराएको उनले बताएका छन् । भारतबाट नै नेपालमा नुन ल्याइन्छ तर भारतमा प्रतिकेजी झन्डै ४० रूपैयाँ पर्छ तर नेपालमा त्यसको मूल्य २० रूपैयाँ मात्र तिर्नु परेको अध्यक्ष महर्जनले बताए ।
हरेक भान्छामा चाहिने भएपछि यसलाई यसलाई निजी क्षेत्रमा हातमा पु¥याउन बेला–बेलामा विभिन्न सरकारले प्रयास गरेको भए पनि यसलाई आफूहरूले घोर विरोध गर्दै आएका उनले बताएका छन् । निवर्तमान सरकारले नुन आयातमा निजी क्षेत्रलाई सहभागी गराउने मात्र नभएर १०० ग्राम नुनलाई प्याकिङ गरेर ३५ रूपैयाँमा बिक्री गर्न सुरु गरेपछि मञ्चको विरोधपश्चात सो निर्णय फिर्ता भएको उनले स्मरण गरे ।
उनले भने, ‘निवर्तमान सरकारका एक मन्त्रीले नै नुनलाई प्याकिङ गरेर सय ग्राम नुनको ३५ रूपैयाँ लिन थालेपछि एक केजी नुनको मूल्य ३५० रूपैयाँ पु¥याउने काम भयो, तर मञ्चको सक्रियतामा सो निर्णय फिर्ता लिन सरकार बाध्य भएपछि अहिले पनि गुणस्तर नुन विश्वकै सस्तो मूल्यमा नेपालीले पाइरहेका छन् ।’ खासमा ०४६ साल निजीकरणको हौवा पिटिएपछि अनेकौँ संस्थानहरूमा राजनीतिक हस्तक्षेप बढ्न थालेपछि अधिकांश संस्थानहरू बन्द भएको अवस्थामा साल्ट ट्रेडिङ भने आज पनि नाफामा चल्नुलाई गौरवको रूपमा लिनुको सट्टा यसमाथि राजनीतिक हस्तक्षेप गर्नु राजनीतिक दलहरूको सबैभन्दा ठूलो गल्ती हुने उनले बताए । सरकारले नुन, तेल, चिनीजस्ता दैनिक उपभोक्ता वस्तुहरूको आयातमा निजी क्षेत्रलाई सहभागी गराएर दिएर उपभोक्तालाई महँगोमा किनाउने योजना बनाएको उनले आरोप लगाएका छन् । नेपालमा उत्पादन नहुने, भए पनि थोरै मात्रा उत्पादन हुने तर दैनिक उपभोग्य वस्तुहरूको आयातमा सरकारले नै जिम्मा लिएर सस्तो र सर्वसुलभ बनाउनु सरकारको पहिलो कर्तव्य हो । अहिले पनि कर्पोरेसनले प्रतिकेजी चिनीलाई ७२ रूपैयाँमा बिक्री गरिरहेको छ । तर, त्यहि चिनी निजी क्षेत्रले भने एक सय रूपैयाँमा बिक्री गरिरहेका छन् । उपभोक्ताको हितप्रति सरकारले सधैँ चनाखो हुनुको सट्टा कुनै एक स्वार्थ समूहको चँगुलमा फसेर सरकार अघि बढेको भन्दै साल्ट ट्रेडिङलाई बलियो बनाएर उपभोक्तालाई सस्तो र
गुणस्तर खाद्यान्न उपलब्ध गराउन सरकार सधैँ कटिबद्ध हुनुपर्ने उनी बताउँछन् ।
२०२० सालमा स्थापना भएको कर्पोरेसनले चाडबाड, विषम परिस्थितिमा सस्तो मात्र नभएर सुलभ तरिकाले नुनका साथै खाद्यान्न उपलब्ध गराउनु गर्वको विषय भएको कर्पोरेसनले जनाएको छ । भारतमा त्यही नुन दोब्बर हुँदा पनि नेपालमा आधा सस्तोमा उपलब्ध गराउनु नै कर्पोरेसनको सबैभन्दा ठूलो उपलब्धि भएको कर्पोरेसनका ब्रजेश झाले बताएका छन् । उनले भने,
‘आयोडिनयुक्त नुन सस्तो मात्र नभएर आज नेपालभर सजिलै उपलब्ध गराउनु अत्यन्तै ठूलो उपलब्धि हो ।’